काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताप्रति वर्तमान सरकारमा कुनै भविष्य दृष्टि नभएको आरोप लगाएका छन् । कांग्रेसले सोमबार गर्न लागेको ७७ रै जिल्लामा विरोध प्रदर्शन र विरोध सभाको पूर्वसन्ध्यामा आइतबार एक अपिल जारी गर्दै उनले केपी ओली सरकारप्रति जनतामा व्यापक वितृष्णा फैलिएको बताएका छन् ।
प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आए पनि वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मूलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’
प्रदर्शनको तयारीमा जुटेका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन देउवाले अपिल गरेका छन् । ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु,’ अपिलमा भनिएको छ ।
देउवाले वर्तमान सरकारका पालामा भएका एक एक विकृतिको उजागर गरेका छन् । अपिलमा भनेका छन्, ‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शून्यता के हुन सक्दछ ?’
यस्तो छ देउवाले जारी गरेको अपिल
देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील !भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ । यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु ।
प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।
नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।प्रदर्शनको तयारीमा जुट्नुभएका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन म अपील गर्दछु ।
कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु ।जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ? तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ ।
ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको छ । कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ ।
चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज । खेतिको बेला मल नपाएर छट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक । ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना ब्यवसायी देखि ठुला उधोगीसम्म ।
रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदुर संभावना नदेखिरहेको युवा । शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्, प्रश्न बोकि रहेका छन् र आक्रोश पोखिरहेका छन् । यी सबैको पिडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ ।
नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्नेछ ।मुलुकलाई हरेक चुनौतीको घडिमा निकास र नेतृत्व दिएको दल हो नेपाली कांग्रेस । आज प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर छ ।
भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ ।भोलिको प्रदर्शनमा एकता, जांगर र नवीन उत्साह साथ सहभागी हुन म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसंगै समस्त लोकतन्त्रवादीमा फेरिपनि हार्दिक अपील गर्दछु ।
जय नेपाल ! शेरबहादुर देउवा, सभापति




