रिबन

तीन लाख घुससहित यातायातका कर्मचारी पक्राउ

काठमाडौं । तीन लाख रुपैयाँ घुस रकमसहित यातायात व्यवस्था कार्यालय जनकपुरधामका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई रङ्गेहात पक्राउ गरेको हो ।

कापरले यातायात व्यवस्था कार्यालय जनकपुरधाममा ‘स्काभेटर र लोडर’को सवारी चालक अनुमति पत्र वितरणका क्रममा अन्तिम परीक्षाका परीक्षार्थीबाट अतिरिक्त रकम उठाएको आयोगको दाबी छ ।

आयोगको टोलीले कापरको कोठाबाट दुई लाख २३ हजार आठ सय ५० रुपैयाँ र बिचौलियाको काम गर्ने जनकपुर उपमहानगरपालिका–१० का भगतको साथबाट परीक्षार्थीको नाम र दर्ता नम्बर भएको कागजातसहित ५० हजार रुपैयाँ नियन्त्रणमा लिएको छ ।

दुवै जनालाई कार्यालयबाटै नगद २ लाख ७३ हजार ८ सय ५० रुपैयाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *