काठमाडौं । युरोपियन युनियन इयुले नेपालको हवाई क्षेत्रलाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै ईयूले कालोसूचीमा राखेको थियो । अब उसले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने संकेत गरेको छ ।
इयुले एक विज्ञप्ति जारी गरी नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको बताएको छ । उसले सुरक्षित हवाई उडानका लागि नेपाल सरकार र युनियनका सदस्य राष्ट्रहरूको संयुक्त प्रयासबाट सुधार भएको उल्लेख गरेको छ ।
‘नेपाल सरकारले पछिल्लो समय जुन प्रयास गरेको छ, ती प्रशंसनीय रहेको र हवाई सुरक्षाका चुनौतीसँग जुध्न संयन्त्र विकास गर्न सकारात्मक कदम चालेको छ,’ विज्ञप्तिमा भनिएको छ । इयुको कालोसूचीपछि नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध थियो । इयुका अनुसार पहिलो चरणमा ब्रसेल्समा हुने प्राविधिक बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेका पछिल्ला सुधारबारे छलफल हुनेछ ।




