काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि परिषद् बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार परिषद् बैठक बोलाएका थिए । विभिन्न संवैधानिक अंगमा ५४ पद रिक्त छ । त्यसमा नियुक्तिकै लागि प्रधानमन्त्री ओलीले परिषद् बैठक बोलाएका थिए । तर, नेकपाको आन्तरिक किचलोका कारण नियुक्ति विवादमा पर्ने भएपछि कांग्रेस सभापति देउवाले आफू उपस्थित हुन नसक्ने ओलीलाई जानकारी गराएका हुन् ।
संवैधानिक आयोगहरूमा अहिले बढी सिट पाए पनि ओलीसँगको सहकार्यले नेकपाको विवाद प्रभावित हुने भन्दै देउवा बैठकमा नजाने निष्कर्ष निकालेको बुढानिलकण्ठ स्रोतले बतायो । देउवा अहिले प्रचण्ड र माधव नेपालसँग पनि संवादमा छन् ।
सोमबार नेपाली कांग्रेसले आयोजना गरेको देशव्यापी विरोध प्रदर्शन र विरोध सभामा सहभागी हुन देउवा मकवानपुरको हेटौंडा जाँदैछन् । सरकार विरुद्ध आन्दोलन घोषणा गरेको अवस्थामा प्रधानमन्त्रीले बोलाएको परिषदको बैठकमा सहभागी हुँदा नराम्रो सन्देश जाने भन्दै देउवा बैठकमा सहभागी नभएका हुन्।
राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोग, आदिवासी तथा जनजाति आयोग, मधेसी, थारू, मुस्लिम आयोगमा धेरै पद रिक्त छ ।




