रिबन

बालिका बलात्कृत हुँदा, महिलामाथि हिंसा हुँदा किन बोल्दिनन् राष्ट्रपति ?

काठमाडौं । भारत, चीन, अमेरिका, क्यानडालगायतका मुलुकमा सरकार प्रमुख र राष्ट्रप्रमुखले देशमा कुनै गम्भीर घटना भएमा त्यसबारे आफ्नो धारणा सार्वजनिक गरिहाल्छन् । पीडित परिवारमा सान्त्वना दिने चलन छ । सामाजिक सञ्जाल त्यस्ता कामका लागि सहयोगी बनेका छन् ।


तर, नेपालमा राष्ट्रप्रमुख र सरकार प्रमुखलाई यस्ता घटनाले छुँदै छुँदैन । नेपालमा महिला राष्ट्रपति छन् । राष्ट्रपति विद्यादेवी भण्डारी आफैं लामो समय राजनीति गरेर त्यो पदमा पुगेकी छन् । तर, उनको काम भनेको अहिले सरकारले जे भन्यो, त्यसबाहेक एक इन्च यताउता हुँदैन । उनमा स्वविवेकीय कार्यक्षमता भने नदेखिएको आमजनताले अनुभूति गर्न थालेका छन् ।


महिला राष्ट्रपति हुँदैमा बलात्कारको घटना कम हुनुपर्छ भन्ने होइन । तर बलात्कारपछि हत्या भएका यतिका घटनाको बारेमा महिला राष्ट्रपतिले चासो नदेखाउनु उदेक हो। महिला हिंसा न्यूनीकरण र कडा कानुनी ब्यवस्थाका लागि महिला राष्ट्रपतिले जति पहल गर्नुपर्थ्यो, त्यो हुन सकेको देखिएको छैन ।


कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त, बझाङकी १४ वर्षीया सम्झना विक, बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको छ । तर, यी तीनवटै घटनामा राष्ट्रपति भण्डारीले गम्भीर चासो देखाएको अहिलेसम्म कसैले देखेको छैन ।महिलामाथि भएका हिंसाबारेमा महिला राष्ट्रपतिले चासो दिएर सरकारलाई झकझक्याउनुपर्ने हो । तर, आफूले सरकारलाई सुझाव दिँदा केपी ओलीको सरकार नै धरापमा पर्ने हो कि भन्ने ठम्याइँ उनमा रहेको हुन सक्ने अधिकारकर्मीहरू बताउँछन् ।


राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा कसैले आलोचना गरे त्यसलाई सरकारले तुरुन्तै समातेर साइबर क्राइम मुद्दा लगाइहाल्छ । हालै नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिको नेकपा ओली समूहले विरोध जनाउँदै उनलाई कारबाही गर्न अनेमसंघले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझायो । तर, अनेमसंघले बैतडीकी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न भनेर एक शब्द बोलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *