काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गरेका छन । सभापति देउवाले प्रेस बक्तव्यमार्फत गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका हुन ।
सभापति देउवाद्वारा जारी प्रेस बक्तव्यमा भनिएको छ विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक,सांस्कृतिक रीतिरिवाज र परम्परा छन् । जस मध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ । विशेष गरी सुदूरपश्चिममा मनाईने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको छ ।
देउवाले कोरोना भाइरसको महामारीका कारण देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहेकाले यतिबेला जनजीवन कष्टकर बनेको बताएका छन । उनले कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकुल समयमा यसको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रुपमै घर–परिवारमा सीमित रहेर गौरा पर्व मनाउन आग्रह गरेका छन ।
यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामनाका साथ सभापति देउवाले शुभकामना दिएका छन ।




