काठमाडौं । यतिबेला एमाले अध्यक्ष केपी ओली निकै चिन्तित देखिएका छन् । उनलाई आफ्नो प्रधानमन्त्री पद खुस्केकोमा भन्दा पनि विद्यादेवी भण्डारीलाई राष्ट्रपतिबाट हटाउने हुन् कि भन्ने चिन्ता देखिएको छ ।
हालै पार्टीका बागमती प्रदेशका सांसदहरूसँग बालकोटमा छलफल गर्दै ओलीले त्यस्तो चिन्ता लिएको बुझिएको छ । स्रोतका अनुसार वर्तमान सत्ता गठबन्धनले राष्ट्रपतिमा चोलेन्द्रशमशेर जबरा, रामचन्द्र पौडेल वा झलनाथ खनालमध्ये एकजनालाई ल्याउन खोजेको सूचना आफूकहाँ आएको भनेर सुनाएका थिए ।
बागमती प्रदेश सरकारको भविष्यबारे कुराकानी गर्न आफूकहाँ आएका माधव पक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, ओली पक्षका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री केशव पाण्डे र प्रमुख सचेतक दीपक निरौलासँग ओलीले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर हटाउन खोज्दै गरेको भन्दै आक्रोश गरेको बताइन्छ ।
तर, वर्तमान सत्ता गठबन्धनसँग दुई तिहाइ बहुमत नरहेकाले राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाउन असम्भव छ । तर, पनि ओलीलाई कसले यस्तो सूचना दियो ? त्यो भने खुल्न सकेको छैन ।




