काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव फिर्ता नभएसम्म स्थायी कमिटीको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएसँगै दुवै अध्यक्ष शक्ति सञ्चयतर्फ लागेका छन् ।
प्रधानमन्त्री ओलीलाई एकपछि अर्को धक्का लागिरहेका बेला बसेको स्थायी कमिटी बैठकमा प्रचण्डको प्रस्ताव र ओलीको जवाफी पत्रलाई छलफलको एजेण्डा बनाउने कि नबनाउने भन्ने बारेमा छलफल दुवै विषयको साटो पार्टीको आन्तरिक समस्याबारे भन्ने एजेण्डा बनेपछि सात दिनलाई बैठक स्थगित गरेर शक्ति संचय तर्फ लागेका हुन् ।
स्थायी कमिटीको बैठक सकिएपछिका चार दिन अध्यक्ष ओलीले आफू निकटका नेताहरुसँग वालुवाटारमा छलफल गरेका थिए । उनले आफू निकटका नेताहरुसँग भावी रणनीतिबारे छलफल गरेका थिए । प्रचण्डलगायतका नेताहरुले ओलीको कार्यशैलीको विषयमा १९ पाने प्रस्ताव नै स्थायी कमिटीमा छलफलका लागि लैजानु र अध्ययनका लागि भन्दै वितरण गरेपछि भावी रणनीतिबारे उनीहरुबीच छलफल भएको थियो । बालुवाटार निकट स्रोतका अनुसार सचिवालय सदस्यहरुबाटै यसलाई समाधान खोज्ने विषयमा छलफल भइरहेको छ ।
प्रचण्डले पनि आफू निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । उनले पूर्वएमालेका नेताहरु भन्दा पनि पूर्व माओवादीका नेताहरुसँग छलफल गरेका थिए ।
त्यसैगरी स्थायी कमिटीको बैठक अघि रामबहादुर थापा बादलले पूर्वमाओवादी समूहका चार नेतासँग छुट्टै छलफल गरेका थिए । लेखराज भट्ट, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापासँग भेटघाट गरी छलफल गरेका थिए । पार्टी विभाजन हुनुहुँदैन, यसमा हामीहरुले मध्यमार्गी भूमिकामा जानुपर्छ भन्दै थापाले उनीहरुसँग छलफल गरेको स्रोतको दावी छ । ‘विभाजन होइन एकता हो यसलाई सम्याएर सुल्झाएर लैजानुपर्छ,’ थापाको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । बैठककै क्रममा पार्टी विभाजन हुनुहुन्न भन्ने मत राखिरहेका थापाले स्थायी कमिटीमा मध्यमार्गी भूमिकामा देखिनसक्ने स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीलाई एकपछि अर्को धक्का लागिरहँदा भदौ २६ गते स्थायी कमिटी बैठकले दिएको म्याण्डेटलाई कार्यान्वयन गर्छु भन्ने अवस्थामा पुगेका छन् । तर सचिवालय बेठकले यसलाई पत्याउन आधार नभएको भन्दै स्थायी कमिटी बैठकमा छलफलको एजेण्डा बनाउनु पर्ने धारणा राखेको थियो । आइतबारबाट शुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव कुनैपनि हालतमा फिर्ता नहुने अडान दोहोर्याए । साथसाथै उनले कमिटीबाट विस्थापन गर्न सक्ने धारणा पनि राखेपछि भने उनी केही हदसम्म लचक भएका हुन कि भन्ने अनुमान लगाइएको छ ।
बैठकमा ओली उपस्थित नभएर पार्टीकै अपमान गरेको भन्दै दाहालले दुवै प्रस्तावलाई छलफलको एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए । तर बैठकले दुवै प्रस्तावबारे मौन बसेर मध्यमार्गी बाटो अपनाउदै पार्टीको आन्तरिक समस्याबारे भन्ने एजेण्डा तय गर्यो । सोही एजेण्डामा टेकेर स्थायी कमिटी सदस्यहरुलाई ओलीको ३८ पाने जवाफ र प्रचण्डको १९ पाने प्रस्ताव अध्ययनका लागि वितरण गरिएको थियो । त्यसलगत्तै केही नेताहरुले बहुमतले भन्दा पनि सहमतिको आधारमा पार्टी सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।




