रिबन

आज देशभर झरी, केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

काठमाडौं । मनसुनी वायुको प्रभावले केही दिन यता देशका धेरै भागमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू(भाग नजिक रहेको छ।

अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहँदा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज देशभर वर्षाको सम्भावना रहेकोले भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सहित नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *