राजनीति

पूरा भएकै हो त शासन पद्धतिको एउटा चक्र ?

नेपालको राज्य व्यवस्था अहिले कम्युनिस्टहरूको अराजकतासँगै छिन्नभिन्न हुँदै गएको छ । नेपाली जनताले लामो समयको प्रतीक्षापछि प्राप्त गरेको स्थिर सरकारको आकांक्षासँगै देशले अब विकासको पथमा कोल्टे फेर्ने अपेक्षा सबैले गरेका थिए । पाँच वर्ष एउटा राजनीतिक दलले शासन सञ्चालन गर्याे भने देशको मुहारमा परिवर्तन आउने कुरामा सम्पूर्ण जनसमुदाय ढुक्क भएको अवस्थामाथि तुसारापात सृजना गर्दे अरु कोही नभएर आफ्नै दलभित्रको गुटगत स्वार्थ मिलाउन नसक्दा आधा बाटोमा ल्याएर कम्युनिस्ट पार्टीकै घघडान नेताहरू खाल्डो खोज्दै हिँडेका छन् ।

०७४ मा सम्पन्न निर्वाचनबाट बहुमतप्राप्त दलको रूपमा सरकार सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र यसका शीर्ष नेताहरू अहिले असली ठेकेदारको लडाइँमा व्यस्त छन् । नेपाली जनताले सिंगो नेकपालाई निर्वाचित गरेको इतिहास बिर्सिएर सडकमा नांगो नाच प्रदर्शन गरी विश्व समुदायलाई नाटक देखाइरहेका छन । एकअर्काबीच निर्लज्ज गालीगलौजमा उत्रिएका नेकपाका कार्यकर्ताहरू एकातिरबाट प्रधानमन्त्री केपी ओलीको देवत्वकरण गर्न जुटेका छन् भने अर्कोतिर प्रचण्डको देवत्वकरणमा उत्रिएका छन् । सम्भवतः यो एक महिनाको अवधिमा तिनीहरूले बिर्सिसकेछन् कि हिजो उनीहरू दुवैलाई देवत्वकरण गर्न जुटेका थिए । ओली र प्रचण्ड मिलुन्जेल, उनीहरूबीच लभ परुन्जेल कसैलाई गाली गर्न र कुटपिट गर्न नपाएका कम्युनिस्टहरूका लागि आज आफ्नो बाहुबली देखाउने स्थान बनेको छ सडक ।

देशमा दिनानुदिन मूल्यवृद्धिले डाँडो काटिसकेको छ, कोरोनाले झन्डै एक वर्षदेखि देश थङ्थिलो भएको छ, भोकरोग अशिक्षाले जनता पीडित छन् भ्रष्टाचार अत्याचार र बलात्कारका घटनाले मुलुक आक्रान्त बनिरहेको छ । वर्षेनि आउने विपत्का कारण जनताहरू घरवारविहीन अवस्थामा रहेका छन् । उपचार नपाएर बिमारीहरू बाटबाटै मृत्यु बेहोर्न बाध्य छन् । कमिसन र घुसखोरीले आक्रान्त जनताको घाउमा मलम लगाउने समयमा काठमाडौंका चोक र गल्लीहरूमा फुटानी लगाएर आफूलाई अर्कै संसारको प्रतिनिधिको झल्को दिने कम्युनिस्ट नेता कार्यकर्ताहरूको वर्तमान सडकमा देखिएको ताण्डव नृत्यले न स्वाभिमानको झल्को दिन्छ, न राजनीतिक संस्कारको जग बसाउन मद्दत गर्दछ । यसले त केवल अराजकताको जग बसाउन सहयोग पु¥याउँछ, दण्डहीनताको झल्को दिन्छ र देशलाई निरंकुशता र प्रतिगमनको खाडलमा खसाल्छ ।

राजनीति विचारमा आधारित हुन्छ, दृष्टिकोणमा आधारित हुन्छ, । आधार संरचनाको रूपमा देशको राजनीति जुन प्रकारले अघि बढ्दछ, सोहीअनुरूपका उपरीसंरचनाहरूको निर्धारण हुन्छ । राजनीतिले नै समाजका सामाजिक सांस्कृतिक मूल्यमान्यता र संस्कारको विकास गर्दछ । देशले जस्तो प्रकारको राजनीतिक संस्कारको विकास गर्दछ सोहीअनुरूपका मूल्यमान्यताहरू विकास हुँदै जाने परम्परा रहन्छ । अर्थात् यदि राजनीति सफा भयो भने राजनीतिक व्यवस्थासँग जोडिएका हुन्छन् । अहिले नेपालका सडकरुमा कम्युनिस्टहरूबीच जुन किसिमको शाब्दिक दोहोरी सुनिन्छ, त्यसले नेपालमा राजनीतिक संस्कारको स्खलन हुँदै गएको छ । राजनीतिक भेला र आमसभामा नेकपाको असली आफूलाई प्रस्तुत गर्दै बरमझियाको पेडा पसलमा बूढाको पेडापसल ब्रान्डिङ गरे जसरी ओली समूह र प्रचण्ड माधव समूह आफ्नो समूहलाई नेकपाको असली रूप ब्रान्डिङ गर्न खोजिरहेका छन् । यसक्रममा अघिल्लो दिनसम्म देवत्वकरण गरिरहेका कार्यकताहरू विभिन्न अपाच्य भाषको प्रयोग गरेर एकअर्कालाई गालीगलौज गरिरहेका छन् । यस किसिमको राजनीतिक सम्बन्धले के सिकाउँछ ? के राजनीति भनेको गालीगलौजकै लागि हो ?

नेताहरूले विचारको तराजुमा बसेर राजनीति गर्ने हो भने अहिलेको अवस्था आउने थिएन, तर प्रतिसोधको राजनीतिबाट उठेका कम्युनिस्टहरूले विचारको तराजुलाई एकातिर लत्याएर वैमनश्यताको तराजुमा राख्नाले वर्तमान पुस्ताले यसलाई फोहोरी खेलो रूपमा बुझेकोछ ।

प्रसिद्ध दार्शनिक अरस्तुले राज्यका संविधानहरू एउटा निश्चित क्रममा बदलिइरहन्छ भन्ने मत अघि सारेका छन् । जसरी ऋतुहरू एकपछि अर्को क्रममा बदलिन्छन्, त्यसैगरी राज्य व्यवस्थामा पनि परिवर्तनको चक्र चल्ने प्रक्रियाको वकालत गरेका छन् । राज्य सञ्चालनमा राजतन्त्र, अत्याचारतन्त्र, धनिकतन्त्र, संयमी प्रजातन्त्र र प्रजातन्त्र एकपछि अर्को क्रमिक रूपले फेरिइरहने तथ्य अघि सार्दै उनले प्रजातन्तमा आइपुगेपछि पुनः राजतन्त्रको प्रादुर्भाव हुने विचार अघि सारेका छन् । राजतन्त्रात्मक शासन पद्धतिमा जब राजा स्वेच्छाचारी बन्न थाल्छन, जनहितलाई एकातिर पन्छाएर व्यक्तिगत स्वार्थमा तल्लीन हुन्छन, परिणामस्वरूप राजतन्त्र अत्यचारतन्त्रमा रूपान्तरण हुँदै जान्छ । यस प्रकारको व्यवस्थाको पेलाइमा परेका जनता राजतन्त्रको विरुद्धमा क्रान्तिमा उत्रन्छन् र योग्य नेतृत्वको बागडोरमा शासन सुम्पन्छन्, यसले कुलीनतन्त्र स्थापित गर्दछ ।

कुलीनतन्त्रको नेतृत्वमा सञ्चालित शासन व्यवस्थामा मूलतः सम्भ्रान्त वर्गले शासनको बागडोर सम्हाल्छन्, परिणमस्वरूप निर्दा निमुखाहरू शासित हुन्छन् । कुलीनतन्त्र दिनप्रतिदिन भ्रष्ट र निरंकुश बन्दै जान्छ । कुलीनतन्त्रमा विभिन्न गुटहरू हावी हुन थाल्दछन्, राज्य र जनताको हितको निम्तिभन्दा बढी क्रियाशीलता गुटको हितका लागि प्रस्तुत हुँदै जान्छन् । जसले धनिकतन्त्रको बीजारोपण हुन्छ । धनिक तन्त्रको शासनकालमा मुट्ठीभर धनीहरूले सत्ता सम्हाल्छन्, धनीहरूको स्वार्थसिद्धिका लागि राजनीति गर्दै जान्छन् । यसप्रकारको शासन व्यवस्थामा गरिब र विपन्न जनसमुदायमाथि धनिकतन्त्रीय शासन लाद्ने गरिन्छ । यसप्रकारको शासन व्यवस्थामा गरिबहरूले न न्याय पाउँछन, या राज्यका सेवासुविधामा समानुपातिक प्रतिनिधित्व ।

विभिन्न बहाना र प्रलोभनमा पारेर निरन्तर शासन गर्दछन्, सम्भ्रान्त वर्गको बोली नै कानुन हुने यसप्रकारको शासन व्यवस्थाबाट दिक्क भएर विद्रोहमा उत्रिएका जनताले संयमी प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापन गर्दछन् । यस किसिमको शासन व्यवस्थामा सैद्धान्तिक रूपमा सम्पूर्ण जनताको हितमा सम्पूर्ण जनताले शासन गर्दछन् । संयमी प्रजातन्त्रको प्रारम्भिककाल सुनौलो प्रकृतिको हुन्छ र यसअन्तर्गत शासनाधिकारमा सबैको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता रहेको जस्ता देखिए पनि पछिल्लो अवधिमा माथि उल्लेखित शासन व्यवस्थाभन्दा फरक रहँदैन । विस्तारै संयमी प्रजातन्त्रमा पनि राजनीतिक विकृतिहरू मौलाउँदै जान थाल्दछन् भने क्रमिक रूपले स्वेच्छाचारिता वृद्धि हुँदै जान्छन्, जसले गर्दा संयमी प्रजातन्त्र एकाएक पतनको बाटोतर्फ उन्मुख हुदै जाँदा प्रजातन्त्रको प्रादुर्भाव हुन्छ । प्रजातन्त्रमा बहुसंख्यक दरिद्रहरूले आफ्नो स्वार्थका लागि शासनसत्ताको मनलाग्दी उपयोग गर्न थाल्दछन् । राज्यका स्रोतसाधनमा अनियमित पहुँच स्थापना गरी एक ढंगले भन्दा राज्यको ढुकुटीमा डुबुल्की मार्न थाल्दछन् । यो क्रम निकै लामो समयसम्म चलिरहन्छ, जनता यति धेरै प्रताडित हुन्छन्, त्यसको अभिव्यक्ति स्वरूप पुनः राजतन्त्र स्थापनाको चरणमा प्रवेश गर्दछन् ।

नेपालको राजनीतिक व्यवस्थाको इतिहास पनि यस्तै किसिमले विकास हुँदै आएको देखिन्छ । हामीले इतिहासदेखि प्रयोग गर्दै आएका शासन प्रणाली गोपाल, महिसपाल, किराँत, लिच्छवि, मल्ल, शाहकाल हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई केलाउँदै आउने हो भने अहिले शासन ब्यवस्थाको क्रमिक रूपले रूपान्तरण हुँदै आएको छ । लोकतान्त्रिक गणतन्त्रमा हिजो चप्पल पड्काउँदै राजधानी छिरेका गणतन्त्रवादीहरूको सामाजिक आर्थिक हैसियत र यिनले यो डेढ दशकको अवधिमा जोडेको व्यक्तिगत सम्पत्तिको फेहरिस्तसँग तुलना गर्दा नयाँ चक्र परिवर्तन हुनेबेला भएकै हो त भन्ने प्रश्न खडा हुन थालेको छ । अर्कातिर कम्युनिस्टहरू सत्तामा बसेर पारस्परिक रूपमा टोकाटोकको अवस्थामा पुग्नु, प्रतिपक्षी दल नेपाली कांग्रेस आफैंभित्रको गुटको भुमरीमा फसेर प्रतिपक्षी भूमिका भुल्दै जानु र एकाएक राजावादीहरू राष्ट्रवादको खोल ओडेर नेपालका विभिन्न स्थानमा राजतन्त्र जिन्दावादका नारा लगाएर राज्यसत्ता ताक्ने अवस्थामा प्रवेश गनु कुनै संयोग मात्र हो या अरस्तु दृष्टिकोण सापटी लिने हो भने राजतन्त्रको चक्रीय अवस्थाको सूत्रपात हुन खोजेको हो ? गम्भीर रूपले खोज्ने बेला भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *