विचार

कांग्रेस महाधिवेशनको सकारात्मक सन्देश

आशंकाकै बीचमा सम्पन्न कांग्रेसको चौधौं महाधिवेशनको समग्र परिणामले सकरात्मक सन्देश प्रवाह गरेको छ । महाधिवेशनका क्रममा भएका विभिन्न किसिमका क्रियाप्रतिक्रियाले स्वास्थ्य प्रतिस्पर्धाको वातावरण बन्छ, बन्दैन भन्ने चिन्ता र चासो अब कम भएको छ । यद्यपि महाधिवेशनको विधि, प्रक्रिया, समय, लागत तथा बढ्दो पैसा र पाखुराको बाहुल्यता घटाउन गम्भीर समीक्षा गरी यथोचित प्रवन्ध गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । विचार, नीति, कार्यक्रम, निष्ठा र इमान्दारिताजस्ता विषय वस्तुहरुले प्राथमिकता नपाएको सन्दर्भ कहिल्यै पनि विस्मृतिमा जानु हुँदैन । त्यसलाई समाजका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्वहरुले निरन्तर छलफलको विषय बनाइरहनु पर्छ । लोकतान्त्रिक मान्यता र मूल्य पद्धतिप्रति प्रतिबद्ध समुदायले चाहेको उन्नत र गुणात्मक संस्कार र संस्कृतिको विकास, विस्तार र अभ्यासका निम्ति कांग्रेस नेतृत्वले समवेदनशीलता देखाउनु पर्दछ । तुलनात्मक रुपमा मात्र महाधिवेशनको सन्देश सकरात्मक गएको हो । खासगरी कम्युनिष्ट पार्टीहरुको तुलनामा कांग्रेसको अधिवेशन मर्यादित, अनुशासित र संस्कारित देखिएको हो । यसभित्रको कथा र व्यथा पनि कम पोचिलो दर्दनाक र मार्मिक नभएको होइन । हिजोदेखि निरन्तर क्रियाशील र इमान्दार व्यक्तिहरुको हविगत टिठलाग्दो नै छ । त्यसप्रति पनि ध्यान पु¥याउनु आवश्यक छ ।

खासगरी बहालावाला सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पुनरागमनलाई लिएर मिश्रित प्रतिक्रिया आएको देखिन्छ । महाधिवेशनका प्रतिनिधि कसरी आएका छन्, कस्ता आएका छन्, कस्तो निर्णय क्षमता राख्छन, कसरी प्रभावमा पर्छन ? त्यो भिन्नै छलफलको विषय हो । तर उनीहरुले प्रतिस्पर्धामा आएका सभापतिका उम्मेदवारमध्ये शेरबहादुर देउवालाई नै उपयुक्त र परिपक्व ठाने । पहिलो चरणमा नै देउवासँग निकटतम प्रतिस्पर्धीहरुको पाँच सयभन्दा बढीको फरक थियो । पहिलो हुने निर्वाचन पद्धतिमा त देउवा विजय भइ नै सकेको थिए । पार्टी विधान अनुसार कम्तीमा एकान्न प्रतिशतको समर्थन आवश्यक भएकाले दोस्रो चरणमा जान परेको हो । यो तथ्यलाई अनदेखा गरी सामाजिक सञ्जालदेखि सार्वजनिक सञ्चारमाध्यममा व्यक्त गरिएको प्रतिक्रियाहरु स्वस्थ्य छैनन । प्रतिस्पर्धामा सामेल हुने अनि समर्थन वा विरोधको स्वरुप दोहोरो मापदण्डमा आधारित हुने कुरा लोकतान्त्रिक मान्यताअनुसरुप होइन । महामन्त्रीमा विशव प्रकाश र गगनलाई रोजेको ठीक, शेरबहादुरलाई सभापतिमा स्वीकार गरिएको बेठीक भन्ने तर्कसँग सहमत हुन सकिँदैन । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले आफ्नो निर्णय क्षमता राम्रोसँग प्रदर्शन गरेका छन्, आशा देखाएका छन पनि भन्ने अनि शेरबहादुरको अनुमोदन ठीक भएन पनि भन्ने दोहोरो सुविधा लिनु भएन । कसैलाई देवत्करण गर्न खोज्ने र कसैलाई दानव बनाउन लाग्ने सोच, स्वास्थ्य र मर्यादित बनाउँदैन । कम्तीमा बुझेका मानिसहरुको प्रक्रिया र धारणा मर्यादित आउनुपर्छ भन्ने अपेक्षा राखिन्छ ।

अब देउवाको उमेर र वैधानिक व्यवस्था अनुसार पनि यो अन्तरिम कार्यकाल हो । उनलाई व्यक्तिगत रुपमा पार्टी, व्यवस्था र प्रतिनिधिको चिन्ता कम हुन पनि सक्छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले लोकतान्त्रिक समाजको अपेक्षा र नेपाली जनताको चाहाना बमोजिमको पार्टी पद्धति, संस्कार र संस्कृतिको गुणात्मक विकास र रुपान्तरणतर्फ आफूहरुलाई केन्द्रित गर्नुपर्छ । कांग्रेसको आन्तरिक राजनीति र प्रतिस्पर्धा बुझ्नेहरुलाई थाहा जानकारी नै छ कि प्रतिस्पर्धामा घात, प्रतिघात, अन्तरघात र आत्मघात नभएको होइन । महामन्त्रीका प्रतिस्पर्धी डा. मीनेन्द्र रिजाललाई समूहभित्रबाट भएको प्रहार अकल्पनीय नै हो । काँखमा राखेर रेट्ने भनेको यस्तै होला । उनी कांग्रेसभित्र पछिल्लो कालखण्डका नीति निर्माणता माध्यमका एक महत्वपूर्ण पात्र हुन् । डा. महत र प्रदीप पौडेललाई पनि समूहभित्रैबाट अहयोग भएको प्रष्टै देखिन्छ । विश्व र गगनले निर्वाचन जित्दा मात्र आन्तरिक घात प्रतिघातको विषयले प्राथमिकता नपाएको हो । यसको हिसाब किताब त इतिहासले राख्छ नै । जस्तो आ–आफ्नो समूहभित्र थाल र असहयोग गरे, उनीहरुले त्यसको मूल्य अवश्य चुकाउने नै छन् । प्रतिस्पर्धामा सामेल भएपछि यस्तो अवस्थाको सामना गर्नुपर्छ भन्ने अनुमान प्रतिस्पर्धीहरुले गरेकै होलान । तर पनि इमान्दारिताको प्रश्न अगाडि तेर्सी नै रहन्छ ।

धेरै आलोचना प्रकाशमान सिंहको भएको छ । विमलेन्द्र निधिलाई पनि कम गरिएको छैन । छनोट गर्ने व्यक्तिगत अधिकार उहाँहरुकै हो । कांग्रेसको राजनीतिमा हामिएका सिंह र निधिमाथि यति निर्मम हुनुपर्ने होइन । देउवा इतर समूहको एउटै उम्मेदवार बन्न बनाउन नसकेपछि परिणाम यस्तो आउँछ भन्ने जगजायर नै थियो । महाधिवशन प्रतिनिधिहरुले देउवालाई स्वीार गर्दा पौडेललाई पनि माया नै गर्थे होला नि ! पौडेललाई स्वीकार गर्न नसक्नेहरुले देउवालाई समर्थन र सहयोग गरेकोमा आपत्ति प्रकट गर्नुपर्ने होइन, योगदानको कुरा काुट्याउँदा धेरैको नाक र निधार खुम्चिन सक्छ तर यथार्थ त यथार्थ नै हो, त्यसलाई संशोन गर्न त सकिँदैन । पौडेललाई एकल उम्मेदवार बनाएको भए त परिणाम फरक आउन पनि त सक्थ्यो ? पौडेल आँशु बगाउँदै असंलग्न भएको समाचार, खबर, अवस्था र परिस्थितिले पनि परिणाममा फेरबदल ल्याएको हुनसक्दैन र ? कांग्रेस बुझेका नेता तथा कार्यकर्ताले यसतर्फ पनि ध्यान पु¥याएर पूर्वाग्रहभन्दा माथि उठे भने त्यसले भविष्यमा सहयोग नै पु¥याउँला ।

विश्व र गगनका सीमितताहरु छन्, उनीहरुलाई लामो समयदेखि बुझेको र अनुभव गरेको भर यति भन्न सक्छु कि तपाईंहरुसँग आम मानिस र राजनीतिक वृत्तले आशा राखेको छ, निराश नबनाउनु होला । अब देउवा र अरु कसैलाई देखाएर वा आलोचना गरेर तपाईंहरुले मुक्ति पाउनु हुन्न । सपना धेरथोरै देखाउनु भएको छ, देख्नु पनि भएको होला । राजनीतिक प्रतिको वितृष्णा बढेको समयमा आशाको दियो बालिरहनु मात्र भयो भने लोकतन्त्र अली परिपक्व भएर जाला । यो पुस्ताले गर्न नसकेको वा गर्ने क्षमता नभएको काम क्षमताले परिपूर्णता हासिल गरेको अर्को पुस्ताले गर्ला । त्यसका लागि पनि राजनीीतक मूल्य र मान्यता, विचार, सिद्धान्त र आदर्श बचाएर राख्नुपर्दछ । तपाईंहरुको व्यक्तिगत उचाइ बढ्नु मात्र लोकतन्त्र होइन आम मानिसले अनुभूत गर्नु लोकतन्त्र हो । अनुभूति हुने किसिमले प्रस्तुत हुनुपर्ने चुनौतिको सामना सशक्त ढंगले गर्नु भयो र आन्तरिक प्रतिस्पर्धा स्वस्थ्य मर्यादित सुलभ र स्वभाविक बनाउने तर्फ थोरै योगदान पु¥याउनु भएकामा पनि त्यसलाई उपलब्धी नै मान्नु पर्छ । व्यक्तिगत र गुटगत स्वार्थबाट अली माथि उठेर समग्र प्रणाली र आम मानिसको आवाजसम्म पुग्नु भयो भने त्यसले तपाईंहरुलाई बिग्रनबाट रोक्छ । अरुले के कति आशा राखेका छन् भन्न सकिन्न, तर मैले यति मात्र राखेको छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *