अनेक असजिला खुड्किला पार गर्दै करिव साँढे तीन वर्षे कार्यकाल बिताएका प्रधानमन्त्री केपी शर्मा ओलीले कहिलेसम्म आफ्नो पद सुरिक्षित राख्न सक्लान ? भन्ने प्रश्न यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्वाहली गरिदिए पछि ओलीको प्रधानमन्त्री पद लगभग धरापमा परिसकेको थियो । प्रधानमन्त्री पद मात्रै होइन उनको राजनीतिक जीवनकै दिनगन्ती सुरु भइसकेको थियो । तर सर्वोच्च अदालतले फागुन २३ गते तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएइदिए पछि प्रधानमन्त्री ओली बौरिए । ओइलाई सकेको उनको राजनीतिक जीवनमा नयाँ पालुवा पलायो ।
प्रधानमन्त्री पदमा टिक्ने वा मुक्त हुने मुख्य आधार भनेकै प्रतिनिधिसभाको अंकगणित हो । प्रतिनिधिसभाले अर्को प्रधानमन्त्री निर्वाचित नगरेसम्म साविकको प्रधानमन्त्री कायमै रहने संवैधानिक व्यवस्था छ । याथास्थितिमा प्रतिनिधिसभाले अर्को प्रधानमन्त्री निर्वाचित गर्ने अवस्था छैन । प्रतिनिधिसभामा ६१ सिट रहेको नेपाली कांग्रेस र ४९ सिट रहेको माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आफ्नो कित्ता क्लियर गरेपनि ३१ सिट रहेको मधेसीदल (जसपा) ले आफ्नो कित्ता क्लियर नगरेसम्म प्रधानमन्त्री ओली चुनौति विहिन छन् । यतिबेला सम्म मधेसी दलले आफ्नो कित्ता क्लियर गरेको छैन । मधेसी दलको आधा तप्का विकल्प खोज्नु पर्ने पक्षमा छ भने आधा तप्का प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनु पर्ने पक्षमा छ । यही कारण ओली प्रधानमन्त्री पदमा टिकेका हुन् । किनकी मधेसीदलको आधा तप्काले साथ दिँदा पनि ओलीको पक्षमा बहुमत पुग्छ,तर ओलीको विकल्पमा अर्को प्रधानमन्त्री निर्वाचित हुनका लागि मधेसी दलको सिंगो समर्थन चाहिन्छ ।
नेकपा एमाले एक ढिक्का रहेको अबस्थामा मात्रै यो जोडघटाउले काम गर्छ । तर एमाले एक ढिक्का नरहने अवस्थामा मधेसी दल सिंगैले साथ दिए पनि ओली प्रधानमन्त्री पदमा टिक्न सक्ने संभावना रहन्न । कर्णाली प्रदेशमा त्यो अवस्था देखिइसक्यो । कर्णाली प्रदेशमा ३९ मध्ये २० सिट एमाले एक्लैको थियो तर एमालेकै चार सांसदले फ्लोर क्रस गरेका कारण माओवादीका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले २२ मत प्राप्त गरी आफ्नो पक्षमा प्रदेससभाको विश्वास स्थापित गरे । एक महिना यताकै घटना हो यो ।
यही रणनीति माधव नेपाल पक्षले अवलम्वन ग¥यो भने प्रधानमन्त्री ओली मात्रै होइन उनका निकटस्थ सबै मुख्यमन्त्रीहरुको पद समाप्त हुन्छ । प्रधानमन्त्री ओलीका लागि यो अन्तिम तर ज्यादै जटिल खुड्किलो हो । यो खुड्किलो पार गर्न ओलीलाई ज्यादै कठिन छ । यो खुड्किलो पार गरे भने ओलीका लागि निकै ठूलो उपलव्धी हुनेछ । नेपालको प्रजातान्त्रिक इतिहासमा लगातार सबै भन्दा लामो समय प्रधानमन्त्री बनेको कीर्तिमान ओलीले कायम गर्न सक्नेछन् ।
एमालेलाई एक ढिक्का राख्न सके भने प्रधानमन्त्री ओली आफ्नो मिसनमा सफल हुनेछन् । एमाले एक ढिक्का हुना साथ आगामी जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा विजयी हुनेछन् । गृहमन्त्री थापा एमालेबाट राष्ट्रियसभामा विजयी हुनु भनेको प्रधानमन्त्री ओलीका लागि धेरै ठूलो उपलव्धी हुनेछ ।
राष्ट्रिय सभा सदस्याका लागि मत हाल्ने पालिकहरुको प्रमुख एवं उप प्रमुख र प्रदेशसभाका सांसदहरुले हो । वाग्मती प्रदेशमा १ सय १९ पालिका छन् । जसमध्ये एमालेका प्रमुख र उपप्रमुखको संख्या १ सय ३३ छ । अन्यदलको १ सय ५ छ । यसैगरी वाग्मती प्रदेशमा प्रदेशसभा संसदहरुको संख्या १ सय १० छ । जसमध्ये एमालेका ५६ र अरु पार्टीका ५४ सांसद छन् । यस हिसावले अरु सबै पार्टीको भोट एउटै उमेदवारले पायो भने पनि एमालेको उमेद्वारले सजिलै जित्ने अवस्था छ । तर चुनाव जित्न एमाले एक ढिक्का हुनै पर्छ । यदी एमालेको माधव नेपाल पक्षले कर्णालीकै अवस्था दोहो¥याइदियो भने केपी ओली नेतृत्वको एमालेले चिरिप्पै चुनाव हार्छ । पालिका प्रम्ख तथा उपप्रमुखहरु को कता छन् ? स्पष्ट तस्वीर आइसकेको छैन, तर प्रदेशसभा संसदहरु भने ५६ मध्ये २२ जना माधव पक्षमा छन् । ओली नेतृत्वको एमाले उमेद्वारलाई चुनाव हराउन यिनै २२ जना काफी छन् ।
यसैगरी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका अन्य चार मन्त्रीको पनि प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । उनीहरु सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले एक ढिक्का हुन सक्यो भने उनीहरुले उपनिर्वाचन जित्ने संभावना धेरै नै प्रवल रहन्छ । यस्तो अवस्थामा एमालेको सिट संख्या १ सय २१ बाट बढेर १ सय २५ पुग्छ । बहुमतका लागि ७–८ सिट थप भए पुग्छ ।
तथ्यले नै सिद्ध गरेको छ की प्रधानमन्त्री ओली नेपालको वर्तमान राजनीतिका सबै भन्दा चतुर खेलाडी हुन् । दोस्रो संविधानसभा निर्वाचन यता सबै भन्दा बढी गोल ओलीले नै लगाउँदै आएका छन् । त्यसैले उनले आफ्नो आगामी डेढ वर्षे कार्यकाल मात्रै होइन, अब एक वर्ष भित्रै हुने स्थानीय निर्वाचन र डेढ वर्ष पछि हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित रणनीति कस्तो बनाउलान ? भन्ने प्रश्न पनि निकै पेचिलो छ । माओवादी केन्द्रसँग संवन्धविच्छेद भइसकेको र एमाले पनि एक ढिक्का नरहेको अवस्थामा चुनाव हुँदा नेपाली कांग्रेसले प्राय जसो ठाउँमा लिँड्को लगाइदिने हिसाव लगभग क्लियर छ । नेपाली कांग्रेसले लिँड्को लगाउने अवस्थामा ओलीले निर्वाचन नगराउने षड्यन्त्र गर्न पनि सक्छन्, तर यस्तो षड्यन्त्रमा उनी सफल हुने संभावना छैन । निर्वाचन गराउनै पर्ने हुन्छ । त्यसैले यतिबेला ओली माधव नेपाल र बामदेव गौतमसँग छुट्टा छुट्टै वार्तामा छन् ।
गत आम निर्वाचनको अंक गणित
सिंगो एमाले र सिंगो माओवादीबीच गठवन्धन हुँदा गत आम निर्वाचनमा २ हजार भन्दा कम मत अन्तरले पराजित हुने कांग्रेसका उमेदवारको संख्या करिव दुई दर्जन छ । उदाहरणका लागि कन्चनपुरबाट रमेश लेखकले २ सय , कैलालीबाट मोहनसिंह राठौरले १५ सय डोटीबाट वीरबहादुर बलायरले १८ सय मत अन्तरले पराजय बेहोरेका हुन् । त्यसैगरी हुम्लाबाट मंगल शाहीले ४५,कपिलवस्तुबाट दीपकुमार उपाध्याले ९ सय, मनाङबाट टेकबहादुर गुरुङले २ सय, मुस्ताङबाट रोमी गौचनले ४ सय , काठमाडौं–८ बाट नविन्द्रराज जोशीले ४ सय धादिङ–२ बाट दिलमान पाख्रिनले ५ सय , ललितपुर –३ बाट मदनबहादुर अमात्यले १६ सय र पर्साबाट सुरेन्द्र चौधरीले १४ सय मत अन्तरले चुनाव हारेका हुन् । मोरङ–३ बाट सुनिल शर्माले १८ सय, मोरङ–६ बाट शेखर कोइरालाले ५ सय र संखुवासभाबाट दिपक खड्काले ११ सय मत अन्तरले चुनाव हारेका हुन् ।
गत आम निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ ३६ प्रतिशत र समानुपातिक तर्फ ३३ प्रतिशत मत हासिल गरेको छ । एमालेले प्रत्यक्ष तर्फ ३१ र समानुपातिक तर्फ ३३ प्रतिशत मत हासिल गरेको छ । माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १५ प्रतिशत र समानुपातिक तर्फ १३ प्रतिशत मत हासिल गरेको छ ।
मुलुकका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ २३ वटामा मात्रै जिते पनि समानुपातिक तर्फ भने ७१ वटा निर्वाचन क्षेत्रमा सबै भन्दा बढी मत हासिल गरेको छ । यसको अर्थ हो गत निर्वाचनमा एमाले र माओवादी बीच गठवन्धन नभएको भए नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ कम्तिमा ७१ सिट जित्ने रहेछ ।
एमाले माओवादी गठवन्धन नभएको भए गत आम निर्वाचनमा सबै भन्दा ठूलो पार्टी (पहिलो पार्टी) नेपाली कांग्रेस बन्ने रहेछ भन्ने कुरा मतपरिणामको अंक गणितले सिद्ध गरिसकेको छ । आगमी निर्वाचनमा एमाले एक ढिक्का भएन वा माधव नेपाल समुह अलगियो भने नेपाली कांग्रेस पहिलो पार्टी मात्रै होइन करिव करिव बहुमतको अवस्थामा पुग्छ । हिसाव किताव क्लियर छ ।
कांग्रेसले बुझ्नु पर्ने कुरा
एमाले र माओवादी अलग अलग चुनाव लड्छन्, एमाले पनि चुनावमा एक ढिक्का हुँदैन भनेर नेपाली कांग्रेस ढुक्क भयो भने फेरी पनि धोका पाउने निश्चित छ । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसलाई ताछेर मधेसी दल किन जन्माइयो ? गत आम निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टीबीच किन गठवन्धन गराइयो ? भन्ने प्रश्नको उत्तर नेपाली कांग्रेसका नेताहरुले थाह पाएकै हुनुपर्छ । किनकी नेपाली कांग्रेस भनेको नेपालको राष्ट्रियता र लोकतन्त्रको पर्यायवाची हो । निर्णायक घडीमा देशी तथा विदेशी शक्ति केन्द्रहरु नेपाली कांग्रेसविरुद्ध एक ढिक्का हुने गरेका नजीर धेरै छन् । एमालेलाई एक ढिक्का बनाउने जिम्मेवारीका साथ व्यापारी मोति दुगडको सक्रीयता बढेको छ । ओली र माधवलाई केही चरणको वार्ता गराउन दुगड सफल छन् । विनोद चौधरीलाई सांसद बनाउने नेपाली कांग्रेसका नेताहरुले मोति दुगड चिनेका छैनन् भन्ने विश्लेषण कसैले गर्छ भने त्यो घोर गल्ती हो ।
यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवाले अपनाएको मौन रणनीतिको भेउ पाउन मै हुँ भन्ने विश्लेशकहरुले नसके पनि मोति दुगडको सक्रीयताको भेउ भने पाएकै हुनु पर्छ । कांग्रेस सभापति देउवाको मौन रणनीति किन र के का लागि ? भन्ने उत्तर अब बिस्तारै खुल्दै जानेछ । ‘नेपाली कांग्रेसले असफल हुने गरी निशाना लगाउँदैन, नेपाली कांग्रेसले लगाएको निशाना अचुक हुन्छ’ भन्ने यर्थाथतालाई अन्तर्राष्ट्रिय जगत सामु थप स्थापित गर्न सभापति देउवा सफल भएका छन् ।




