आजभन्दा लगभग चार दकह अगाडि चेतनशील, जानेबुझेको समाजको अगुवाको रूपमा बालमस्तिष्कमा घु्सेको व्यक्तित्वको रूपमा नेपाली राजनीतिका निष्ठावान राजनीतिज्ञको रूपमा स्वर्गीय भीमबहादुर तामाङको सम्झना आउँछ । ११ वर्षको उमेरमा कक्षा ६ मा पढ्ने पंक्तिकारलाई उच्च माध्यमिक विद्यालयको विद्यार्थी संघको अध्यक्ष बनाई निरन्तर राजनीतिक यात्रामा सक्रिय बनाउने भूमिका पनि स्व.तामाङले खेल्नुभएको थियो । हाम्रो हजुरबुबाको पुस्ताको भएर पनि उहाँको समयमा कुनै न कुनै किसिमले चार पुस्तासम्म रह्यो । छिमेकी गाउँको तामाङ परिवारका सदस्य भीमबहादुरलाई हाम्रो हजुरबुबाको पुस्ताले ज्यादै सम्मान र् आदर गरेको मैलेन अनुभव गरेको छु ।
ब्राह्मण परिवारका कट्टर सदस्यहरूले स्व.तामाङलाई परिवारकै अभिन्न सदस्यको रूपमा व्यवहार गरेको गरेको र स्व.तामाङलाई पनि दोलखाको नेपाली कांग्रेसको संगठनको श्रीगणेशमा त्यही माटोलाई समातेको देखिन्छ । कांग्रेसको संगठनमा सीमित व्यक्तिहरूको संलग्नता थियो, जसमा हाम्रो परिवारको विशेष सहभागिता रहेको देखिन्छ । पञ्चायतका कठोर दिनहरूमा धेरैको सहयोग र साथ पाउने सम्भावना थिएन । बस्ने, खाने र संरक्षण दिने घरपरिवार वा व्यक्ति नै संगठनका सहयोगी ठहरिन्थे । त्यो समयमा हाम्रो परिवारसँगको सम्बन्ध ज्यादै सुमधुर, आत्मीय, सौहार्दपूर्ण र घनिष्ट रहेको थियो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात पनि तामाङसँगको सम्बन्ध यथावत् नै आत्मीय त रह्यो तर अगाडिको जस्तो पारिवारिक भएर र्हन जिम्मेवारी तथा सत्तासीन पार्टीका नेता भएका कारण हुन पाएन । निःसन्देह धेरै मानिसहरूको आकर्षण, सक्रियता र संलग्नता बढ्दै गयो । असजिलो अवस्थामा सीमित साथीहरूसँग कायम सम्बन्धले निरन्तरता पाउन नसक्नु अस्वाभाविक थिएन ।
व्यक्तिगत रूपमा मैले पछाडि फर्किएर हेर्दा देखिएको त्यो दृश्य आफ्नो ठाउँमा छँदैछ । त्यसको उचित विश्लेषण र समीक्षा यथासमयमा होला । आवश्यक पर्दा समग्र राजनीतिक अवस्थासमेतको मूल्यांकन, विश्लेषण र प्रभावसँग जोडेर यी सबै घटनाहरूको विवेचना गर्दै निष्कर्षहरू निकाल्न पनि सकिन्छ । यो केवल स्वर्गीय तामाङसँगको व्यक्तिगत वा पारिवारिक सम्बन्धको विषय मात्र होइन, समग्र शासन व्यवस्था र प्रवृत्तिको सन्दर्भ भएकाले यस्ता अनुभवहरू धेरैले लोकतान्त्रिक आन्दोलनका क्रममा गरेको हुनुपर्छ । परिवर्तनको लक्ष्य र उद्देश्यबाट विचलित हुने सन्दर्भमा कुनै पनि व्यक्तिले इतिहासमा निर्वाह गरेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । त्यसमा पनि भीमबहादुर तामाङ आफैंमा नेपाली राजनीतिको भिन्न ब्रान्डको रूपमा स्थापित र परिचित नाम हो । उहाँको राजनीतिक संस्कार, संस्कृति, व्यवहार, आदर्श र चरित्रलाई उहाँको निधन भएको आठ वर्षसम्म कुनै न कुनै किसिमले स्मरण गरिन्छ । उहाँ सम्बद्ध दलभित्र कम बहस होला, नजिकबाट चिन्ने र व्यवहार गर्ने हामीहरू जस्ता मानिसले कति न्याय गर्न सकेका छौं ? त्यो भिन्नै छलफलको विषय होला । तर अन्य दल र खास कालखण्डमा सहकार्य गर्न नपाएका व्यक्तिहरूले उहाँको उच्च सम्मान र मूल्यांकन गरेका छन् । पार्टीहरूले बनाएका दस्तावेजहरूमा नै तामाङको जीवनशैली, आचरण, व्यवहार, लोकतान्त्रिक मूल्य मान्यताप्रतिको निष्ठा र सरल जीवन समेटिएको पाइन्छ । आफूले लामो समय अभिभावकत्व प्राप्त गरेको व्यक्तिका बारेमा अन्य दल सम्बद्ध व्यक्तिहरूले व्यक्त गरेको विचार र बनाएको धारणाले निश्चित रूपमा खुसी बनाउँदो रहेछ ।
तामाङहरूको जाँगर, उत्साह, अठोट र त्यागले आएको लोकतन्त्र र बनेको पार्टी नेपाली कांग्रेसको प्रतिष्ठा र मूल्यमान्यता क्षयीकरण गर्ने नेतृत्वको अस्वस्थ प्रतिस्पर्धा मात्र चलिरहेको छ । यस्तो अस्वस्थ र भ्रष्ट राजनीतिको बिगबिगीले तामाङ र उहाँ जस्ता सयौं व्यक्तिहरूको त्याग, तपस्या र बलिदानको अपमान भएको छ ।
हाम्रो पारिवारिक र सामीप्यताको सन्दर्भ जोडेर अब घाटा वा फाइदाको आरोप लाग्ने अवस्थामा नभएकाले यी विषयहरू पनि उठान गर्न उचित लागेको हो । हामी तामाङबाटै प्रभावित भएर राजनीतिक क्षेत्रमा चासो राख्ने भएका छौं । समाजले हामीलाई हेर्ने दृष्टि यस्तै बनेको छ । खास समयमा नाफाघाटाको राजनीति पनि सन्तोषको अनुभूति हुन्छ । तामाङको निकटताका आधारमा राजनीतिक, आर्थिक अवसर प्राप्त गर्नेहरूले आफ्नो भूमिकालाई कस्तो बनाएका छन् ? त्यो पनि हेर्ने मौका मिलेको छ । लोकतन्त्र र नेपाली कांग्रेसको आजको अवस्था हेर्दा विगतमा भएका त्यस्तै कमीकमजोरीले यहाँसम्म ल्याएको देखाउँछ । कम्तीमा निकटताको ‘फाइदा’ लिनु नपरेको वा त्यसलाई ‘क्यास’ गर्ने चिन्तन र सोच बनाउनु नपरेकोमा सबैभन्दा सन्तोष लाग्छ । राजनीतिक मूल्य र मान्यता, चरित्र र आचरण छोडी केवल अवसर र पदका लागि जुनसुकै निर्णय लिने वा सिद्धान्त र आदर्श छोड्ने, त्याग्नेहरूले भीमबहादुरलाई सम्झन्छन्, सम्झँदैनन् ? त्यो भन्न सकिँदैन । राजनीतिक यात्रामा उतारचढाव आउनु स्वाभाविक नै भए पनि निश्चित कालखण्डमा अवसर प्राप्त गरेका व्यक्तिहरूले पनि तामाङलाई स्मरण गर्न आवश्यक ठान्दैनन । तर राष्ट्रिय राजनीतिमा जे जस्तो असर र प्रभाव भएको भए पनि व्यक्तिगत सम्बन्ध र सामीप्यताका कारण तामाङ परिवारको स्मृतिबाट कहिल्यै हराउँदैनन् ।
जीवनशैली अति सरल र सामान्य भएकाले र पकिाले र पछिल्लो कालखण्डमा नेपाली राजनीतिमा भित्रिएको विकृति एवं विसंगतिका प्रति खरो भएर उत्रिएका कारण तामाङ स्मरणीय नै छन् । आफैं चिया पकाएर खुवाउने, सार्वजनिक यातायात प्रयोग गर्ने, सामान्य दिनचर्यामा रमाउने, केटाकेटीसँग घुलमिल हुने र उनीहरूको मनोविज्ञान बुझ्ने, वनस्पति बोटविरुवाप्रति विशेष रुचि राख्ने, एक हातले अभिभादन नगर्ने र नफर्काउने आफ्नो निष्ठा, आदर्श र लक्ष्यप्रति इमान्दार हुने, निष्कलंक बस्न सक्ने, जातीय विषयलाई पहिचानसँग जोड्ने, तर द्वन्द्व नगर्ने सोच, विचार र चिन्तन तामाङका खास विशेषता हुन् । जेल, कारावास, प्रवासका दिनहरूलाई पनि सामान्य ठान्ने र निरन्तर लक्ष्य र उद्देश्यमा केन्द्रित हुने स्वभावले अन्ततः तामाङलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्यो । पछिल्ला दिनमा पार्टीभित्रको विकृति र असंगतिका विरुद्ध विद्रोह गरेर तामाङले आफ्नो स्थान उच्च बनाएका थिए । आन्दोलन, परिवर्तन र विचारको सम्प्रेषण गर्न सक्ने क्षमता र ज्ञान, बीपी कोइरालासँगको लामो सहकार्य र सहयात्राको अनुभवबाट प्राप्त भएकाले यसलाई सिद्धान्त, सूत्र, आचरण र कार्यक्रमकै रूपमा अगाडि बढाउनुपर्ने धारणा र दृष्टिकोण तामाङको थियो ।
सुविधाभोगी जीवन र महँगो शैली अवलम्बन गर्नेहरूले तामाङको सरलताबाट धेरै ज्ञान लिन सकिन्छ । मानिसको व्यक्तित्व सरलताबाट बन्दो रहेछ भन्ने जीवन्त उदाहरण हुन् भीमबहादुर । अनावश्यक तडकभडक, पैसा, शक्ति र गुण्डागर्दी स्थापित हुन खोज्ने र भएकाहरूलाई आज कसैले सम्झना गरेको देखिँदैन । अवसरका लागि शक्तिमा भएको समयमा चाकडी गर्नेहरू असान्दर्भिक भएका छन् । तर, तामाङ दिनप्रतिदिन सान्दर्भिक हुँदै जान्छन् । उनको जीवन र सरलता मानिसको रुचि र खोजको विषय बन्दै गएको छ । नेपाली राजनीतिले त्यस्ता व्यक्तित्वहरूप्रति कति न्याय गर्न सकेको छ ? त्यसको लेखाजोखा नभए पनि समाजले गर्ने न्याय र सम्मानमा तामाङ अग्रस्थानमा नै रहेका छन् । हामी जस्ता मानिस उहाँलाई सम्झन चाहन्छौं । स्मरणमा राख्न चाहन्छौं, सक्दा व्यवहारमा उतार्न पनि चाहन्छौं । यो नै भीमबहादुरले आफ्नो लामो राजनीतिक जीवनमा प्राप्त गरेको सम्मान र प्रतिष्ठा हो ।
तामाङको निधनले निष्ठा र आदर्शको राजनीतिमाथि ठूलो क्षति भएको महसुस भइको छ । दिनप्रतिदिन राजनीति विकृत, असफल र मूल्यहीन भएको टिप्पणी गर्न थालिएको छ । यस्तो समय तामाङ र तामाङ जस्ता निष्ठा र आदर्शका प्रतिमूर्तिहरू ज्यादा स्मरणमा आउँछन् । तामाङको स्मृतिमा विभिन्न कार्यक्रम गर्ने उद्देश्यले कांग्रेस मुख्यालयमा २०६९ को मंसिरमा नै बोलाइएको छलफल कार्यक्रममा बीपी कोइरालाका कान्छा सुपुत्र एवं कांग्रेस महामन्त्री डा.शशांक कोइरालासमक्ष नेपालको लोकतान्त्रिक आन्दोलनमा अथक योगदान पुर्याउने तामाङ र तामाङ जस्तै व्यक्ति र व्यक्तित्वहरूको बारेमा अध्ययन र अनुसन्धान गरी एउटा स्थायी प्रकृतिको अध्ययन केन्द्रको सुरुवात गरौं, त्यसको अगुवाइ डा. कोइरालाले गर्नुहोस् भन्ने मेरो प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको थियो ।
भीमबहादुरसँग निकट सम्बन्ध भएका र बाल्यकालदेखि अनवरत साथ र सहयोगमा रहेका कोइरालाले इमान्दारिताका साथ अध्ययन अनुसन्धानमा संलग्नता देखाउनु होला भन्ने अपेक्षा आठ वर्ष पूरा भई तामाङको नवौं स्मृति दिवससम्म आइपुग्दा जस्ताको तस्तै छ । त्यसमा कसैलाई जाँगर छैन । तामाङहरूको जाँगर, उत्साह, अठोट र त्यागले आएको लोकतन्त्र र बनेको पार्टी नेपाली कांग्रेसको प्रतिष्ठा र मूल्यमान्यता क्षयीकरण गर्ने नेतृत्वको अस्वस्थ प्रतिस्पर्धा मात्र चलिरहेको छ । यस्तो अस्वस्थ र भ्रष्ट राजनीतिको बिगबिगीले तामाङ र उहाँ जस्ता सयौं व्यक्तिहरूको त्याग, तपस्या र बलिदानको अपमान भएको छ । कांग्रेस पार्टी कमजोर प्रतिपक्षमा खुम्चिएको छ । कम्युनिस्टहरूले लोकतान्त्रिक मूल्य पद्धतिमाथि प्रहार गरिरहेका छन् । राजनीति धनवाद र डनवादनको कब्जामा गएको छ । अझ विकराल रूप लिने लक्षण देखिन्छ । जसको खिलापमा तामाङ थिए । नवौं स्मृति दिवसको सन्दर्भमा तामाङप्रति हार्दिक श्रद्धा व्यक्त गर्न चाहन्छु ।




