काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन । प्रधानमन्त्री ओलीले मंसिर २३ गते मंगलवार ११ वजे सर्वदलीय बैठक डाकेका हुन । सर्वदलीय बैठक बालुवाटारमा बस्ने तय भएकाे छ ।
पछिल्लो समय देशभर भइरहेको राजावादीको प्रदर्शनलाई लिएर सरकार गमभीर भएको छ । हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनासहितको माग लिएर काठमाडौं, चितवन, हेटौडा, वीरगन्ज, झापा, बुटवल, नेपालगन्ज, पोखरामा हजारौंको जुलुस निकालेपछि सरकार गम्भीर बनेको हो ।
आजका मितिसम्म पनि निर्वाध रूपमा गणतन्त्रको विरोध गर्दै राजतन्त्रको वकालत गरेर विरोध प्रदशर्न भइरहे पनि सरकारले बेवास्ता गर्दै आएको थियो । आइतबारको नेकपा स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले राजावादीको प्रदर्शनमा सरकारकै सहयोग रहेको आरोप लगाएका थिए ।
राजावादीहरूले अहिलेको आन्दोलन कास्टिङ मात्र भएको भन्दै सशक्त प्रदर्शनको चेतावनी दिएपछि प्रधानमन्त्री केपी ओली गम्भीर बनेका छन् । आफैंले जिताएका राजेन्द्र लिङ्देनले गणतन्त्र फाल्छौं भनेपछि ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने छ। यसअघि भारतले सीमा मिचेको र नयाँ नक्सा जारी गर्नुअघि पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।




