काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले कोरोना महामारी नियन्त्रण गर्न असफल सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट दाङ लैजाने प्रस्ताव गरेर जनता भड्काएको आरोप लगाएका छन् । नामाकरण र राजधानी सार्ने विषयमा ५ नम्बर प्रदेशसभामा छलफल चलिरहेका बेला नेता खाँणको यो भनाइ बाहिर आएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि तत्कालीन सरकारले प्रदेश ५ को राजधानी बुटवल तोकेकाले त्यसका लागि प्रदेशसभामा छलफल गरिरहनु आवश्यक नभएको नेता खाँणको भनाइ थियो ।
नेता खाँणले भने, ‘बुटवल हवाई यातायात र सडक सञ्जाल पनि राम्रो छ । सबै भू–भाग र जिल्लाबाट आउन सहज पनि छ । विदेश जानका लागि पनि हवाई, रेल र अन्य यातायातको सञ्जाल पनि जोडिएको छ । पोखरा जानुपर्यो भने पनि सडक यातायातको सञ्जालमै छ । अन्तर्राष्ट्रिय उडान पनि कोभिड– १९ को संकट नआएको भए सुचारू भइसक्थ्यो ।’
‘बुटवलमा प्रदेशको राजधानीका लागि ठूलो लगानी पनि भइसकेको छ, नेता खाँणले भने, मुख्यमन्त्री, मन्त्रीहरूको कार्यालय छ । विभागहरू बनिसकेको छ । बुटवलमै स्थायी राजधानी बनाउने हो भने राज्यको ढुकुटी थोरै खर्चमा पनि हुन सक्छ । नयाँ ठाउँमा सारियो भने राज्यको ठूलो ढुकुटी जान्छ ।’
सुरक्षाका हिसाबले, स्वास्थ्य व्यवस्थापन, उद्योग व्यवसाय सबै कारणले प्रदेश राजधानी बुटवल उपयुक्त हुन्छ भन्दै नेता खाँणले भने, मुख्यमन्त्रीको अहिलेको ध्यान त आफ्नो प्रदेशमा अकालमा कसैको मृत्यु नहोस् भन्नेमा जानुपर्ने थियो । नागरिकको जीवन रक्षा होस्, बेरोजगार नबनोस् भन्ने सोच्नुपर्नेमा राजधानी सारेर उहाँले ठूलो धनराशि, अर्बौं रुपैया नयाँ राजधानी बनाउन लगाउने हो भने त्यसको व्ययभार त जनतामाथि नै पार्दैछन् ।’




