विचार

मिठो सपना बोकेको गणतन्त्रकाे तितो प्रयोग

आन्दोलनमा धरै उफ्रियो । निरंकुश राजतन्त्र मुर्दावाद ! मुर्दावाद ! कति भट्याईयो कति । कहिलै न खोसिने लोकतन्त्र,आफ्नो भाग्य र भविष्य आफैले कोर्ने,महान जनक्रान्तिमा नेतृत्वदायी भूमिका पनि निर्वहा गरियो आ –आफ्नो तहमा । यो सबै राष्ट्रिय अपराधहरु २०४ वर्षे राजतन्त्रको टाउकोमा गुथाएर कराउनसम्म कराईयो, उफ्रिपाफ्रि गरियो । गत पुस ५ गते पश्चात हामी प्रतिगमन भयो, असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भन्दै अदालतमा गुहार गरिरहेका छौं ।


एउटा संविधान सभाले नसकेर अर्को निर्वाचन समेत गरेर बनाईएको संविधान संसार कै उत्तम संविधान हो भनेर नाक फुलाउनेहरु नै संविधान मिचियो मिचियो भनेर रुवाबासी गरिरहेका छन । जो कोहीले जतिबेला पनि च्यात्न मिल्ने,मिच्न मिल्ने कस्तो संविधान वनाएछौं ? सत्ताशीनहरुले पटक पटक च्यात्न मिल्ने,विपक्षहरुले अदालत धाउनु पर्ने !


छिमेकीले संविधान जारी गर्न हतार नगर केही दिन पर्ख भन्दै थियो । तात्कालिन सत्ताधारीलाई संविधान निर्माण गरेको ऐतिहासिक जस लिने हतारो, संविधान जारी हुने बितिक्कै सत्ता प्राप्त हुने लालच केपी वओलीहरुलाई, शशस्त्र विद्रोहलाई हत्त न पत्त छोपछाप गर्नु पर्ने वाध्यता प्रचण्डहरुलाई थियो । माननीय सभासदहरुलाई अघिल्लो पटक संविधान बनाउन नसकेको लाज ढाक्नु थियो । यस्तो परिस्थितिमा जारी गरिएको संविधानले यो मुलुकलाई शान्ति र स्थिरता दिने कुरै भएन । नेपाली धर्म संस्कृति,सामाजिक चरित्र,ऐतिहासिक पृष्ठभूमि ,राजनैतिक प्रवृति आदिलाई पन्छाएर बनाईएको, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान,जो कोही सत्तामा पुगे पनि च्यातेको च्यातै गर्नु पर्ने छ । एउटाले च्यात्न मिल्ने संविधान अर्कोले च्यात्दैन भन्ने के ग्यारेन्टी के छ ?

छिमेकमा बनाईने थितिको विषयमा छिमेकीको चासो हुनुको स्वभाविकतालाई हस्तक्षेप ठान्ने हामी आज उसकै आडमा सत्तारोहण वा बहिर्गमन खोजिरहेका छौं । अदालतले पनि न्याय गरेन भने यो संविधान बचाईदिन उहीँ छिमेकीलाई गुहार माग्नु पर्ने दिन नआउला भन्न सकिन्न ।

स्पष्ट बहुमत सांसदहरुको हस्ताक्षर लिएर जादा त्यसमाथि भरोसा लागेन भनेर अर्कोलाई प्रधानमन्त्री नियुक्ति दिन पाउँने अधिकार राष्ट्रपतिलाई हुनु भनेको व्यक्तिको मात्र दोष हो कि संविधान स्वयंको दोष हो ?


एउटा राजनैतिक पार्टीबाट पालित पोषित कार्यकर्ता सो पदमा पुग्दा विपक्षहरुको पक्षमा न्याय गरिदिन्छ भने आशा राख्नु कति ठूलो मुर्खता हो । जुन दलको बहुमत आयो उसैले उठाउने उसैले जिताउने भएपछि आफूलाई बनाउनेप्रति अनुग्रही हुनु मानवीय स्वभाव नै हो । गणतन्त्र पालना गर्नु पर्ने निकायको छनौट प्रक्रिया नै यस्तो भएपछि अब अर्को आउंनेले चाही निष्पक्ष काम गर्ला भन्ने कुनै भरोसा हुन्छ र ?


कांग्रेस भित्रका खुब क्रान्तिकारीहरुलाई लाग्दो हो,वीपी कोईरालालाई गणतन्त्र र संघीयताको विषयमा थाहै थिएन । कम्युनिष्ट चरित्र र प्रवृति उहाले वुझेकै थिएन । अनि त कम्युनिष्टभन्दा पनि उग्र क्रान्तिकारी बनेर उनीहरुले कांग्रेसलाई भुँडी दरालिने गरी घिसारेका थिए ।
वास्तवमा यो मुलुकलाई गहिरो अध्यन गरेका वीपी कोईरालाले देशको माटोसंग सापेक्ष सिद्धान्त प्रजातान्त्रिक समाजवादको प्रतिपादन गर्नु भएको थियो । परम्परागत शक्ति राजालाई संवैधानिक बनाउने,उग्रवादी कम्युनिष्टहरुलाई समाजवादी कार्यक्रमले मन्छिने र लोकतान्त्रिक पद्धतिबाट सत्ता संञ्चालन गर्ने राष्ट्रिय एकता र मेलमिलापका लागि यो भन्दा उत्तम उपाय केही थिएन भन्ने प्रमाणित भैसकेको छ ।

अब यो पटक पटक च्यातिएको र भविष्यमा पनि च्यातिन सक्ने अव्यवहारिक संविधानका लागि अनावस्यक रुवाबासी गर्नु पर्ने केही जरुरी छैन। राष्ट्रपति विद्या भण्डारीले यो संविधानलाई खारेज गरिसकेकी छिन। यो व्यबस्था प्रयोगमा आउंदै गर्दा पूर्णरुपले असफल भएको छ । बहुमत सांसदहरुको भेलाले समानान्तर सरकार गठन गरेर २०४७ को संविधान कि वर्तमान संविधान भन्ने विषयमा जनमतसंग्रह आयोजना गर्नु पर्छ । नत्र मुलुककै अस्तित्वमा प्रश्न उठन बेर लाग्दैन।
यो गणतन्त्र दिवसले प्राप्त गणतन्त्र कै पुनरावलोकन गर्ने सद्बुद्धि देओस, यही शुभकामना !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *