काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० दिनदेखि चलेको आन्दोलन स्थगित भएको छ ।
सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच बुधबार ६ बुँदे सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग ६ बुँदे सहमति गरेको हो।
सरकारी टोलीतर्फबाट डा पौडेलसहित सदस्यहरु मान बहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन्। संघर्ष समितितर्फबाट संयोजक डा.एसपी रिमाल, सहसंयोजक डा. विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने, अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्नेलगायत छन्।






