ताजा समाचार

ललितपुरका सिडियोको चरम लापारवाही

काठमाडौं । ललितपुरमा आज (शुक्रबार) दिनभर कर्फ्यु लगाइएको छ । संभावित त झडप रोक्नका लागि जिल्ला सुरक्षा समितिले कर्फयु लगाउने निर्णय गरेको हो । बिहिबार मछिन्द्रनाथका रथ तान्ने क्रममा प्रहरी र स्थानीय झडप भएको थियो । प्रहरीले उच्छृखल गतिविधिमा संलग्न १० जनालाई पक्राउ गरेको छ । ललितपुरका एसएसपी टेक प्रसाद राईका अनुसार महानगरको चक्रपथभित्रका क्षेत्रमा बिहान ४ बजेदेखि राती १० बजेसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेपछि अहिले ललितपुरको शहर क्षेत्र सुनसान रहेको छ ।

विहिबार ललितपुरको जावलाखेलमा भएको घट्नाक्रमलाई हेर्ने हो भने स्थानीय प्रशासनको जिम्मेवारी लिएका ललितपुरका सिडियोले समयमै प्रहरी प्रशासन परिचालन गर्नु नसक्नु र प्रहरीले पनि झडपको आँकलन गर्न नसक्नु कमजोरी रहेको देखिन्छ । सिडियो नारायण प्रसाद भट्टले सरोकारवाल निकायसँग राम्रोसँग परामर्श नगरी रथ तान्न आउनेहरुको लागि अघोषित बाटो खुला गरिदिदा विहिबार झडप भएको थियो । उनले ३० जना मानिसहरु रथ तान्न जानु भन्नु र रथ तान्नका लागि करिब १ हजार मान्छे जम्मा हुनुलाई संयोगमात्र मानिदैन । त्यहाँ उनको कमजोरी रहेको देखिन्छ । महामारीकै छायामा गत जेठ ९ गते शुक्रबार ललितपुर महानगरपालिकामा बसेको बैठकले लकडाउनपछि उपयुक्त समयमा रथ बनाउने निर्णय गरेको थियो । असार १० बाट रथ बनाउन सुरु भएको थियो ।

यसपछि गुठी संस्थानले असार २४ गते बुधबार करुणामयको रथारोहण गर्ने निर्णय गर्यो तर फेरि स्थगित गर्नुपर्याे। अनि, अर्को साइत निकालियो, साउन १० गतेका दिन १२ः०५ देखि १२ः२५ सम्मको । सामान्य अवस्थामा वैशाख शुक्ल प्रतिपदामा करुणामयको रथारोहण गरी चतुर्थी तिथिमा जात्रा सुरु गरिन्छ । तर, यसपटक भने रथारोहण त भयो, रथजात्राको निर्णय भने हुन सकेन । यसका लागि केही दिनयता गुठी संस्थानमा पटकपटक बैठक डाकिएको थियो, तर पटकपटक ती बैठक स्थगित पनि गरिएका थिए। विहिबार बिहानै पनि ११ बजेका लागि बैठक डाकिएकोमा त्यो पनि स्थगन गरिएको थियो तर स्थानीयले रथ तान्न खोजेपछि भने आकस्मिक बैठक बोलाइएको थियो । यो विषयमा सिडियो कार्यालय जानकार हुँदा हुदै पनि संभावित झडपतर्फ उसको ध्यान किन गएन भन्ने प्रश्न उठेको छ । रथजात्रा विषयको यो अन्योल कायम रहँदा र ढिलो भइसक्दा पनि ठोस निर्णय पनि नहुँदा सिडियो कार्यालय कफ्यू लगाउने अवस्थामा पुग्यो ।

प्रशासनले जात्रा–संस्कृतिलाई सहजीकरण गर्नुपर्ने हुन्छ तर त्यसको मूल अभ्यासकर्ताहरूको भूमिका सर्वोपरि नै हो । ‘न्यु नर्मल’ अवस्थामा जात्रामात्रालाई परिस्थिति बमोजिम व्यवस्थित गर्न सबै अभ्यासकर्ता र प्रशासनबीच छलफलबाट सहमति आवश्यकता थियो । महामारी नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा लगाएको यस्तो अवस्थामा स्थानीय स्तरमै सावधानीबिना जात्रा गर्न खोज्नु चुनौतीपूर्ण नै हुन्छ । जात्रामात्रा जनहितार्थ गरिन्छ र यस्तो नौलो किसिमको महामारीका बेला जात्रा गर्दा जनहितलाई ध्यानमा राख्नैपर्छ । जबरजस्ती जात्रा चलाउने नाममा रीतिरिवाज पूरा नगरी, आवश्यक र जिम्मेवार संस्कृतिकर्मी अभ्यासकर्ता नबोलाइ, रथको सुरक्षालाई ध्यान नदिई रथजात्रा गर्नु भनेको अर्को सङ्कट निम्त्याउनु हो भन्ने कुरालाई नबुझी प्रशासनले रथ तान्न दिन खोज्नु र रथ तान्ने जानेहरुबीचको तालमेल मिलाउन नसक्नुनै जिल्ला प्रशासन कार्यालयको त्रुटि रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *