राजनीतिमा अनौठो परिदृश्य देखिदैछ । नेकपाको दर्ता निर्णय बद्दर भएपछि साविक कायम भएको नेकपा एमाले र माओवादी केन्द्रका निर्णयहरु अन्तरविरोधपूर्ण मात्र छैनन् । आफूसँग असहमत हुनेलाई समाप्त बनाउने र समानान्तर गतिविधिहरु चलाउने दिशातर्फ उन्मुख छन् । मतान्तर चर्को देखिए पनि कम्युनिष्टहरु कुनै पनि बेला मिल्न सक्छन र कुनै पनि बेला विभाजित हुनसक्छन् भन्ने बुझाइ अन्य राजनीतिक दल, बौद्धिक समुदाय तथा नागरिक तहमा रहेको देखिन्छ । ‘जनयुद्धबाट’ एकाएक चर्चामा आएका पुष्पकमल दाहाल सबैभन्दा सबैभन्दा अस्थिर र विश्वास गर्न नसकिने पात्रको रुपमा चित्रित छन् । खुल्ला राजनीतिमा आएदेखि उनको भूमिका गतिविधि र क्रियाकलाप अस्थिर पात्रका रुपमा छ । क्रान्तिनायक गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने/नबनाउने खेलदेखि माधव, झलनाथ दुवै आफैलाई भित्ते राष्ट्रपति बनाउनेसम्मका दाहालका गतिविधिहरु निकाल्दा उनको विश्वासनीयता धरापको देखिन्छ ।
कांग्रेससँगको सहकार्यमा रहेकै अवस्थामा नेकपा एमालेसँग गरेको पार्टी एकताको कसरतलाई कांग्रेसप्रतिकाे माओवादी दृष्टिकोणका रुपमा बुझ्नुपर्ने आवाज व्यापक छ । चितवनमा छोरीलाई चुनाव जिताउन कांग्रेससँग गरेको सहयात्रा स्वार्थ पूरा भएपछि चटक्कै बिर्सिएको घटना देउवा र कांग्रेसका कार्यकर्ताले भुलेका छैनन् । माओवादीसँग गरेको चुनावी तालमेल आम कांग्रेस कार्यकर्ताले पचाएका थिएनन । त्यसमा दाहालको पछिल्लो भूमिका र निर्णयले उक्त सहकार्य र सहयात्रा गलत भएको पुष्टि नै गर्याे । सहज अवस्थामा आफ्नो स्वार्थमा जो कसैसँग गठबन्धन गर्न जाने उनको चरित्र र स्वभाव अब धेरै बिक्न सक्ने देखिँदैन । गिरिजाप्रसाददेखि माधव नेपाल हुँदै शेरबहादुर अनि केपीसम्मको उनको सहयात्रा सुखद छैन । सबैलाई कुनै न कुनै किसिमले धोका दिने काम दाहालले गरेका छन् । चितवनमा लड्डु खुवाएर सिधै देउवाको दैलामा पुगेका दाहाल र नेपालको मित्रता सर्वोच्च अदालतको दल दर्तासम्बन्धी निर्वाचन आयोगको निर्णय बद्दर भएसँगै समाप्त भएको छैन । ओलीलाई देखाउन दाहाल–नेपाल पार्टी एकतासम्म अगाडि बढ्ने देखिन्छ । उक्त यात्रा पनि सकरात्मक र सुखद् नहुने निश्चित छ । नानीदेखि लागेको दाहालको बानी नेपालले सुधार गर्छन् भन्ने विश्वास कसैलाई पनि छैन । ओलीविरुद्धको गठबन्धन वा एकता मात्र हुने हुँदा वैचारिक एवम् कार्यक्रमिक मेलको सम्भावना कमजोर नै हुन्छ ।
नेकपा माओवादी केन्द्रको पछिल्लो निर्णय आफ्नो दलमा रहेका पुराना सदस्यहरुलाई कारबाही गर्ने क्रमबाट अगाडि बढेको देखिन्छ । ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरी सांसदहरुलाई कारबाही गर्नुको अन्तरनिहित रहस्य के हो ? जस्तोसुकै मूल्य र परिणामका निम्ति तयार भएर ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्छ भन्ने आम धारणा विपरित सरकारलाई विश्वास दिइरहनु राजनीतिक बेइमानी हो ।
राजनीतिको सामान्य मूल्य र मान्यता विपरितको कर्म हो । त्यस्तो कर्ममा लाग्ने राजनीतिक नेतृत्वमा अप्रिय निर्णयको अपेक्षा राख्नु गलत हुनेछ । प्रमुख प्रतिपक्षी दलले निर्णय गरेन, निर्णय गर्ने वित्तिकै ओलीविरुद्धको वैकल्पिक सरकार बन्ने छ भन्ने मानिसहरु अहिले कहाँ छन् ? नेकपा माओवादी केन्द्र कहाँ छ, बौद्धिक जगतका आलोचकहरु के हेरेर बसिरहेका छन् ? दिनहुँ आलोचना पस्कने सञ्चार क्षेत्र समस्या पहिल्याएर प्रस्तुत हुन किन सकिरहेको छैन ? ओलीको विकल्प दिन संसद सक्षम छ भन्नेहरु आज किन मौन छन् ? प्रमुख प्रतिपक्षले पहल लिएन भन्ने दलहरु किन सरकारको समर्थन झिक्न पनि हिचकिचाइरहेका छन् ? सबैमा इमान्दारिताको संकट देखिन्छ । आ–आफ्नो स्वार्थ केन्द्रित रणनीतिका कारण न त वैकल्पिक सरकार बन्ने देखिन्छ न त राजनीतिक निकास निकाल्न नै सक्ने स्थिति छ । असजिलोमा मुलुकलाई फसाएर शक्तिकेन्द्रको इसारामा चल्ने चलाउने अनुकूल वातावरण बनाउन जानी नजाने राजनीतिक दलका मठाधीशहरु लागेको देखिन्छ ।
यसैले नै हुनुपर्छ इमान्दार र प्रतिबद्ध लोकतान्त्रिक मूल्य पद्धतिप्रति प्रतिबद्ध समुदायको दृष्टिमा नेपाली कांग्रेसले कम्युनिष्टहरुको भरोसा गर्न छोड्न आवश्यक छ । स्वतन्त्र ढंगले आफ्नो विचार, सिद्धान्त, आदर्श र कार्यक्रमका आधारमा जनताको आशा र भरोसामा सारथी बन्न सक्नुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गराउने कार्यक्रमा केन्द्रित हुनुपर्छ । जसले गर्दा सामाजिक न्याय प्रदान गर्ने जिम्मेवारीबोध गर्न गराउन सक्ने दिशातर्फ अग्रसर हुन पे्ररित गर्दछ । जनताको आस्था र अपेक्षाप्रति इमान्दार एवम् प्रतिबद्ध हुने पे्ररणा प्राप्त हुनसक्छ ।
आफूसँग सुविधाजनक र सुनिश्चित संख्या नभएको अवस्थामा सरकारमा जाने प्रयास र प्रयत्न आत्मघाती पनि हुनसक्छ । कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी गठबन्धनले पाँच वर्ष पनि सरकार चलाउन नसकी आपसी झगडाका कारण मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गरे, जनताको बीचमा गरेको वाचा पूरा गरेनन्, जनताको अभिमतलाई अपमान गरे । यस्तो राजनीतिक चरित्रलाई नबुझी मतदान भएकोले राजनीतिक दुर्घटना हुन गयो भनेर आम मानिसलाई बुझाउनुपर्छ । यसतर्फ आफूलाई केन्द्रित गरेर जनताको आस्था, विश्वास र भरोसाको कन्द्र बन्ने अभियानको नेतृत्व नेपाली कांगे्रसले गर्न सक्नु पर्दछ । त्यसका लागि पार्टी पंक्तिलाई तयार राख्नु आवश्यक छ ।
इमान्दार र निष्ठावान नेता कार्यकर्ताहरुलाई स–सम्मान पार्टीको जिम्मेवारी दिने, भ्रष्ट, दलाल, तस्कर तथा स्वार्थ समूहको बिगबिगी रोक्ने, कमाउ धन्दामा लाग्ने र लगाउनेहरुलाई निरत्साहित गर्ने, आर्थिक हैसियतका आधारमा पार्टीको जिम्मेवारी र भूमिका लिने र दिने परिपाटीमा सुधार गर्ने, पाखुरावालाहरुको प्रवेश र हस्तक्षेप बन्द नै नगर्ने, संस्थागत निर्णय राउने संयन्त्रको विकास गर्ने, मूल्यांकन पद्धति बनाउने जस्ता आधारभूत कार्यहरु प्रारम्भ गर्दा कार्यान्वयन गर्न नेतृत्व, नेतृत्वका आकांक्षी, प्रभावकारी, प्रभावशाली भन्न रुचाउने र देखाउनेहरु गम्भीर र प्रयत्नशील हुनेतर्फ पार्टीपंक्तिलाई परिचालन गर्नु अत्यावश्यक छ । एउटाको अवसानमा अर्कोको उदय सोच्ने, देख्ने र त्यसका लागि आफ्नो र पार्टीको ऊर्जा प्रयोग गर्ने कर्मले आफ्नो योग्यता, जिम्मेवारी र ऐतिहासिक दायित्व झल्काउँदैन पूरा हुँदैन ।




