नेपाली कांग्रेस पार्टी आफ्नो चौधौं महाधिवेशनको तयारीमा लागेको देखिन्छ । घोषित मितिमा महाधिवेशन हुने नहुने अन्यौल कायम नै छ । दलभित्रकै आन्तरिक व्यवस्थापन र शक्ति सन्तुलनका कारण संवैधानिक बाध्यताभित्र रहेर पनि छ महिना थप गर्न सकिने सुविधा प्रयोग हुनसक्ने एउटा अवस्था छ भने कोरोनाको फैलावट र प्रभावले कस्तो समय आउने हो भन्न नसकिने दोस्रो कारणले अन्योलमुक्त हुन सकेको देखिँदैन । यसबीचमा अन्य पार्टीहरुसँग भएको एकता वा क्लिपसमेतलाई आधार बनाएर समयावधि लम्ब्याउन खोजिएको आशंका गर्नेहरुको पनि कमी देखिँदैन । चाहे जे भए पनि नेपालको लोकतान्त्रिक आन्दोलन अग्रणी राजनीतिक दलले यो वा त्यो बहानामा आफ्नो नियमित महाधिवेशन अन्योलग्रस्त बनाउन उचित होइन । सबै नेता तथा कार्यकर्ताले महाधिवेशनका लागि अनुकूल वातावरण बनाउन लाग्नुपर्छ र घोषित मितिमा नै हुने विश्वास दिलाउन सक्नुपर्छ । आफूलाई नेपाली कांगे्रसको भावी नेतृत्वको रुपमा प्रस्तुत गर्ने व्यक्तिहरुले महाधिवेशनको सुनिश्चिताको सन्देश प्रवाह गर्न सक्नुपर्छ । जनता सरकारको मात्र होइन प्रतिपक्ष दल नेपाली कांगे्रससँग ज्याँदा असन्तुष्ट छन् भन्ने तथ्य कांगे्रसीहरुले बुझ्न अति जरुरी छ । लोकतान्त्रिक शासन व्यवस्थाको अग्रवाद र नेतृत्व गरेको दल, नेपाली कांगे्रसकै कारण सत्ता वामपन्थीहरुको हातमा गएको हो । जनतासँगको सम्बन्ध कमजोर भएकाले लोकतान्त्रिक प्रणालीको नेतृत्व गर्ने जिम्मेवारी र दाबीबाट कांगे्रस पार्टी विमुख हुन पुगेको सत्य र तथ्यको नजिक पुगेर जुन अपेक्षाप्रति इमान्दार हुने विश्वास जागृत नभएसम्म नेपाली कांगे्रसको ऐतिहासिक जिम्मेवारीमाथि प्रश्न चिह्न लागिरहन्छ ।
सात दशक लामो प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांगे्रसले निर्वाह गरेको भूमिकाप्रति जनताले गौरव नै गरेका छन् । त्याग, संघर्ष, बलिदानको इतिहासले कांगे्रसलाई जीवन्त बनाएको हो । परिवर्तनको प्रतिफल तलसम्म पुग्छ र राष्ट्रको परिचय बद्लिन्छ भन्ने सोच र चिन्तनले नै आम मानिसलाई लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिमा ल्याएको हो । यसमा नेपाली कांगे्रस पटक पटक चुकेको छ । जनताको विश्वास र अभिमतको दुरुपयोग भएको छ । जसले गर्दा सत्तामा कम्युनिष्ट प्रतिपक्षमा कांगे्रस रहनु पर्ने बाध्यतात्मक स्थिति आएको छ । यस बीचमा तमाम घटनाक्रमको अध्ययन, अनुसन्धान र विश्लेषण गर्दा आएको निष्कर्षलाई आधार बनाएर अग्रगमनका कार्यक्रमहरु निश्चित गर्न सक्नुपर्छ । जनताको विश्वास आर्जन गर्ने हो भने केवल नेतृत्वको परिवर्तनको मुद्दा मात्र महाधिवेशनको एजेन्डा बन्नु हुँदैन । समग्र परिस्थितिको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गर्दा मात्र जनताले विश्वास गर्ने वातावरण बन्नसक्छ । नेतृत्वका आकांक्षीहरुको महाधिवेशन लक्षित अभिव्यक्ति, गतिविधि र भूमिका हेर्दा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिँदैन । आफू हुनुपर्ने, आफू भएमा सबै कुरा ठीक हुने, साथ र सहयोग आपसेआप आउने जस्तो काल्पिनिक र भावनात्मक आग्रहले जनविश्वास आर्जन हुन सक्दैन । आत्मकेन्द्रित सोच र चिन्तनबाट कांगे्रस पार्टीलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बाटोमा फर्काउन सकिँदैन । जे जस्तो संस्कार र प्रचलन विकसित भएको छ, त्यसले रुपान्तरण सम्भव छैन । रुपान्तरित नभएसम्म जनविश्वास आर्जित हुने अवस्था छैन । यथाअवस्थामा जो भए पनि केही फरक हुने देखिँदैन । समयमा महाधिवेशन हुनुको अर्थ यसले नयाँ सञ्जीवनी प्राप्त गर्नु पनि हो । त्यस्तो सञ्जीवनी विचार, आदर्श र निष्ठाबाट निसृत हुनसक्छ । तर त्यसतर्फको सोच र मन्तन नेतृत्वका आकांक्षीहरुबाट प्रारम्भ भएको छैन ।
तलदेखि माथिसम्म नै सुधार र रुपान्तरण आवश्यक छ । व्यक्ति छनोटमा नै अन्तविरोध छ । सहमत हुँदा सबै ठीक नहुँदा बेठीक भन्ने मान्यताबाट नेतृत्व ग्रसित छ । पार्टीमा कुनै भूमिका र योगदान नभएको व्यक्तिले इतिहास बनाएको निष्ठावान व्यक्तिलाई ठाडै चुनौति दिन्छ । त्यस्तो प्रवृत्तिलाई तेरो र मेरो गुटका आधारमा प्रश्रय दिने काम गरिन्छ । इमान्दार भन्दा पैसावाल र निष्ठावान भन्दा बलिष्ठ व्यक्ति नेतृत्वको रोजाइमा पर्ने गर्दछन् । त्यो अवस्थामा कांगे्रस पार्टीको इतिहास, लक्ष्य, उद्देश्य र गन्तव्य कहिकतै देख्न पाइँदैन । जब आदर्श समाप्त भएर मात्र स्वार्थ हाबी हुन्छ, त्यतिबेला वास्तविक कांगे्रसीहरुले कांगे्रसको अर्थ र आवश्यकता देख्दैनन । नामको कांगे्रस पार्टी आदर्श विपरितका प्रतिविधिमा रुमलिएको ठान्छन र अपनत्व महसुस गर्दैनन् । सर्वोच्च नेता गणेशमान सिंह र संस्थापक नेता कृष्णप्रसाद भट्टराईले कांगे्रस पार्टी परित्याग गरेको घोषणा आवेगमा, उत्तेजनामा, सनकमा वा बेहोसीमा गरेका थिए ? उहाँहरुको त्यस्तो अप्रिय, असाधारण र पीडादायी निर्णयका बारेमा नेपाली कांगे्रस पार्टी कहिल्यै गम्भीर र सम्वेदनशील बन्यो ? यस्ता प्रत्यके घटनाको निर्मम समीक्षा नगरी नेपाली कांगे्रसले आफ्नो गन्तव्य पहिल्याउन सक्दैन । कहाँ, कहाँ पार्टी नेतृत्व चुक्यो, नेताहरु चुके ? नेताहरुको आचरण, व्यवहार, चरित्र र कार्यशैली कस्तो रह्यो ? दुःख पाएका पुराना व्यक्तिहरुका बरेमा कस्तो नीति र दृष्टिकोण रह्यो ? कस्ता कस्ता मानिसले अवसर पाए ? पार्टीमा कस्ता व्यक्तिहरुको हालिमुहाली चलेको छ ? पार्टीको टिकट बेच्ने र किन्ने, पैसावाला र पाखुरावालाहरु निर्णायक भएको र सबैले त्यसलाई स्वीकार गरेको यथार्थता कहिकतै छुपेको छ र ? कस्ता मान्छेको खोजी भइरहेको छ भन्ने नदेखिएको हो र ? वडा तहदेखि पार्टी कब्जा गर्न पैसा दिएर पठाउने प्रवृत्तिले नेपाली कांगे्रसको भूमिका आवश्यकता र दायित्व पूरा गर्न गराउन सक्छ ? दास बन्न बनाउन खोज्ने प्रवृत्ति स्थापित रहेको अवस्थालाई चिर्न नसक्दासम्म नेपालको लोकतान्त्रिक समुदायले नेपाली कांगे्रससँग राखेको आश पूरा हुन सक्दैन ।
कांगे्रस अयोग्ता र असक्षमताको कारण सत्तामा गएको कम्युनिष्टहरुको अलोकतान्त्रिक, अनियमित एवम् भ्रष्टाचारजन्य कार्य र गतिविधिले कांगे्रस पार्टीको आवश्यकता महसुस नभएको होइन । लोकतान्त्रिक हक र अधिकारको पक्षमा लामो समय जति संघर्ष गरेको दलले आफूलाई रुपान्तरण गरेको खण्डमा पुनः मौका पाउने सम्भावना छ । त्यसका निम्ति विश्वासिलो नेतृत्व आवश्यक देखिन्छ । नेतृत्वले तल्लो तहदेखि माथिसम्म सुधार र रुपान्तरणको खाका प्रस्तुत गर्न सक्नु अनिवार्य छ । जसरी पनि पार्टीको नेतृत्वमा जाने मानसिकताले मात्र भत्किएको सम्बन्ध स्थापित हुने अवस्था छैन । राजनीतिबाटै आफ्नो भविष्य देखेका युवाहरु समेत आ–आफ्नो स्वार्थ अनकूलको गुट आबद्ध भएर पदमा पुग्ने मात्र ध्याउन्नमा देखिन्छन् । कार्यकर्ताहरुलाई प्रशिक्षित गरी जनजीवन दिन नसक्दा आकर्षणभन्दा विकर्षण बढ्ने देखिन्छ । यस्तो स्थितिले जेनतेन यो महाधिवेशनसम्म धानिहाल्यो भने पनि त्यसपश्चात धेरै कांगे्रसीहरुले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पद अगाल्न सक्छन् । घटनाक्रम हेर्दा पार्टी गैरकांगे्रसहरुले कब्जा गर्ने, कांगे्रसीहरु पाखा लाग्ने सम्भावना प्रवल देखिन्छ । आचरण, व्यवहार, संस्कार र आदर्श कांगे्रसको पहिचान हो । उल्लेखित तत्वहरुको अभावमा नेपाली कांगे्रस आत्मा नभएको जडवस्तु हुन्छ । सवाल कस्तो पार्टी बनाउने भन्ने हो, कसलाई नेतृत्वमा स्थापित गर्ने भन्ने होइन । अमूक व्यक्तिलाई कांगे्रसको सभापति बनाउन, कायम राख्न वा पदोन्नति गर्नका लागि मात्र गरिने महाधिवेशनले आम लोकतान्त्रिकवादीहरुलाई उत्साहित गर्ने छैन । जे आशा राखिएको छ, त्यसप्रति इमान्दार र गम्भीर भएर महाधिवेशनका गतिविधि अगाडि बढाउन अति आवश्यक छ ।
लामो संघर्ष, त्याग, जेलनेल बिताएका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गम्भीर आत्मसमीक्षा गरी नेपाली कांगे्रसलाई समय सान्दर्भिक बनाउन चाहनु भयो भने चौधौं महाधिवेशन एउटा अवसरको रुपमा अगाडि आएको छ । व्यक्तिगत चाहना, स्वार्थ, दबाबभन्दा माथि उठेर देश, लोकतन्त्र र नेपाली कांगे्रसप्रति इमान्दारिता देखाउने समय प्राप्त भएको छ । कोइराला परिवारका सदस्यहरुले हिजो कठिन दिनमा जे जसरी भूमिका निर्वाह गरेका थिए, त्यसलाई बरकरार राख्दै जननेता बीपी कोइरालाको आदर्श र विचारलाई उच्च स्थानमा पु¥याउन अझ बढी त्याग देखाउने अवसर हुनसक्छ यो महाधिवेशन । गणेशमान सिंह, महेन्द्रनारायण निधिलगायतका नेताहरुको निष्ठा र आदर्शलाई पुनरावृत्त गराउने अभियानका रुपमा सुदृढिकरणका लागि क्रियाशीलता प्रदर्शन गर्ने मौका आएको छ भन्ने बुझ्न सक्दा परिवारका सदस्यहरुले थप योगदान गरेको ठहर्नेछ । एक पटक व्यक्तिगत स्वार्थभन्दा पार्टीको साख फर्काउने अभियानको लागि सामूहिक प्रयत्न गरौं भन्ने भावना आम कांगे्रसजनमा आउन सक्यो भने त्यसले इतिहास बनाउने छ । जनताको निरासा, आक्रोस र असन्तुष्टिलाई सम्बोधन गरी विश्वासको वातावरण बनाउने छ । आ–आफ्ना स्वार्थ, उमेर र चाहना परिपूर्ति गर्ने माध्यमको रुपमा महाधिवेशनको उपयोग गरियो भने नेपाली कांगे्रसको सान्दर्भिकता आउने दिनमा घट्न पनि सक्छ । धेरैले कांगे्रसप्रतिको आफ्नो आबद्धता समाप्त भएको स्वेच्छिक घोषण गर्न सक्छन् । यतिबेला नेतृत्वमा देउवा, पौडेल, कोइराला, निधि, सिंह, खड्का, कार्की जोजो भए पनि कांगे्रसको विचार, आदर्श, सिद्धान्त र संस्कार तथा चरित्र रहने छैन । इतिहासको अन्त्य हुनेछ ।




