समाचार

रामचन्द्र पौडेल भन्छन्, सरकारको कुशासनले प्रतिगामीले टाउको उठाउने मौका पाए

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको कुशासनले आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने अवस्था सिर्जना भएको र देशमा प्रतिगामीले टाउको ठड्याउने मौका पाएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको अकर्मण्यताका कारण नागरिकले ठूलो त्याग र संघर्ष पश्चात हासिल गरेको उपलब्धीहरुमाथि ग्रहण लाग्न थालेको हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ ।
७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पौडेलले वर्तमान सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको उल्लेख गरेका छन् ।

‘२०१७ सालमा नेपाली नागरिकको राजनीतिक स्वतन्त्रताको अपहरण पश्चात मानव अधिकार दिवस मनाउँदा समेत अनेकौ कठिनाइको सामना गर्नुपर्थ्यो । आज नेपालमा त्यो स्थिति नभएता पनि सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको छ,’ उनले भनेका छन्, ‘एकातिर झण्डै दुई तिहाइको नेकपाको सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्रद्वारा निर्दिष्ट नागरिकको राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी केही विधेयकहरु अघि सारेको छ त, अर्कोतिर नेकपाको कुशासनका कारण नागरिकका आर्थिक सामाजिक अधिकारहरु ओझेलमा पर्न थालेका छन् । एकातिर कुशासन र अव्यवस्थाका कारण नागरिकहरुमा आक्रोश बढ्न थालेको देखिन्छ अर्कोतिर इतिहासले विदा गरिसकेका असान्दर्भिक एवं प्रतिगामी मान्यता र चरित्रहरुले टाउको उठाउन थालेका छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *