काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवलाय बैठक पूर्व माओवादीको कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । पेरिसडाडामा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । तत्कालीन माओवादीको पार्टी कार्यालय रहेको पेरिस डाँडामा ओली यसअघि थोरै समयको लागि एकपटक मात्र पुगेका छन् ।
पार्टी एकता भएपछि आफ्नै दलको कार्यालय बनेपछि भने ओली पहिलोपटक पाइला राख्न लागेका हुन् ।
यसलाई ओली दाहालको मन मिलेको हो कि माझिएको हो त्यो भने छुटयाउन गाह्रो छ । पार्टी एकताको घोषणासँगै दुवै अध्यक्षको कार्यकक्ष पेरिस डाँडामा पनि रहे पनि त्यसपछि औपचारिक बैठकहरू बस्न सकेको थिए । केही औपचारिक बैठक धुम्बाराहीमा बसे पनि पेरिस डाँडामा जनवर्गीय संगठनका कार्यक्रमहरु हुँदै आएका थिए । पार्टीका सबैजसो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको छ । बाँकी बैठक धुम्बाराहीस्थित कार्यालयमै बस्दै आएको छ । केन्द्रीय समिति बैठक भने राष्ट्रिय सभागृहमा भएको थियो । अब भने पार्टी कामको सबै निर्णय गर्ने
अधिकार प्रचण्डलाई दिइएपछि पहिलो पटक बालुवाटारबाहिर सचिवालयको बैठक बस्न लागेको हो ।
भदौ २६ गते बसेको स्थायी समिति बैठकले ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टी काममा केन्द्रित हुने निर्णय ९कार्यकारी अधिकार ० गरेको थियो । शुक्रबार बिहान ११ बजेको लागि तय भएको बैठक मन्त्रिमण्डल पुनर्गठनकै विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् । बुधबार अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलपछि नै बैठकको मिति र स्थान तय भएको थियो ।
प्रधानमन्त्री ओलीको फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि सचिवालयको बैठक बालुवाटारमै बस्दै आएको थियो । त्यसअघि केही बैठक बालुवाटारमा भएका थिए । ओली होटेल उद्घाटनको कार्यक्रममा पनि विभिन्न जिल्ला–जिल्ला पुग्छन् । होटेल मात्रै होइन महोत्सव, विद्यालय, मन्दिर, उद्घाटन र पुस्तक विमोचनसमेत ओलीले भ्याएका हुन्छन् । तर आफ्नै पार्टी कार्यालय पूर्व माओवादीको कार्यालयमा गएका थिएनन् ।
प्रदेश र सङ्घको चुनावमा तालमेल गरेर पार्टी एकताको अन्तिम चरणका पुगेको बेला २०७४ फागुन १ गते तत्कालीन माओवादीको युवा संगठन वाइसिएलले पेरिस डाँडामा जनयुद्ध मनायो । उक्त कार्यक्रममा ओली र पुष्पकमल दाहाल आउने भन्दै प्रचार गरियो । तर, कार्यक्रममा दाहालमा मात्रै उपस्थित भए, ओली आएनन् । तत्कालीन एमालेबाट वामदेव गौतम सहभागी भएका थिए । पार्टी एकतापछि नेकपाको पूर्व एमाले पक्षले जनयुद्ध शब्द खासै रुचाएका देखिँदैनन् ।
२०७५ फागुन १ गते पनि नेकपाको ब्यानरमा ‘सहिदहरूको सम्मान’ नाम दिएर आयोजना गरियो । सो कार्यक्रममा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहभागी हुने बताइएको थियो । तर अन्त्यमा ओली सहभागी भएनन्, दाहाल मात्रै सहभागी भए । तत्कालीन एमालेबाट हाल नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए । त्यसपछिका कार्यक्रममा समेत ओली गएका छैनन् । पार्टीभित्रै पूर्वमाओवादीको अस्तित्व स्वीकार नगर्ने अहङ्कारी भनेर आरोप लाग्दै आएका ओली पूर्वमाओवादीका गतिविधिमा सहभागी हुन रुचाउँदैनन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता भएको २८ महिना बितेको छ । अझै नेकपाको एकता प्रक्रिया टुंगिसकेको छैन। पार्टी एकता भएको वर्ष दिन बितिसक्दा पनि केन्द्रीय नेताहरुहरुको विचार मिल्न सकेको छैन ।




