काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५५ हजार नाघेको छ । आजसम्म ५५ हजार ३ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार ३ सय ९३ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना छन् भने ७ हजार २ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ८ सय ७९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमण हुने दर ७१।५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा छन् ।











