रुकुम । रुकुममा एक दर्जन बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पूर्वमाओवादी केन्द्रका केन्द्रीय सदस्य तेजेन्द्र खामसहित रुकुममा दर्जन नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोकाले अविर र माला लगाएर स्वागत गरेका थिए ।
पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरा निवासी खाम जिल्लामा नेकपाको प्रभावशाली नेता मानिन्छन् । तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरू जनताको पक्षमा भन्दा व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले पार्टी छाडेको खामले बताए ।
सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्ध लडेका नेताहरू अहिले भ्रष्ट्रचारमा सक्रिय भएकाले नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उनको भनाइ थियो ।
नेकपाका नेताहरुलाई देश र जनताको विकासप्रति चिन्ता नभएकाले सबै नेपाली कांग्रेसमा आवद्ध हुनुपर्ने उनको जोड थियो । देशमा भएका ठूला परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेकाले अब युवा बेरोजगारीको अन्त्य गरेर समृद्ध नेपाल बनाउनका लागि कांग्रेसले मात्रै सक्ने भएकाले सबै युवाहरुले सहयोग गर्नुपर्ने तेजेन्द्रको भनाइ छ ।
कांग्रेस जिल्ला सभापति रोकाले कांग्रेस जनताको पार्टी भएकाले सधैं आफूले हारेर भए पनि मुलुक र जनतालाई जिताउँदै आएको उनको दाबी छ । ‘स्थानीय तहको निर्वाचनमा युवाहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि गाउँमै रोजगारीको व्यवस्था गर्ने आवश्वास दिइयो,’ सभापति रोकाले भने, ‘तर तीनै तहमा सरकारको नेतृत्व गरेका नेकपाका नेताहरु भ्रष्टचार र आफन्तलाई संरक्षण गर्नेबाहेक अरु केही काम गर्न नसक्दा युवाहरु कांग्रेसमा प्रवेश गर्नेको तहर नै चलेको छ ।’
रुकुमबाट अनिशेष केसीको रिर्पोट ।




