वीरगञ्ज । नेपाली कांग्रेसका महासमिति सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को कोरोना संक्रमणबाट निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान कोरोनाका कारण निधन भएको हो ।
मण्डलको निधनमा पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले उहाँको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवका अनुसार शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल ल्याउने क्रममा आइतबार बिहान बाटोमै मृत्यु भएको हो । उनको वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । नेपाली कांग्रेस बाराले महासमिति सदस्य मण्डलको निधनप्रति दुःख व्यक्त गरेको छ ।




