विचार

ओली-प्रचण्ड टकरावले मुलुकलाई कहाँ पुर्‍याउला ?


विश्वका कयौं मुलुकमा जे जति राजनीतिक दुर्घटना भएका छन्, त्यसको पृष्ठभूमिमा शक्तिशाली व्यक्तिहरूको टकराव नै प्रमुख कारण देखिएको छ । हाम्रै छिमेकी मुलुकहरूको उदाहरण हेर्ने हो भने भारत विभाजन भएर पाकिस्तान बन्नुको मुख्य कारण महात्मा गान्धी र मोहम्मद अलि जिन्नाबीचको व्यक्तित्व टकराव मुख्य कारण थियो । पाकिस्तान विभाजित भएर बंगलादेश बन्नुमा भारतको हात रहेको भनिए पनि मुख्य कारण यी दुई भूगोलका नेताहरूको टकराव नै थियो ।

सायद राजा चोग्याल र नेता लेण्डुप दोर्जेबीच टकराव नभएको भए सिक्किम भारतमा विलय हुने थिएन । नेपालकै उदाहरण लिनुपर्दा तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाको टकरावकै कारण २०१७ सालको घटना भएको हो । यो टकरावमा बीपीले सुझबुझ नपुर्याएको भए त्यतिबेलै नेपालले पनि सिक्किमकै हविगत बेहोर्ने थियो । तर प्रजातन्त्र गुमे पनि बीपीको सुझबुझका कारण नेपालको राष्ट्रियता गुम्न पाएन ।

नेपालका सन्दर्भमा शक्ति सम्पन्न व्यक्तिहरूको टकरावले राज्य कमजोर हुन थालेको पृथ्वीनारायण शाहको निधनपछि हो । सुगौली सन्धिपछि त्यो अवस्था अझ बढेर गयो । टकराव यति बढ्यो कि जंगबहादुरको उदय नहुँदासम्म नेपालका कुनै पनि प्रधानमन्त्री आफ्नो कालगतिले मर्न पाएनन् । राणा शासनको उदयपछि १०४ वर्ष अर्थात् २००७ सालसम्म कुनै पनि प्रधानमन्त्रीको हत्या हुन पाएन । थोरै अपवादबाहेक राणा प्रधानमन्त्रीहरू आफ्नै कालगतिले मरे । रणोद्वीप सिंहको हत्या, देवशमशेरको गलहत्ति, जुद्धशमशेरको स्वेच्छाले त्याग, पद्मशमशेरको बाध्यता र मोहनशमशेर आन्दोलनको घानमा परेबाहेक सबै राणा प्रधानमन्त्रीहरूले बाँचुन्जेल शासन गर्ने मौका पाए ।

संविधानसभाका अर्को निर्वाचन गराउने प्रयोजनका लागि बाबुरामलाई हटाएर प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने मामिलामा भने ओली र प्रचण्डको सहकार्य देखियो ।

२००७ सालको परिवर्तनले मुलुकमा प्रजातन्त्र ल्याएको हो, तर ७० वर्षको यो अवधिमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न पाएका छैनन् । जसरी जंगबहादुर राणाभन्दा अघि कुनै पनि प्रधानमन्त्री आफ्नो कालगतिले मर्न नपाउनुमा राजदरबारलाई नै मुख्य कारक ठह¥याइयो, त्यसरी नै २००७ सालपछि कुनै पनि प्रधानमन्त्री पूरै कार्यकाल नटिक्नुमा पनि राजदरबारकै भूमिका रहेको अनुमान गरियो । राजतन्त्र ढाल्न जनता जाग्नुमा यो अनुमान पनि एक कारण थियो । तर २०६५ सालमा गणतन्त्र स्थापना भएयता पनि कुनै प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । गणतन्त्र स्थापना भएयताको १२ वर्षमा पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली दुई–दुईपटक प्रधानमन्त्री भइसकेका छन् भने माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । यो १२ वर्षको अवधिमा ११ पटक प्रधानमन्त्री फेरिएको अवस्था छ । त्यसैले कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न नपाउनुमा राजदरबार मुख्य कारक हो भन्ने कुरा अर्धसत्य मात्रै रहेछ ।

ओली-प्रचण्ड टकराव

राजतन्त्रकालमा प्रधानमन्त्रीले आफ्नो पूरा कार्यकाल काम गर्न नपाउनुमा दरबार पनि कारण थियो होला, तर गणतन्त्र स्थापना भएयताका राजनीतिक घटनाक्रम विश्लेषण गर्ने हो भने ओली र प्रचण्डबीचको महत्वाकांक्षाको टकरावले नै हरेक प्रधानमन्त्रीहरू धरापमा परेका हुन् । उदाहरणका लागि, २०६५ सालमा संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो पार्टीका हैसियतले एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बने । नौ महिना बित्दा नबित्दै उनी राजीनामा दिन बाध्य हुनुपर्नाको सतहमा देखिने कारण प्रधानसेनापति प्रकरण हो, तर वास्तविक कारण भने एमालेले समर्थन झिक्ने गृहकार्य सुरु गर्नु हो । यदि एमालेले समर्थन फिर्ता लिँदैनथ्यो भने प्रचण्डले प्रधानमन्त्री पदबाट हात धुनु पर्दैनथ्यो । त्यसबेला प्रचण्डलाई प्रधानमन्त्री पदबाट ढाल्ने रणनीतिका आर्किटेक्चर ओली नै थिए ।

ओलीले भने जनअधिकारको प्राप्तिका लागि अहिलेसम्म सिन्को भाँचेका छैनन्, बरु जनअधिकारविरुद्धको संघर्षमा उनले खलनायकको भूमिका खेलेका केही घटनाहरू छन्

प्रचण्डले राजीनामा दिएपछि माधवकुमार नेपाल प्रधानमन्त्री बने । तर १८ महिना बित्दा नबित्दै प्रचण्डले एमालेकै अध्यक्ष झलनाथ खनाललाई प्रयोग गरे । माधवलाई विस्थापित गरी खनाललाई प्रधानमन्त्री बनाउन प्रचण्डकै मुख्य भूमिका थियो । खनाल प्रधानमन्त्री बनेको नौ महिना बित्दा नबित्दै एमालेकै नेता ओलीले पार्टीमै संघर्ष गरेर झलनाथलाई राजीनामा दिन बाध्य बनाए । त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्री बने । प्रचण्डलाई ठेगान लगाउन ओलीले माओवादीकै बाबुरामलाई प्रधानमन्त्री बनाउने रणनीति अवलम्बन गरेका थिए । बाबुरामकै पालामा संविधानसभा विघटन भयो । संविधानसभाका अर्को निर्वाचन गराउने प्रयोजनका लागि बाबुरामलाई हटाएर प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने मामिलामा भने ओली र प्रचण्डको सहकार्य देखियो ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनपछि एमालेको सहयोगमा सबैभन्दा ठूलो दलको नाताले नेपाली कांग्रेसका सभापति शुसील कोइराला प्रधानमन्त्री बने । दुई वर्ष बिताउन पाउँदा नपाउँदै ओली र प्रचण्डको गठजोडमा सुशील कोइरालालाई विस्थापित गरियो । त्यसपछि प्रचण्डको सहमतिमा ओली प्रधानमन्त्री बने । आलोपालो प्रधानमन्त्री बन्ने सहमति उल्लंघन गरेको भन्दै प्रचण्डले ओलीलाई ढाले । त्यसपछि नेपाली कांग्रेसको सहयोगमा प्रचण्ड आफै प्रधानमन्त्री बने । यसपटक भने प्रचण्डले पूर्वसहमतिअनुसार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पु¥याए, भलै यसबापत प्रचण्डले भरतपुर महानगरपलिकामा आफ्नी छोरीलाई मेयर बनाए ।

यदि आमनिर्वाचन २०७४ मा ओली र प्रचण्डबीच गठजोड नभएको भए नेपाली कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने र देउवाले नै प्रधानमन्त्रीका रूपमा निरन्तरता पाउने सम्भावना थियो । जुन पार्टीको नेतृत्वमा संविधान निर्माण भयो, जुन पार्टीका एजेन्डा सिंगो मुलुकका एजेन्डा बने, जुन पार्टीको नेतृत्वमा आमनिर्वाचन भयो संविधान जारीलगत्तैको निर्वाचनपछि त्यही पार्टीको नेतृत्वमा सरकार बनेको भए लोकतन्त्र डिरेल हुने थिएन, तर ओली र प्रचण्ड मिलेरै कांग्रेसलाई भित्तामा पु¥याए । आज मुलुकको लोकतन्त्र डिरेल भएको छ । यसका मुख्य कारक भनेका प्रचण्ड र ओली नै हुन् ।

ओली र प्रचण्डमध्ये के ठिक, को बेठिक ? भन्ने बहसमा मलुकको केही तप्का अल्झिएको छ । यो बहस निरर्थक र फगत हो । थोत्रा गाला बजाउनु मात्रै हो । व्यक्तिगत स्वार्थबाहेक प्रचण्ड र ओलीको शरीरमा अर्को रगत बगेकै देखिएन । तुलोमा राखेर जोख्न मिल्ने भए यी दुईजनाको चरित्रमा एक रति पनि फरक आउने थिएन । अत्यन्त गरिब परिवारमा जन्मेका ओली र प्रचण्डलाई दुई–दुईपटक मुलुकको सर्वोच्च कार्यकारी पदमा पुर्याइदिएको लोकतन्त्रले हो, तर जब प्रधानमन्त्री बन्छन्, तब लोकतन्त्रमाथि नै धावा बोल्ने सिलसिला यी दुबैजनाले कायमै राखेका छन् । यी दुवैजना व्यक्ति हत्याको जगमा उदय भएका नेता हुन् । फरक यति हो कि ओलीले थोरै मान्छे मारे, प्रचण्डले धेरै मान्छे मारे । ओली मान्छे मारेबापत कानुनी सजाय भोगिसकेका व्यक्ति हुन् भने प्रचण्डले कानुनबमोजिमको सजाय भोग्न बाँकी छ । यसैगरी, प्रचण्डले जनअधिकार प्राप्तिका लागि केही काम पनि गरेका छन्, राजतन्त्र उन्मूलनमा प्रचण्डको योगदान छ, तर ओलीले भने जनअधिकारको प्राप्तिका लागि अहिलेसम्म सिन्को भाँचेका छैनन्, बरु जनअधिकारविरुद्धको संघर्षमा उनले खलनायकको भूमिका खेलेका केही घटनाहरू छन् ।

परिवारवादको सन्दर्भमा भन्ने हो भने ओली त्यति अलोचित छैनन्, तर प्रचण्ड धेरै नै नांगिसकेका छन् । परिवारवादको विभत्स स्वरूपका सन्दर्भमा भन्ने हो भने प्रचण्डले राणाकाललाई पनि माथ गरेका छन् । राणाहरूले बरु आफ्ना सन्तती योग्य भएनन् भने अलि टाढाको योग्य मान्छे खोजी गरेर जिम्मेवारी दिन्थे, तर प्रचण्डले त छोरा–छोरी, ज्वाइँ–बुहारी, भाइ–भतिजाबाहेक अरुलाई देख्दै देखेनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *