काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ९७ लाख डोज खोप प्राप्त भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको जानकारी दिएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ४२ लाखलाई मात्र खोप लगाइएको जानकारी दिएका छन् ।
श्रेष्ठले नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको जानकारी दिदै हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने व्यवस्था गरेको जानकारी दिएका छन् ।
राज्यमन्त्री श्रेष्ठले थप खोप आउनासाथ ५ सयभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा खोप अभियान संचालन गर्ने बताए ।
उनले भने- ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’
उनले वीर अस्पतालमा १०० बेडको आइसीयु, १०० एचडीयू र ३०० बेड गरि ५०० बेडको कोभिड अस्पतालको रुपमा तुरुन्त बनाउने बताए ।
साथै मन्त्री श्रेष्ठले शिक्षक, यातायात मजदुर, होटल तथा रेस्टुरेन्ट मजदुरलाई पनि प्राथमिकता दिएर खोप लगाउने योजना ल्याउने बताए ।




