राजनीति

प्रचण्ड टसमस नभएपछि बालुवाटारमा ओली पक्षीय भेला, पाँच नेता उच्च निगरानीमा

काठमाडौं । नेकपाभित्रको राजनीति निकै जटिल मोडमा पुगेको छ । बहुमत पक्षका सचिवालय सदस्यले बुधबार बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री केपी ओलीमा छटपटी बढेको छ ।
आफ्नो सहमति वेगर बोलाएको बैठकमा उपस्थित नहुने भन्दै अध्यक्षसमेत रहेका ओलीले मंगलबार पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा महासचिव विष्णु पौडेललाई विशेष दूत बनाएर पठाएका थिए । झन्डै एक घन्टा लामो कुराकानीमा प्रचण्डले बुधबारको बैठक नरोक्ने स्पष्ट अडान राखेपछि सोही सन्देश लिएर पौडेल बालुवाटार पुगेका छन् ।

महासचिव पौडेलको सन्देशलगत्तै बालुवाटारमा ओलीपक्षीय प्रभावशाली नेताहरूको बैठक सुरु भएको छ । जसमा प्रधानमन्त्री ओली, महासचिव पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेललगायत छन् । यदि बुधबारको बैठक राखेर बहुमत सचिवालय सदस्यले कठोर निर्णय लिएमा त्यसको सामना कसरी गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बुझिएको छ ।
आफूविरुद्ध प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘वार कि पार’ को अवस्थामा पुगेको ओलीले महसुस गरेका छन् । स्रोतका अनुसार नेकपा विभाजनको प्रयास गरिरहेको भन्दै ओलीले पाँचै नेताको पछाडि गुप्तचर खटाएको चर्चा नेकपाभित्र चल्न थालेको छ । त्यही भएर अहिले नेकपाका पाँच नेता बडो सतर्कता साथ आफ्ना रणनीति अघि बढाइरहेका छन् ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले समेत प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध लगाएको आरोप फिर्ता नहुने बरु बुधबार बोल्ड डिसिजन हुने भनेर संकेत गरिसकेका छन् ।
स्रोतका अनुसार ओलीलाई अनुशासनको कारबाही गरी प्रधानमन्त्रीबाट फिर्ता बोलाउनेसम्मको निर्णय हुने बजारमा चर्चा छ । यदि नेकपा सचिवालय बैठकले आफूलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाए पनि राजीनामा नदिने बरु अर्ली चुनाव घोषणा गर्ने मनस्थिति ओलीले बनाएको बुझिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले केही दिनअघिदेखि प्रचण्डलाई सँगै मिलेर जान नसकिने भए छुटौं, सचिवालय बैठक नरोक ठूलो एक्सन लिने भन्दै धम्क्याइरहेको नेकपा प्रवक्ता श्रेष्ठले सार्वजनिक गरिसकेका छन् ।
ओलीले यसबीचमा माधवकुमार नेपाल, वामदेव गौतमलगायतलाई आफ्नो पक्षमा उभिन आग्रह गरिसकेका छन् । त्यस्तै, सोमबार मध्यरातिसम्म आफूसँग निकट रहेका पूर्वमाओवादी नेताहरुसँग पनि ओलीले छलफल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *