समाचार

फेरि जोडियो ‘विवेकशील साझा’, बन्ला त वैकल्पिक राजनीतिक शक्ति ?

यस्ताे छ घाेषणा-पत्र


काठमाडौँ । अलग भएको झण्डै दुई वर्षपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोषसहित ‘विवेकशील साझा’ पार्टी फेरि एकपटक जोडिएको छ ।    

विसं २०७५ पुसमा असन्तुष्टि जनाउँदै साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएको थियो । आज एक समारोहका बीच दोस्रो पटक पार्टी एक भएको घोषणा गरिएको हो । एकीकृत पार्टीका नेताले हिजो जानेर-नजानेर अलग हुनु परेकोमा माफी मागेका छन् । नाम ‘विवेकशील साझा’ पार्टी राखिएको छ । अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे हुन। कार्यकारी अधिकार दुवैलाई रहने जनाइएको छ ।    

दुवै दलबाट केन्द्रीय समितिमा ६५-६५ गरी १३० र सचिवालयमा १३-१३ गरी २६ सदस्यीय रहने घोषणा कार्यक्रममा जानकारी दिइएको छ । केन्द्रीय समितिको पहिलो बैठकले सचिवालय सदस्य चयन गर्नेछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा रहनेछ । लोगो र चुनाव चिह्न तराजु राखिएको छ । दुई महिनाभित्र सबै संरचना निर्माण गर्ने र छ महिनाभित्र एकता महाधिवेशन गर्ने समारोहमा जारी एकता घोषणापत्रमा उल्लेख छ ।    

एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोहीअनुरुप काम कारवाही अघि बढाइने घोषणापत्रमा उल्लेख छ । दुवै पार्टीबाट तीन तीन जना रहने गरी संवाद समिति बनाइएको छ । त्यही समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुसार पार्टीको कामकारवाही अघि बढ्ने छ ।    

घोषणा समारोहमा एकीकृत पार्टीका अध्यक्ष मिश्रले वैकल्पिक शक्तिको रुपमा प्रगतिशील पार्टी बनाउन चाहेको बताए । उनले अप्ठेरो चुनौतीको बाटो तय गर्दा हामी एक पटक लडेको र त्यसबाट ठूलो समुदाय नै प्रभावित हुनु परेकोमा दुःख व्यक्त गरे । “केन्द्रीय नेतृत्वको प्रयास, दबाब समूहलगायत चाहनाका कारण फेरि पार्टी एक हुन सफल भयो, सबैको साथ रहेमा सकारात्मक प्रयास कायम राखी पार्टीलाई अटल बनाउँदै देशको नेतृत्व गर्ने पार्टी बन्नुपर्छ भन्ने हाम्रो चाहना छ”, अध्यक्ष मिश्रले भने । उनले गल्तीको नागरिकले क्षमा दिने विश्वास व्यक्त गरे।    

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिनमा एकीकरण घोषणा गर्नुको पछाडि भ्रष्टाचारमुक्त समाज, सुशासन र समृद्धिको चाहना जोडिएको अध्यक्ष मिश्रले जानकारी दिए । उनले सक्षम र इमान्दार व्यक्ति नेतृत्वमा नपुगेका कारण मुलुक भ्रष्टाचारबाट माथि उठ्न नसकेको जिकिर गर्दै गणतन्त्रको सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भने। उनले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको उल्लेख गरे।    



घोषणा समारोहमा संयोजक पाण्डेले आम नागरिकको एजेण्डा बोक्ने सच्चा लोकतान्त्रिक पार्टी बनाउने उद्घोष गरे। उनले पार्टी फुटेकोमा समेत माफी मागे । विवेकशील नेपाली दल र साझा पार्टी विसं २०७४ साउन ११ गते एकीकरण भएको थियो । आपसी असन्तुष्टिका कारण लामो समय नटिकी विसं २०७५ पुस २७ गते विभाजित भएको थियो । दुवै पार्टी गएको वैशाखदेखि नै एकताको प्रक्रियामा थिए ।  

  

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2020/12/विवेकशील-नेपाली-दल-र-साझा-पार्टीको-एकीकरण-घोषणापत्र-Signed-copy.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *