जेलबाट छुटेपछि एकदिन केपी ओलीले गिरिजाप्रसाद कोइराला भेट्ने इच्छा जाहेर गरे । मैले भेटको चाँजोपाँजो मिलाएँ । उm बेला गिरिजाबाबु चावहिल, मित्रपार्कमा बस्थे । समयमै हामी उनको निवासमा पुग्यौं । भुइँतलाको बैठक कक्षमा एकछिन हामीले कुर्नुपर्यो । अलिक एकछिनमा गिरिजाबाबु चिटिच्याट्ट परेर, दौरासुरुवाल, कालोटोपी र टल्कने कालै जुत्तामा बैठक कक्षमा उपस्थित भए । उनको तुलनामा हामी अलिक ल्याङ्गफ़्याङ्गे थियौं । ओलीजी दुब्लो पातलो, शर्ट र खुझ्मुझिएको पैन्ट, उसमाथि पेटी नलगाको, फ़्याटफ़्याटे स्यान्डलमा । म कुन चाहिँ गतिलो थें र ? सायद अरुले उतिखेर हाम्रो लवाईखुवाईबारे कम्युनिष्ट यस्तै हुन्छन् भन्ने मान्यता राख्थे क्यारे ।
हामीले शिष्टाचारमा नमस्कार साटासाट गर्यौं । गिरिजाबाबु टेवलको उसपार भित्तापट्टि कुर्सीमा, हामी टेबलको बगलमा रहेको कुर्सीमा । उसदिनको वार्ताको विषयवस्तु उस्तो चासोको कुरा भएन । ओलीजीको प्रस्तुतिको हाउभाउ (बडी ल्याङ्गवेज) ले भने मलाई कम असहज महसुस भएन । गिरिजाबाबु जिज्ञासु र एकाग्र देखिन्थे ।
यता, ओलीजी झट्ट हेर्दा उनलाई वेवास्ता गरे (मिनिमाइज) जस्तो, उनका आँखा भित्तामा सजाईएका शोकेसको वस्तुमा घरि यता घरि उता टोल्याइरहेका, अनि बीचबीचमा फ्याट्टफ्याट्ट जवाफ दिने । बीचबीचमा म रफ्फु भर्थें । सायद गिरिजाले उति राम्रो नमानेका पनि हुन सक्छन् । हुन त यो एजेण्डामा भेटभन्दा पनि शिष्टाचार भेट मात्रै थियो । तैपनि, हामी त्यहाँबाट बिदावारी भयौं ।
मलाई पटक्कै चित्त बुझेको थिएन । बाहिर निस्कना साथै मैले ओलीजीलाई कसिहालें, ‘होइन आज तपाईले के गर्नु भाको ? वार्ता त आमनेसामने हेराहेर गरेर पो हुन्छ त, वास्तै नगरे जस्तो, वरपर चारतिर आँखा डुलार पनि वार्ता हुन्छ त ? गिरिजाबाबुले के फिल गरे होलान् ?’
उनले बडो मार्मिक जवाफ दिए, ‘शोकेशमा दौडिएका आफ्ना नजरलाई सम्झिदै । जेलमा लामो समयसम्म बस्नेको एउटा समस्या हुँदो रैछ, हामीले त त्यस्ता नयाँनयाँ चीज देखेकै हुन्न नि, आँखा त त्यता गइहाल्दा रछन् ।’ म झसङ्ग भएँ र चित्त बुझाएँ । आफ्नै धुन, आफ्नै संसार ।
– पूर्वराजदूत टंक कार्कीको फेसबुकबाट




