राजनीति

प्रचण्ड-माधवबीच खटपट !

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल लगायतका पूर्व एमाले समूहलाई चिटिङ गरेपछि माधव नेपाल र उनको समूह झस्किएको छ । कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन आफूखुशी प्रदेश कमिटी र अन्य कमिटीहरुमा पठाएपछि माधव नेपाल समूह झस्किएको हो ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर आफ्नो गुट सक्रिय पारेको आँकलनसहित कार्यकारी अध्यक्ष प्रचण्ड पक्षले पनि तल्ला तहसम्मको काउण्टर रणनीति तयार पार्न भन्दै आफ्नो प्रतिवेदन प्रदेश कमिटीमा पठाएपछि नेपाल समूहले आपत्ति जनाएको थियो । नेपाल समूहले आपत्ति जनाएपछि प्रचण्डले सच्याएर प्रतिवेदन पठाउने भनेपनि सोमबार बेलुकासम्म अर्को प्रति तल्लो तहसम्म पठाएका छैनन । ‘उहाँले हामीलाई नै चिटिङ गरेको देखियो त्यसकारण विश्वास गर्ने आधार कमजोर बन्दैगएको छ ’, नेपाल निकट स्रोतले भन्यो । स्रोतका अनुसार प्रचण्ले माधव नेपालको सहमति विना नै १० हजार प्रति बुकलेट छापेर प्रदेश कमिटीलाई पठाइसकेका थिए ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सोहि रणनीतिअनुरुप पार्टीको सबै प्रदेश तहमा पठाइएका थिए । सचिवालयका अन्य चार नेताहरुको समेत समर्थनमा प्रचण्डले पेस गरेको सो प्रतिवेदनलाई स्थानीय तहसम्म कार्यकर्तामाझ पुर्याउने गरी प्रदेशसम्म पठाइसकिएको जानकारी नेता नेपालले पाएपछि तुरुन्तै आपत्ति जनाएका थिए । पार्टीभित्र फुटकै झल्को दिनेगरी ओलीले आफ्नो सक्रियता बढाएपछि कार्यकर्तामा भ्रम नहोस् र राजनीतिक प्रस्तावमा के थियो भन्नेबारे पार्टी कमिटीबाटै जानकारी होस् भनेर सबै प्रदेशमा पठाइएको भएपनि आफूखुशी पार्टी विभाजनलाई बल पुग्ने गरी राजनीतिक प्रतिवेदन पठाएको भन्दै आपत्ति जनाएपछि प्रचण्डले सच्याउने प्रतिबद्धता जनाएका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको समर्थनमा प्रचण्डले १९ पेजको सो राजनीतिक प्रस्ताव सचिवालय बैठकमा कात्तिक २८ गते पेस गरेका थिए । पाँच भागमा रहेको सो प्रस्तावमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण नगरेको, सरकार सञ्चालनमा पार्टीलाई अवज्ञा गरेको, पार्टीमा गुटबन्दी गरेको लगायतका आरोप लगाइएको छ । प्रचण्डले सो प्रस्ताव सचिवालय बैठकमा पेस गरेपछि मंसिर ३ गते बसेको अर्काे बैठकमा ओलीले सो प्रस्तावमा आफूविरुद्ध आधारहीन आरोपहरु लगाएको हुँदा आफूले त्यसको जवाफस्वरुप काउन्टर प्रस्ताव ल्याउने बताएका थिए । त्यसका लागि उनलाई प्रतिवेदन लेख्न १० दिनको समय दिइएको छ । सो निर्णयअनुसार अध्यक्ष ओलीले आगामी १३ गतेको सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने तय भएको छ । तर, ओलीले भने मंसिर ४ गतेदेखि नै आफ्नो गुटको कार्यक्रम देशैभर अघि बढाएको भनी प्रचण्ड–नेपाल पक्षले प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावलाई सबै प्रदेशमा पठाएका हुन् ।

नेपाल पक्षले यो विषयलाई गम्भीर समीक्षाको विषय बनाएको छ । नेता नेपालले सोमबार नै आफू निकटका नेताहरुसँग छलफल गरी प्रचण्डले धोका दिन खोजेको जानकारी गराएका थिए । नेपालले सो जानकारी गराएपछि सो समूहले अन्य नेताहरुले यस्तो कार्य राम्रो नभएको भन्दै आपत्ति जनाएका थिए । ‘उहाँले त्यसरी पार्टी विभाजन नै हुनेगरी राजनीतिक प्रतिवेदन पठाउनु हुँदैनथ्यो ’, भन्ने निष्कर्ष निकालिएको स्रोतको दावी छ । खुमलटारबाट यस्तो अपेक्षा नगरिएको पनि नेता नेपालको भनाई थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *