राजनीतिक नेतृत्वको स्वभाव, चरित्र र निर्णयको मूल्यांकनका आधारमा मानिसहरु दलीय संरचना र यसले परिकल्पना गरेको शासन पद्धतिमाथि नै प्रश्नचिह्न उठाउन थालेका छन् । हरेक किसिमका नियुक्ति र निर्णयहरुमा एउटै व्यक्तिको छनोटि र प्राथमिकताले पनि जनतालाई निराश बनाएको छ । अमूक दलका अमूक व्यक्तिको योग्यता र क्षमताबाट मुलुक लाभान्वित भएको जानकारी जनताले पाएका छैनन् । फरकपन र परिवर्तनको अनभूति नपाउँदा नपाउदै एउटा पात्र र प्रकृतिको पुनरावृत्ति केका लागि आवश्यक हो ? भन्ने गम्भीर सवाल नेपाली राजनीति सामू खडा भएको छ ।
तीनदशकदेखि देखिएका अनुहारहरु सत्तरी, असी वर्षको आशक्त उमेरमा पार्नु पदाकांक्षी भइरहने रोगले समग्र राजनीतिक प्रणालीलाई नै कमजोर र बद्नाम गरी रहेको छ । जनअपेक्षा सम्बोधन नहुने तर तिनै व्यक्तिहरु राज्यको साधन र श्रोतमाथि ढलीमली गरिरहने क्रमले निरन्तरता पाइरहँदा जनआक्रोस बढ्नु अस्वभाविक होइन । राज्य र राज्यको स्रोत साधन खास खास व्यक्तिहरुको स्वार्थ पूरा गर्ने प्रवन्धका लागि मात्र हो त ? अन्य देशवासी कुनै हक अधिकार र जिम्मेवारी बहन गर्न नसक्ने केवल दास हुन् ? नागरिकलाई दासको व्यवहार गर्ने राजनीतिक नेतृत्व किन आवश्यक छ ? स्वीकार गर्नुपर्ने कारण देख्न छोडेका छन्, सार्वभौम सम्पन्न भनिएका नेपाली जनताले ।
लोकतान्त्रिक व्यवस्थामा जनताप्रति उत्तरदायी हुनुपर्ने सामान्य सिष्टता समेत देखाउन नसक्ने राजनीतिक नेतृत्वको शासन स्वीकार्य हुन सक्दैन । ठूला ठूला आश्वासन दिएर जीवनमा आहुति गर्न तयार बनाइएका व्यक्तिहरुमा आज चरम निराशको अवस्था छ । जनधनको व्यापक क्षतिपश्चात शान्तिको श्वास फेरेका नेपाली जनता राजनीतिक दलहरुको स्वार्थमोहबाट सिर्जित सत्ता राजनीतिको फोहोरी खेलबाट आक्रान्त बनेका छन् । सबै किसिमका असहमति र असन्तुष्टि केवल आफ्नो व्यक्तिगत र गुटगत स्वार्थ पूरा गर्न र भागवण्डाका लागि भएको देख्दा दलकै औचित्यमाथि प्रश्न गरिएको हो ।
लोकतान्त्रिक आन्दोलनको अग्रणी राजनीतिक दल नेपाली कांगे्रसप्रति जनताको सवाल पेचिलो बन्दै गएको छ । नेतृत्वपंक्तिमाथि प्रश्न तेर्सिएको छ कि त्याग, तपस्या, संघर्ष बलिदान, प्रवास केका लागि थियो ? सत्ताका लागि स्वार्थका लागि आलिसान महल र महँगो जीवनशैलीका लागि कि जनताको इच्छा, आकांक्षा र चाहना सम्बोधनका लागि ? न्यायपूर्ण लोकल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि स्थापित राजनीतिक दल कांगे्रस अहिले असान्दर्भिक भएको आभास हुन्छ । यो कसको कारण भएको हो ? जनताले पटक पटक विश्वास गरेको अनुहार र जवाफदेही हुन नसक्दा कमजोर प्रतिपक्षको रुपमा खुम्चिन परेको छ । नेतृत्वमा बसेर राज्यको श्रोत साधनमाथि एकलौटी गर्ने, आफूलाई मात्र योग्य ठान्ने, राज्य व्यवस्थाले धान्ने नसक्ने न्यायप्रणाली अवलम्बन गर्दै आचरण र चरित्र बदल्ने नेतृत्वको रबैयाले कांगे्रसलाई असान्दर्भिक बनाउँदै लगेको छ । तलदेखि माथिसम्म एउटै रोग देखिन्छ । आम मानिसको मन जित्ने आचरण र व्यवहार छैन । अराजनीतिक मानिसलाई राजनीतिमा स्थान दिएर इमान्दार र निष्ठावान व्यक्तिहरुलाई पाखा लगाउने जिम्मेवारी नदिने प्रवृत्ति फस्टाएको छ ।
पार्टीको साँख र मर्यादामाथि दाग लगाउने पात्रहरुको प्रवेश पार्टीभित्र निर्णायक र शक्तिशाली बन्दै गएको छ । निर्वाचन प्रणाली अति महँगो भएको छ । अवैध किसिमले पैसा बनाउन सक्नेले मात्र निर्वाचन लड्न सक्ने स्थिति बनेको छ । पार्टीको उम्मेदवार पाउन नै पैसा लेनदेन हुने, त्यस्तै व्यक्तिको खोजी गर्ने, निर्वाचनमा अधिक पैसा खर्च गराउने र चुनाव जित्ने पद्धति विकास भएको छ । प्रजातान्त्रिक चरित्र र आचरण भएका व्यक्तिहरु निर्वाचनसँग तर्सिन थालेका छन् । खर्च व्यवस्था गर्न नसक्ने भएकाले खर्च गर्न सक्ने, त्यो सामथ्र्य भएका व्यापारी, ठेकेदार र डनहरुको प्रभाव दलहरुमा विस्तार भएको छ । त्यो विस्तारले जनताको विश्वास टुट्दै गएको छ । राम्रो व्यवस्था पद्धति र परम्परा बन्दै जाने विश्वास गरेको आम मानिसले यस्तो स्वरुपको दलीय व्यवस्था दलाली व्यवस्थामा रुपान्तरित भएको अनुभूति गरेका छन् । नेतृत्व तहमा रहेका व्यक्तिहरु आफ्नो कायम रहेको पद र पोजिसन नघटोस भन्ने चाहन्छन् । त्यही मान्यता र मानसिकता बोकेका व्यक्तिहरुको छनोट गर्छन् र पार्टीभित्रको व्यवस्थापन त्यस्तै तत्वहरुबाट गराउँछन् । अलि इमान्दार सक्षम, योग्य, राय बझाउन सक्ने, थोरै भए पनि आदर्श र सिद्धान्तबाट अभिपे्ररित कार्यकर्ता सुरुबाट नै लखेटिन्छन र किनारा लगाइन्छ । स्वार्थमा आधारित संरचना बलियो बनाउन तलदेखि माथिसम्मकै संगठनात्मक अवस्था आफूअनुकूल बनाइन्छ । व्यक्तिप्रतिको धारणा स्वार्थपरक हुन्छ । आफूसँग सहमत हुँदा ठीक, असहमत हुँदा बेठीक देख्ने नजरियाबाट दलीय संरचना र नेतृत्व निर्देशित हुने गरेको छ ।
कांग्रेसमा देखिएको असहमति र असन्तुष्टि पनि नितान्त स्वार्थपे्ररित हो । पार्टी बनाउने, जनताको आस्था र विश्वास जित्ने, कमिकमजोरी सुधार गर्ने नभइ आफू कसरी नेतृत्वमा आउन सकिन्छ, अरुलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने स्वार्थ केन्द्रित रडाको मात्र हो । उमेर पुगेका वृद्धहरुले विश्राम किन नलिने ? वृद्धहरुलाई नै डोहो¥याउनु पर्ने आवश्यकता किन प¥यो ? तपाईंहरु संरक्षक भएर बस्नुस् भन्न किन नसक्ने ? तपाईंहरुको नेतृत्व क्षमता र योग्यताको परिक्षण पटक पटक भएको छ । त्यो परिक्षणमा तपाईहरुलाई उत्तिर्णांक पनि प्राप्त भएको छैन । राजनीतिक परिक्षामा अनुर्तिण भएको प्रमाणपत्र बोकेर वृद्धावस्थामा सहानुभूति पनि प्राप्त हुँदैन । सामान्य सहानुभूति पनि राख्न नसक्ने अवस्था सिर्जना किन गर्दै हुनुहुन्छ भन्ने प्रश्न गर्न नसक्ने हुतिहारा ‘युवा’ हरुले भोलिको नेतृत्व गर्छन् भन्ने विश्वास गर्न सकिन्छ ? किमार्थ सकिँदैन । ‘मलाई पनि तपाईंको टिममा समावेश गरेर लैजानुस् र जिताउने जिम्मा मेरो’ भन्ने युवाले जनअपेक्षा बमोजिमको राजनीतिक संस्कार र संस्कृतिको नेतृत्व गर्न सक्छ ? अस्वस्थ र वृद्ध राजनीतिकर्मीहरुको स्वार्थ पूरा गर्ने सारथीहरुले परिवर्तन र रुपान्तरणको गफ गर्नु व्यर्थ हो । त्यस्ताले तात्विक परिवर्तन ल्याउदैन । जुन जोगी आए पनि कानै चिरेको लोकोत्ति सार्थक बनाउँछ ।




