काठमाडौं । काठमाडौं काठमाडौंका १० वटा अस्पतालमा कोरोना संक्रमित राखेर उपचार गर्ने तयारी भैरहेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) ले उपत्यकाभित्रका केही अस्पतालका आइसोलेसन बेडको संख्यासहित सरकारलाई बुझाएपछि ती अस्पतालमा कोरोना संक्रमितहरुलाई राखेर उपचार गर्ने तयारी भैरहेको हो ।
ती अस्पताललाई थप व्यवस्थित गर्न र प्रयोग गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय र स्थानीय तहले गर्नुपर्ने डीसीएमसीले निर्णय गरेको छ। मनमोहन अस्पताल, नेसनल मेडिकल कलेज, जनमैत्री अस्पताललगायत १० वटा अस्पतालको शय्यासहित सिफारिस गरिएको छ । स्वास्थ्य सेवा विभागले निजी अस्पताल प्रयोगका लागि थप कार्य योजना तयार गरेको छ।सरकारलाई तत्कालै निर्णय गर्न आग्रह गरिएकोले आजै यसको निर्णय हुने बताइएको छ ।
क्वारेन्टिनका रुपमा रहेका केही सेन्टरलाई पनि आइसोलेसनका रुपमा विकास गर्न सिफारिस गरेको छ। यस्तै तालिम केन्द्रहरुलाई पनि आइसोलेसनको रुपमा प्रयोग गर्ने गरी तयार गर्न सिफारिस गरिएको छ। यी स्थान पहिलो चरणमा तयार गरेर बाँकी केही ठूला होटललाई पनि प्रयोग गर्न सकिने डीसीएमसीको सिफारिस छ। सरकारले आइतबार मात्रै ९ सय ५० वेड क्षमताको करन्टाइन निर्माण कार्य थालेको जनाएको छ ।




