रिबन

हचुवाको भरमा निषेधाज्ञा: डा. महत

काठमाडौं । सरकारले हचुवाको भरमा निषेधाज्ञा र लकडाउन लगाएर सर्वसाधारणलाई दुःख दिएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ । कोभिड–१९ अनुगमन समितिका संयोजक तथा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर छैन । उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेका छन् ।’

तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ, निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन, विज्ञप्तिमा भनिएको छ, ‘कतिपय ठाउँहरुमा समुदायस्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।’

नेपाली कांग्रेसको तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षण सहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो । तर सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन ।

सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा नेपाली कांग्रेसले गर्दछ भन्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *