विचार

गाँजालाई वैधानिक गरे नेपालको तीव्र आर्थिक उन्नति

नेपालमा २००७-०८ देखि ०३३ सालसम्म सरकारले टेन्डर निकालेर गाँजा खेती गर्न, उपभोग र बेचबिखन गर्ने चलन थियो । त्यसबेलासम्म गाँजा हाम्रो देशको प्रमुख नगदे बाली थियो । नेपाली अर्थतन्त्रको मेरुदण्ड थियो । सरकारले २०३३ सालमा लागूऔषध ऐन ल्याएपछि गाँजामा प्रतिबन्ध लगाइयो । गाँजा प्रतिबन्धित अवस्थामा रहेको ४४ वर्ष भइसकेको छ । २०३३ सालको लागूऔषध ऐनमा जोगी र विरामीले गाँजा खान पाउने प्रबन्ध छ । त्यही ऐनमा टेकेर हामीले धेरै काम गर्न सक्ने अवस्था छ । संयुक्त राष्ट्रसंघले पनि गाँजालाई कडा लागूऔषधको श्रेणीबाट हटाएको छ । जसले नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन सघाउ पुग्नेछ ।

कानुनी रूपमा प्रतिबन्धित गरिएको अमूल्य जडीबुटी गाँजालाई वैधानिक बनाउन ढिलाइ भइसकेको छ । मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउने हो भने गाँजाको महत्वपूर्ण योगदान रहने विभिन्न तथ्यांकले देखाइसकेको छ । अहिलेसम्म नेपालमा अमूल्य जडीबुटी गाँजालाई प्रतिबन्ध नलगाएको भए नेपाली गरिब हुन बाध्य हुँदैनथे । गाँजा किसानलाई गाँस, बास र कपासको प्रत्याभूति दिलाउन सक्ने वनस्पति हो । अहिले ५० हजार बढी ठाउँमा गााँजाको प्रयोग हुँदै आएको छ । एक लिटर गाँजाको शुद्ध तेल जापानमा ५० लाखदेखि एक करोड रुपैयाँमा किनबेच हुँदै आएको छ । अमेरिकामा एक ग्राम गाँजा ५० देखि ६० डलरमा बिक्री भइरहेको पाइन्छ । संसारका धेरै राष्ट्रहरूको अर्थतन्त्रको जगका रूपमा गाँजा विकास भइरहेको छ । चिसो हावपानीका कारण नेपालको गाँजा अत्यन्तै गुणस्तरीय भएको पाइन्छ ।

गाँजा वैधानिक बनाएर पीडितहरूलाई प्राथमिकतमा राखेर लाइसेन्स दिने, काम गर्ने वातावरण बनाउने, जागिर दिने व्यवस्था मिलाउनुपर्छ

आर्थिक रूपले सम्पन्न बनाउन अमूल्य जडीबुटी गाँजा ओसारपसार र बिक्री गरेको नाममा नौ हजार नेपाली नागरिक जेलभित्र छन् । जुन निकै पीडादायी पक्ष हो । जुन अमूल्य जडीबुटीलाई बेचेर संसारभर पैसा कमाइरहेका छन्, तर दुर्भाग्य भन्नुपर्छ नेपाली दाजुभाइ भने जेलभित्र कैद भुक्तान गरिरहेका छन् । जेलभित्र बस्ता ती मान्छेले उत्पादनमूलक काममा सहभागी हुन पाएनन् । उल्टै सरकारले एउटा कैदीलाई १५ देखि २० हजार रुपैयाँ खर्च गरिरहेको छ । त्यसकारण कैदीलाई जतिसक्दो छिटो विनासर्त रिहाइ गर्नुपर्छ । उनीहरूलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ । गाँजा वैधानिक बनाएर पीडितहरूलाई प्राथमिकतमा राखेर लाइसेन्स दिने, काम गर्ने वातावरण बनाउने, जागिर दिने व्यवस्था मिलाउनुपर्छ । गाँजाको कारोबार लुकिछिपी होइन, पारदर्शी ढंगले गर्न पाउने कानुनी व्यवस्था गर्न ढिलाइ भइसकेको छ । नेपालमा गाँजालाई कानुनी मान्यता दिएान ५० हजारौंको संख्यामा उद्योग स्थापना हुने र लाखौंले स्वदेशमै रोजगारी पाउने अवस्था छ ।
०००
गाँजा लागूऔषधको कोटिमा राखिएको छ । तर, संसारका नसा लाग्ने १५ वटा चिजमा सबैभन्दा खराब रक्सी हो । रक्सी खुलेआम बिक्री भएको छ । हरेक वर्ष नेपालमा ५५ अर्बको रक्सी आयात भइरहेको छ । हरेक वर्ष संसारभर ७५ लाख मानिस रक्सी सेवन गरेकै कारण मरिरहेका छन् । गाँजा सेवनबाट एकजना पनि मानिस मरेको रेकर्ड छैन । संयुक्त राष्ट्रसंघ र विभिन्न विश्वविद्यालयका रिसर्चले गाँजामा ९८ प्रतिशत औषधीय गुण भएको पुष्टि गरेको छ ।

हामीले गाजा औषधीय वनस्पति हो, लागूऔषध होइन, यो नगदेबाली हो भन्दाभन्दै पनि जबर्जस्ती राष्ट्रसंघले प्रतिबन्ध लगायो, अब उसले क्षतिपूर्ति दिनुपर्छ

धेरै मानिसले अहिले पनि गाँजालाई लागूऔषध हो भन्ने सोचिरहनुभएको छ । तर, वास्तविकता अर्कै छ । सिंहदरबार वैद्यखानाको इतिहास हेर्दा, भोग्यसुन्दरी जस्तो अहिले भियाग्रामा प्रयोग भइरहेको लाखौ रुपैयाँ डलर आर्जन गरिरहेको यौनवद्र्धक औषधि दुई सय वर्षअघि नै हाम्रो देशमा गाँजाबाट बनेको थियो । अहिले गाँजामा प्रतिबन्ध लगाइएका कारण गाँजाबाट बनेका औषधिध समाप्त भएर विदेशी औषधि किनेर खान नेपालीलाई बाध्य पारिएको छ । हाम्रो देशको प्रकृतिले दिएको अमूल्य जडीबुटी षड्यन्त्रपूर्वक प्रतिबन्ध गरिँदै आएको छ । जुन सर्वथा अनुचित हो । यसलाई खोल्नुपर्छ । प्रकृतिले विभिन्न देशलाई एउटा एउटा उपहार दिएको हुन्छ । कुनै मुलुकलाई ग्यास, कुनैलाई पेट्रोल, कुनैलाई सुनखानी, हीराखानी दिएको छ । नेपाललाई प्रकृतिले गाँजा अमूल्य जडीबुटी दिएको छ । अहिले अन्तर्राष्ट्रिय वातावरण पनि बनेका कारण यसलाई खोल्नुपर्छ । यो राष्ट्रको हितमा छ । त्यसैले सरकारले तत्काल प्रतिबन्ध हटाउनुपर्छ ।

राज्यले आयआर्जनको माध्यम बनाउन सक्ने, वैधानिक रूपमा खेती, बिक्रीवितरण र उद्योगधन्दा सञ्चालन गर्न सक्ने अवस्था बनाउनुपर्छ । स्वरोजगार सिर्जना होस् र आत्मनिर्भर बन्न पाउँ भन्ने युवाहरूको माग छ । हामी गरिब बन्न र विदेशीको सेवक बन्न जन्मेका होइनौं । हामी गोरक्षे राज्यका शिवका सन्तान हौं । समृद्ध बन्ने प्रशस्त सम्भावना छ । त्यसका लागि गाँजालाई वैधानिक बनाउनुपर्छ । हामीले गाजा औषधीय वनस्पति हो, लागूऔषध होइन, यो नगदेबाली हो भन्दाभन्दै पनि जबर्जस्ती राष्ट्रसंघले प्रतिबन्ध लगायो, अब उसले क्षतिपूर्ति दिनुपर्छ । राष्ट्रसंघकै कारण ४४ वर्षदेखि नेपालमा गाँजामाथि प्रतिवन्ध लगाइयो । गाँजामा प्रतिबन्ध लगाएका कारण जे जति क्षति भयो, त्यसको क्षतिपूर्ति राष्ट्रसंघले दिनुपर्छ । यसका लागि हामी युवाहरू लड्छौं ।
(लेखक विश्व हिन्दु युवा संघका अध्यक्ष हुन्)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *