देशले राजनीतिक निकास पाएन । प्रधानमन्त्रीले विघटन गरेको संसद पुनस्र्थापना हुँदा पनि सार्थक परिणाम दिन नसक्ने राजनीतिक अवस्थाले आम मानिसमा निराशा बढाउने काम गरेको छ । न सत्तारुढ दलले नै पहलकदमी लिनसक्यो, न त संसदमा रहेका विपक्षी दलहरुले नै । पानी बाराबारको सम्बन्ध भएको नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो कित्ता स्पष्ट गर्न सकेका छैन । पुष्पकमल दाहालको माओवादी केन्द्रले केपी ओलीको सरकारलाई समर्थन प्रदान गरिरहेकै छ । ओलीलाई अनेकन नामाकरण गरेका दाहाल हुन वा एमालेमा नै रहेका नेपाल–खनाल नै किन नहुन्, एमाले अध्यक्ष ओली नेतृत्वको सरकारप्रति उनीहरुको दृष्टिकोण स्पष्ट आउन सकेन । कर्णाली प्रदेशमा माओवादीलाई दिएको समर्थन एमालेले फिर्ता लिने निर्णयपश्चात पनि माओवादी केन्द्र हेर र पर्खकै अवस्थामा छ ।
दाहाललाई प्रधानमन्त्री बनाउन अझ दल तयार छैनन, देउवालाई बनाउन मधेशवादी दलहरुले इच्छा देखाएको बुझाइ कांग्रेसकाे छैन । तर पनि देउवा आलोचित छन् । कांग्रेस सभापति देउवाको भाग्य जति बलियो भए पनि जस पाउने खप्पर चाहिँ रहेनछ । सत्तामा जाने चाहना राख्दा पनि आलोचना, हतार नगर्दा पनि चर्को विरोध र आलोचना खेप्न अभिसप्त छन्– सभापति देउवा । उनले के गर्नुपथ्र्यो वा गर्न सक्थे भन्ने सुझाव वा मार्गचित्र दिन नसक्नेहरु आलोचनाको सजिलो मार्ग अवलम्बन गरिरहेका छन् । दाहाल वा ठाकुरलाई देउवाले प्रधानमन्त्री स्वीकार गर्नुपर्छ भन्ने भनाइ नै हो भने पनि स्पष्ट भन्न सक्नुपथ्र्यो । होइन भने संसदको अंक गणित नै अन्तरिम र निर्णायक सत्य हो । जुन कांग्रेसको नेतृत्वको पक्षमा छैन । एमालेको असन्तुष्ट समूहले आँट गरेर पार्टीबाट निस्कने हिम्मत गर्न सकेको देखिएन । यो अवस्थामा मधेशवादी दल जसपाको भूमिकाले सत्ता राजनीति तय गर्ने स्पष्ट हुँदाहुँदै देउवाले पहल गरेनन भनी आरोपित गर्नुको अर्थ आग्रह र पूर्वाग्रह नै हो भन्नुपर्छ । अन्य विषयहरुमा आलोचना गर्ने प्रशस्त ठाउँ छ, तर पछिल्लो घटनाक्रममा कांगे्रस सभापति देउवाले लिएको निर्णय र राखेको अडान आलोचनामुक्त छैन ।
गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नमान्ने, संविधान जारी भएपछि सुशील कोइरालालाई धोका दिने, कांगे्रसलसँग सत्ता सहयात्रा गरिरहेकै अवस्थामा ओलीसँग गठजोड गर्न पुग्नेजस्तो थुप्रै घटना छन्, जसले दाहालको विश्वसनीयता संकटमा परेको छ ।
हाम्रो दुई शक्तिशाली छिमेकीहरुको स्वार्थसत्ता राजनीतिमा भएको लुकाउनुपर्ने विषय होइन । भारत आजकल अली लुकेर तर चीन देखिएर व्यवस्थापनमा लागेको जगजाहेर नै छ । कस्ले आफ्नो अनुकूलको वातावरण बनाउँछ वा दलहरुले बनाइदिन्छन त्यो केही समयपछि देखिन्छ नै । थकाएर वा गलाएर आफ्नो स्वार्थ अनुकूलको निर्णय गराउने रणनीति दुई छिमेकीहरुले अख्तियार गरेको देखिन्छ । एउटा कोणबाट वामपन्थीहरु सरकार बन्नुपर्छ वा कायम रहनुपर्छ भनने आवाज आएको छ भने अर्को कोणबाट ओलीलाई नै समर्थन गरेर जाने रणनीति अख्तियार गरेको देखिन्छ । ओली नै कायम हुँदा हुने वामपन्थीकै सरकार हो । नामको विषय हो कि कामको भन्ने ठम्याउन नसके पनि यो वा त्यो बहानामा आफ्नो अनुकूल हुने सरकार निर्माणको कसरत भित्रभित्रै चलिरहेको बुझिन्छ । माओवादी केन्द्रले समर्थन फिर्ता नलिनु वा असन्तुष्ट एमाले पक्षले वार कि पारको निर्णय गर्न नसक्नुमा शक्ति केन्द्रको चलखेल निर्णायक छ । दाहाल आराम गर्न सिन्धुली गएका हुन वा कसैलाई (शक्तिकेन्द्र) का मानिसलाई भेट्न गएका हुन् ? उनको स्वभाव चरित्र र शैली बुझ्नेहरुले मात्र यकिन गर्न सक्छन् । छिट्टै वैकल्पिक सरकार बन्दैछ भन्ने दाहालको अभिव्यक्ति ओलीलाई तर्साउन हो वा आफ्ना असफलताहरुलाई छोप्न ? दाहालको अस्थिर स्वभावको कारण नेपालको राजनीति केही समयदेखि खल्बलिदै आएको छ । शान्ति प्रक्रियामा आएदेखि नै दाहाल स्थिरताको पक्षमा छैनन् । आफूलाई केन्द्रविन्दूमा राख्ने रणनीतिअन्तर्गत हरेक फन्डा गर्दै आएका छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नमान्ने, संविधान जारी भएपछि सुशील कोइरालालाई धोका दिने, कांगे्रसलसँग सत्ता सहयात्रा गरिरहेकै अवस्थामा ओलीसँग गठजोड गर्न पुग्नेजस्तो थुप्रै घटना छन्, जसले दाहालको विश्वसनीयता संकटमा परेको छ ।
जसको राजनीतिभन्दा अर्को व्यवसाय छैन, उनीहरुको सबै राजनीतिबाट नै चलेको छ, त्यस्तै दासहरुको जमघट गराएर आनन्द लिने सौखमा नेतृत्व मस्त छ । जनताप्रतिको उत्तरदायित्व बहन उनीहरुको कार्यसूचिमा नै छैन ।
अर्कोतर्फ दाहाल–नेपाल–खनाल समूहको भित्री रणनीति के हो त्यो स्पष्ट छैन । पेरिसडाँडाबाट ‘छातीमाथि ढुंगो राखी छुट्नु पर्याछ’ भन्ने अभिव्यक्तिभित्र लुकेको रहस्य त केही होला । त्यो विषयमा ओली वा देउवा वा ठाकुर–महतो जानकार नै छैनन भन्न सकिँदैन । विश्वासको संकट निम्त्याउने काम सबैभन्दा बढी दाहाल–नेपालहरुले गरेका छन् । यस्तो अवस्थामा देउवाले अग्रसरता लिएनन भनी आलोचना गर्नुएको अर्थ भेटिँदैन । अर्थ नभएको एकतर्फी रटानले गर्ने संकेत के हो भने कांग्रेस सभापति देउवा ओलीकै पक्षमा छन् भन्ने देखाउन । त्यसका लागि देउवालाई तयार बनाउनु । यस कार्यमा दाहाल–नेपाल समूह मात्र होइन कांग्रेसभित्रको देउवा विरोधी समूह पनि क्रियाशील छ । केही दिनअघि कांग्रेसलाई सत्तामा जान जनादेश छैन भन्ने व्यक्तिहरु केही दिनदेखि देउवाले अग्रसरता लिनुपर्छ भनी रहेका छन् । यसको रणनीतिक उद्देश्य बुझेका देउवा सबै अवस्थालाई परिपक्वा हुन दिने नीति अख्तियार गरेर मौन बसेका देखिन्छन् ।
राजनीति यसरी अलमलीरहेकोमा दलहरुको नेतृत्वलाई चिन्ता, चासो र पश्चातप छैन । नेतृत्वको गुलाम भएर यो वा त्यो पक्षमा उभिने परजीवीहरुको भूमिकामाथि प्रश्न गर्नु नै व्यर्थ छ । जसको राजनीतिभन्दा अर्को व्यवसाय छैन, उनीहरुको सबै राजनीतिबाट नै चलेको छ, त्यस्तै दासहरुको जमघट गराएर आनन्द लिने सौखमा नेतृत्व मस्त छ । जनताप्रतिको उत्तरदायित्व बहन उनीहरुको कार्यसूचिमा नै छैन । सर्वत्र लुट चलिरहेको छ, लुटाहा, फटाहा, चोर र डाकाहरुलाई काखी च्यापेर कस्तो समुन्नतिको यात्रा गर्न खोजिएको होला ? यसप्रति गम्भीर चिन्तन, छलफल र कार्ययोजना बनाउन कोही तयार छैन । आफ्ना लागि कस्तो भाटहरु तयार गर्दा उपयुक्त हुन्छ र स्वार्थ पूरा गर्न सकिन्छ भन्ने संकीर्ण स्वार्थबाट निर्देशित राजनीति र यसको नेतृत्वबाट उपयुक्त निकासको अपेक्षा राख्न नै मुर्खता हो ।




