ताजा समाचार

भारतीय सेना प्रमुखकाे भ्रमणसँगै नेपाली सेनालाई करोडौंको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने तयारी

काठमाडौं । भारतीय सेनाका सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल भ्रमणमा आउने तय भएपछि भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामाग्री हस्तान्तरण गर्ने भएको छ । भारतीय गूप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य रुपमा भएको नेपाल भ्रमणपछि नरभाने काठमाडौं भ्रमणमा आउनेक्रमसँगै सैन्य समाग्रीहरु हस्तान्तरण गर्ने तयारी भएको हो । उनको भ्रमणको तयारी दुवै देशका सेनाले तिव्र रुपमा गरिरहेका छन् । ‘भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाले ठुलो सैन्य सहयोग समेत हस्तान्तरण गर्ने तयारी छ’, सैनिक मूख्यालय स्रोतले भन्यो ।
सेनाअध्यक्ष नरभाने चार सदस्यीय भ्रमण दलका साथ काठमाडौं आउँदैछन् । उनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्नेछन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी यसअघि नै नेपाल भ्रमणमा आउने तयारी भएपनि नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि सरकारले उनको भ्रमण स्थगित गरेको थियो । त्यसपछि भारतले उनको भ्रमणको लागी निकै पहल गरेपनि मिति भने तय भएको थिएन् । तर, पछिल्लो दुवै देशका सरकार प्रमुखबीच संवाद भएसंगै भारतीय सेनाअध्यक्ष भ्रमणको तयारी अघि बढेको हो । नेपाली सेनालाई भारतीय सेनाले उनको भ्रमणको लागी पटक पटकको आग्रहपछि मिति तय भएको सैनिक स्रोतको दावी छ ।
भारतीय सेनाअध्यक्ष नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्न आउन लागेको भएपनि नेपाल भ्रमणको क्रममा उनले उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ । नरभानेले आफ्ना समकक्षी थापासँग एक्लै र द्धिपक्षीय वार्ता गर्ने तयारी समेत छ । भारतमा नै नेशनल डिफेन्स कोर्स गरेका सेनापति थापाले भारतीय सेनाको मानार्थ महारथीको पदवी गत वर्ष नै ग्रहण गरिसकेका छन् । तर, भारतिय सेनाअध्यक्षले भने सेनापति भएको एक वर्ष पुगिसक्दा समेत उक्त पदवी ग्रहण गर्न पाएका छैनन् । भारतीय सेनाका सेनाअध्यक्षको नेपाल भ्रमणपूर्व भारतले नेपाली सेनालाई केही सैनिक सामाग्री समेत हस्तान्तरण गरिसकेको छ । उनको भ्रमणको बेला समेत सेनालाई ठुलो मात्रामा भेण्टिलेटर र २ वटा अस्पतालको सामाग्री हस्तान्तरण गर्ने तयारी छ । दुवै देशका सेनाका अधिकारीहरु त्यसैको तयारीमा जुटेको सैनिक स्रोतले जानकारी दियो । ‘करिव ४०, ५० करोडसम्मको मेडिकल सामाग्री र सेनालाई आवश्यक पर्ने सवारी साधनलगायतका सामाग्री हस्तान्तरण गर्ने तयारीमा छौं । हामी त्यसको तयारीमा जुटेका छौं, सवै तयारी पुरा भयो भने सेनाअध्यक्षकै भ्रमणको बेला हस्तान्तरण हुन्छ’, स्रोतले भन्यो ।
भारतीय सेनाअध्यक्ष भ्रमणको क्रममा नेपाली सेनासंगको सैनिक सम्बन्धलाई मजबूत बनाउने, दुवै देशबीच हुंदै आएका संयुक्त सैनिक अभ्यासलाई अझै प्रभावकारी ढंगले अघि बढाउने र क्षेत्रीय र अन्र्तराष्ट्रिय सुरक्षा परिस्थितीको बारेमा समेत छलफल हुनेछ । उनले त्यसबारेमा कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्दै आफ्ना धारणाहरु समेत राख्ने कार्यक्रम तय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *