नेपाली कांग्रेस मुगुका नवनिर्वाचित सभापति ऐनबहादुर शाहीले करिब चार दशक लामो राजनीतिक जीवन बिताइसकेका छन । ४० को दशकबाट नेविसंघको राजनीतिमा होमिएका शाहीले नेविसंघ मुगुको सदस्य हुँदै मुगु–काठमाडौं सम्पर्क समिति र त्यसपछि नेविसंघ कर्णाली–काठमाडौं सम्पर्क समितिको उपसभापति पदमा रहेर काम गरे । उनले २०४८ यता नेपाली कांग्रेसको निरन्तर महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसममितिमा रहेर काम गर्दै आएका छन् ।
नेपाली कांग्रेस प्रजातान्त्रिकको दुई कार्यकाल जिल्ला सभापति बनेका शाही पार्टी एकीकरणपछि १२औं र १४औं जिल्ला अधिवेशनबाट जिल्ला सभापति निर्वाचित भए । शाही एकपटक केन्द्रले तोकेर, एकपटक निर्विरोध र दुईपटक निर्वाचनका माध्यमबाट सभापति बनेका हुन् । शाही संगठन विभागको केन्द्रीय सदस्यसमेत हुन् । २०५६ सालमा जिल्ला विकास समितिको उपसभापति र २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा चुनाव लडे । उनी दुवै निर्वाचनमा झिनो मतले पराजित बने । जिल्लावासी र पार्टीका नेता कार्यकर्ताबीच निकै लोकप्रिय नेता शाही प्रखर, बौद्धिक, समन्वयकारी, प्रभावशाली र विकासप्रेमी नेताका रूपमा परिचित छन् । चारपटक मुगु कांग्रेसको नेतृत्व लिएका शाहीसँग संकल्प खबर डटकमका सम्पादक गोकुल खत्रीले १४औं महाधिवेशनको सेरोफेरोमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट सभापति निर्वाचित हुनुभयो, त्यसलाई कुन रूपमा लिनुभएको छ ?
लोकतान्त्रिक पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चुनिनु स्वाभाविक हो । सहमति नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने मान्यता नै हो । लोकतान्त्रिक पार्टीभित्र कसैको हार हुँदैन । १४औं जिल्ला अधिवेशनमा सबैको जित भएको छ । १४औं जिल्ला अधिवेशनपछि मुगु कांग्रेस गुटविहीन बनेको छ । सिंगो कांग्रेसको नेतृत्वमा मुगु जिल्ला अब अघि बढ्छ । पार्टीभित्र कसैलाई काखा र पाखा गर्ने पक्षमा म छैन । एकताबद्ध र गुटबिहीन कांग्रेस बनाउन मेरो सम्पूर्ण ध्यान केन्द्रित हुन्छ । स्थानीय, प्रदेश, संघमा जसले चुनाव जित्न सक्छ उसैलाई टिकट दिइन्छ । मेरो नेतृत्वमा तीनै तहका निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउँछु । मुगुको समग्र विकास निर्माण र जनजीविकाको विषयमा सशक्त आवज उठाउछु ।
आन्तरिक प्रतिस्पर्धामा पराजित नेतालाई विधानले पदीय जिम्मेवारीमा राख्न बन्देज गरेको छ । उनीहरूलाई कसरी पार्टी संगठनका गतिविधिमा भूमिका दिनु हुन्छ ?
मेरो सबैभन्दा चिन्ताको विषय नै यही हो । संगठनका लागि अत्यन्तै महत्वपूर्ण व्यक्तिहरू आन्तरिक प्रतिस्पर्धामा पराजित हुनुभएको छ । जो पार्टी संगठनको भूमिकामा आउनै पर्ने थियो । उहाँहरू आउन सक्नुभएको छैन । मैले मनोनीतको माध्यमबाट समेट्ने सोच बनाएको थिएँ । तर विधानले बन्देज गरेको रहेछ । लोकतान्त्रिक विधिअनुसार उहाँहरू प्रतिस्पर्धामा पराजित हुनु भएको छ । विधानले व्यवधान गरे पनि कसरी हुन्छ उहाँहरूको आवश्यकतालाई मध्यनजर गर्दै पार्टी संगठनमा एकाकार गरेर अघि बढ्ने छु । पराजितहरूलाई सम्मानजनक भूमिका दिएर अघि बढ्छु ।

नेपाली कांग्रेसप्रति आमजनताको आकर्षण बढाउन तपाईँको भूमिका कस्तो रहन्छ ?
मुगु राष्ट्रिय रूपमै पछि परेको हिमाली जिल्ला हो । भौगोलिक रूपमा निकै विकट छ । भर्खर मात्र सडक सञ्जालले जोडिएको छ । मुगुमा अहिलेसम्म कालोपत्रे सडक छैन । यद्यपि मुगु प्रचुर सम्भावना भएको जिल्ला हो । पर्यटकीय, धार्मिक जडीबुटी फलफूलको यहाँ राम्रो सम्भावना छ । स्याउ उत्पादन धेरै राम्रो छ । तर सडक छैन । जसको प्रवद्र्धन र बजारीकरणको मेरुदण्ड सडक नै रहेछ । सडकको स्तरोन्नति र कालोपत्रेको माग नेपाली कांग्रेसले जोडदार रूपमा उठाउँदै आएको छ । पर्यटन क्षेत्रको विकास गर्न सकिए मुगुको जीवनस्तरमा ठूलो परिवर्तन आउँछ । मुगु जैविक विविधताले भरिपूर्ण छ । त्यसैगरी, नेपालकै सुन्दर ताल रारा यहीँ छ । यी पर्यटन आकर्षणका केन्द्र हुन । ती क्षेत्रको प्रवद्र्धनमा पनि नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ । मुगुको समग्र विकासमा मेरो पहल सदैव रहने छ ।
झट्ट हेर्दा कांग्रेस र कम्युनिस्ट पार्टीमा कस्तो अन्तर पाउनु हुन्छ ?
नेपाली कांग्रेस जनअधिकार र लोकतन्त्रका लागि नेतृत्वदायी भूमिका खेलेको पार्टी हो । जनताको हित र मुलुकको विकासका लागि लडेको पार्टी भएकाले जनताको आकर्षण अन्य पार्टीमा भन्दा कांग्रेसमा बढी छ । कम्युनिस्टहरू जनमुखी हुन सकेनन् । उनीहरू जनता झुक्याएर सत्तामा पुग्न र सम्पत्ति आर्जन गर्न माहिर देखिए ।
कम्युनिस्टहरू आफूलाई गरिबको पार्टी भन्छन् । तर, कम्युनिस्ट नेपालकै धनीमा पर्छन् । गाउँमा मात्र होइन, सदरमुकाममा पनि अधिकांश राम्रा घर कम्युनिस्ट नेताकै छन् । एनजीओ नभएका, उद्योगधन्दा, ठेक्कापट्टा नभएको कम्युनिस्ट छैनन् । मुगुको सन्दर्भमा मात्र होइन, देशकै सन्दर्भमा गरिब नेता कम्युनिस्ट पार्टीमा भन्दा बढी कांग्रेसमा छन् । यसले पुष्टि गर्छ कांग्रेस नेता सिद्धान्तनिष्ठ र बढी इमान्दार छन् । कम्युनिस्टहरू त नारा एउटा दिने काम अर्को गर्ने हुन् । कांग्रेसको पहिचान भनेको बीपीको आदर्श, सिद्धान्त र लोकतन्त्र, समाजवाद, समृद्धि र स्थायित्व नै हुनु ।
वैचारिक र सांगठानिक रूपमा सशक्त कांग्रेस बनाउन तपाईसँग के कस्तो कार्ययोजना छन् ?
कांग्रेसमा अब रूपान्तरणको जरुरी छ । बीपी कोइरालाले उठाएका मुद्दा कांग्रेसले छोड्दै गएको आरोप पनि छ । केही भ्रम सिर्जना गर्न पनि लगाइएको आरोप हो भने आंशिक सत्य पनि छ । पार्टीभित्र सैद्धान्तिक विचलन पनि आएको छ । १४औं महाधिवेशनपछि पार्टीभित्र नयाँ रूपान्तरण जरुरी छ । पार्टीमा युवा सहभागिता बढ्दै गए पनि यतिमै पर्याप्त भने छैन । बीपी कोइरालाको आदर्श र परिकल्पनामा आधारित भएर अघि बढ्नु जरुरी छ । नेपाली कांग्रेसले सम्मानजनक व्यवहार गर्न र जनमुखी कार्यक्रम ल्याउनु जरुरी छ । नेपाली कांग्रसको मूल उद्देश्य नै जनताकेन्द्रित र आनिबानीमा संयमिति र अनुशासित हुनु हो ।
भ्रातृ तथा शुभेच्छुक संस्थाको चुस्त–दुरुस्तता, सक्रियता र परिचालनमा कस्तो भूमिका खेल्नु हुन्छ ?
नेपाली कांग्रेसको पूर्ण शरीर भनेकै भ्रातृ तथा शुभेच्छुक संस्था हुन् । भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाको चुस्त–दुरुस्तता, सक्रियता र परिचालनमा मेरो प्राथमिकतामा पर्छ । भ्रातृ संस्था चुस्त–दुरुस्त राख्ने, कार्यसमितिलाई पूर्णता दिने गतिशील बनाउनु अहिलेको आवश्यकता हो । भ्रातृसंस्थालाई नयाँ स्वरूप दिने सभापतिको चहना हुँदाहुँदै विरोध र असहमतिका कारण कारण केन्द्रमा पूर्णता पाउन सकेन । कांग्रेसको महाधिवेशनलगत्तै स्वस्थ प्रतिस्पर्धाबाट होस् वा समितिबाट भ्रातृसंस्थालाई पूर्णता दिएर चलायमान बनाइनुपर्छ । त्यो नभएसम्म आगामी निर्वाचनमा कांग्रेसको उद्देश्य पूरा हुन गाह्रो हुन्छ ।
मुगुमा पार्टी संगठनको अवस्था कस्तो छ नि ?
मुगुमा नेपाली कांग्रेसको अवस्था दर्बिलो छ । चारवटा स्थानीय तहमध्ये तीनवटामा नेपाली कांग्रेसका जनप्रतिनिधिले नेतृत्व गरेका छन् । अहिले एमाले छिन्नभिन्न भएको छ । माओवादीको हालत पनि उस्तै छ । नेपाली कांग्रेस सग्लो अवस्थामा छ । अधिवेशनको हारजितलाई स्वाभाविक रूपमा लिएर आगामी निर्वाचनमा हामी एक भएर जानुपर्छ । अरु प्रतिस्पर्धी पार्टीसँग एक भएर लड्नुपर्छ । त्यसो भएमा मुगु कांगे्रसमय हुन्छ । २०४६ सालपछिको मुगुको कांग्रेसको अवस्थामा फर्किन्छ ।
मुगु प्रचुर सम्भावना भएको जिल्ला हो । पर्यटकीय, धार्मिक जडीबुटी फलफूलको यहाँ राम्रो सम्भावना छ । स्याउ उत्पादन धेरै राम्रो छ । तर सडक छैन । जसको प्रवद्र्धन र बजारीकरणको मेरुदण्ड सडक नै रहेछ । सडकको स्तरोन्नति र कालोपत्रेको माग नेपाली कांग्रेसले जोडदार रूपमा उठाउँदै आएको छ । पर्यटन क्षेत्रको विकास गर्न सकिए मुगुको जीवनस्तरमा ठूलो परिवर्तन आउँछ ।
नेपाली कांग्रेस १४औं महाधिवेशनबाट कस्तो खालको नीति र नेतृत्वको अपेक्षा राख्नुभएको छ ?
नेपाली कांग्रेसको १४औं महाधिवेशन ऐतिहासिक हुनुपर्छ भन्ने मेरो मान्यता छ । पार्टीको मात्र नभई मुलुकको राजनीतिलाई नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्छ । समग्र राजनीतिक दलको कमान्ड गर्ने नेतृत्व नेपाली कांग्रेसको महाधिवेशनले चयन गर्नुपर्छ । अरु पार्टीका नेताभन्दा उच्च व्यक्तित्व भएको नेतृत्व कांग्रेसमा आवश्यक छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पत्याएको व्यक्ति नेपाली कांग्रेसको नेतृत्व आवश्यक छ । त्यो व्यक्तिको नाम म अहिले लिन चाहन्न । समयले बताउने नै छ । त्यस्तो व्यक्ति सभापति हुनु भयो भने कांग्रेसको आगामी राजनीति सही मार्गमा जान्छ ।
राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्दै आएको नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष, गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धाका कारण पार्टी संगठन कमजोर भएको भन्ने सुनिन्छ नि ?
नेपाली कांग्रेसलाई कमजोर बनाएको नै गुटबन्दीले हो । कांग्रेसभित्र गुटबन्दी अन्त्य हुनु अति आवश्यक छ । त्यसैले मुगु जिल्लाबाट गुटबन्दीको अन्त्यको सुरुवात भइसकेको छ । आगामी दिनमा मेरो प्यानल मेरो गुट हुनु हुँदैन भन्ने कुराको सुरुवात मैले गरेको छु । मेरो अग्रह छ केन्द्रका शीर्ष नेतालाई यदि नेपाली कांग्रस बलियो बनाउने हो भने, नेपाली कांग्रेसको आगामी सरकार बनाउने हो भने कांग्रेसलाई प्रथम पार्टी बनउने हो भने गुटबन्दी अन्त्य गरौं । गुटबन्दी अन्त्य नगरेसम्म यो सम्भव छैन । गुटबन्दीको अन्त्य नगरेसम्म कोही नेता सफल हुने सम्भावना पनि छैन । कांग्रेसलाई नेपालको प्रथम पार्टी बनाउन र मुलुकको नेतृत्व गर्ने अवस्था पु¥याउन गुटबन्दीको अन्त्य हुनै पर्छ । नेताहरूको नीति, कार्यक्रम र लक्ष्य लिनुपर्छ । त्यो हेरेर कार्यकर्ता आकर्षित हुने हुन् । नेपाली कांग्रेसको समग्र भलाइका लागि कार्यक्रम ल्याउनुपर्छ । त्यो अवस्था भए कार्यकर्ताले व्यक्ति भन्दा नीति कार्यक्रम रोजेर आकर्षित हुन्छन् ।
भागबन्डामा निर्लिप्त हुने, हरेक निर्णय प्रक्रियामा हाबी हुन खोज्ने पार्टी संगठन कमजोर हुँदा दोष नेतृत्वलाई लगाएर पन्छिन मिल्छ ?
यसको सामूहिक जिम्मेवारी नलिइ सुखै छैन । नेतृत्वलाई काम गर्न नदिने अनि दोष मात्र थोपर्ने कार्य स्वीकार्य हुँदैन । उदाहरणका लागि भनौं भ्रातृसंस्थालाई पूर्णता दिन सकेन भन्ने अनि नाम माग्दा नाम नदिने । यस्तो नि हुन्छ । पूर्णता दिँदा एकलौटी ग-यो भनेर आरोप लगाइन्छ । पार्टीभित्र नेतृत्वलाई घेराबन्दीमा गर्ने परिपार्टीको अन्त्य हुनुपर्छ । नेतृत्वलाई गतिशील हुन दिनुपर्छ, पूर्णरूपमा काम गर्न दिनुपर्छ । नेतृत्व असफल हुनु भनेको सम्पूर्ण कांग्रेस असफल हो । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवको जुन गति थियो, त्योअनुरूप काम गर्न दिएको भए कांग्रेस धेरै अघि बढिसकेको हुने थियो । उहाँलाई कामै गर्न दिइएन ।




