नेपाली काँग्रेसको राष्ट्रिय राजनीति र खासगरी संखुवासभासँग जोडेर हेर्दा गोपालराज पहाडीको योगदानको उच्च मूल्यांकन हुन्छ । उहाँलाई संखुवासभाको एक मात्र राजनेता भन्दा कुनै अत्युक्ति नहुने मेरो ठहर छ । उहाँ जस्तो कर्तव्यनिष्ठ, केन्द्रीय नेताहरूसँगको नजिकको सम्बन्ध र जिल्लाको बारेमा सदैव सकारात्मक सोच राख्ने मानिस कमै मात्र भेटिन्छन् भन्ने मलाई लाग्छ । पहाडी दाइले संखुवासभा काँग्रेसको संस्थापक सभापति भएर लामो समय नेतृत्व गर्नुभयो । जीवनभर अविवाहित उहाँ राजनीतिक यात्राका अनवरत यात्री हुनुहुन्थ्यो । उहाँले जीवनभर राजनीति बाहेक केही पनि सोच्नु भएन । संखुवासभामा काँग्रेसलाई बलियो बनाउन उहाँको ठूलो भूमिका र योगदान छ । जसको वर्णन जति नै गरे पनि कम नै हुन्छ ।
२०३६ सालमा म वाना माविमा अध्ययनरत थिएँ । सोही समयमा उहाँसँग मेरो पहिलो भेट भएको हो । बहुदल र निर्दल के रोज्ने भनेर भएको चुनावमा मलाई उहाँले बहुदलको पक्षमा माहोल बनाउन मेरो घर सेदुवा केन्द्रमा पठाउनुभयो । म सेदुवामा बहुदलको पक्षमा उल्लेख्य मत खसाउन सफल समेत भएँ । जसका कारण गोपाल दाइ र म बीचको सम्बन्ध प्रगाढ बन्यो । २०४३ सालमा काँग्रेसले पञ्चायतसँग सहकार्य गर्दै चुनाव लड्ने र भित्रभित्रै बहुदलको पक्षमा माहोल बनाउने निर्णय गर्यो । जसका कारण म तत्कालीन मकालु गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनाव लडेँ । म राजनीतिलाई नजिकबाट बुझ्न सक्ने त भइसकेको थिइनँ तर प्रधानपञ्चमा अत्यधिक मतले विजयी भएँ । तत्कालीन मनकामना गाउँ पञ्चायत (सदरमुकाम क्षेत्र)मा शिवकुमार गौली प्रधानपञ्च हुनुभएको थियो । हामी दिनभर प्रधानपञ्चका रूपमा काम गथ्र्यौँ तर रातभरि बहुदलको पक्षमा माहोल बनाउन काम पनि सँगसँगै गथ्र्यौँ । संखुवासभामा लीलानाथ दाहाल पद्मनाथ रेग्मी, गोपाल पहाडी र शिवकुमार गौली लगायत काँग्रेसको अगुवा तथा अभिभावक हुनुहुन्थ्यो ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्वहाली भएपछि उहाँ संखुवासभा निर्वाचन क्षेत्र नंं. २ बाट पटक–पटक संसदको उम्मेद्वार रहनु भयो तर दुर्भाग्य हामीले जिताएर पठाउन सकेनौँ । ०४९ को स्थानीय निर्वाचनताका मलाई संखुवासभा २ नम्बर इलाकाबाट जिल्ला विकास समिति सदस्यमा मनोनयन गरिएको थियो । जिविसमा बहुमतको आधारबाट काँग्रेसले नेतृत्व गरेको थियो । सभापति शिवकुमार गौली थिए । जिल्लामा काँग्रेसको संस्थापक सभापति गोपालराज पहाडी हुनुहुन्थ्यो भने शिवकुमार गौली र त्यसपछि म सभापति भएँ । गोपाल दाइले उहाँ सभापति रहनुहुँदा मलाई सचिव बनाउनुभएको थियो । मैले काँग्रेसलाई जिल्लामा सभापतिको हैसियतमा चार पटक नेतृत्व गरेँ । यसमा परोक्ष–अप्रत्यक्ष रूपमा गोपाल दाइको अत्यन्तै ठूलो भूमिका थियो ।
एकपटकको अधिवेशनमा मैले सभापति नबन्ने विचार राखेको थिएँ । तर कोही पनि मान्नुभएन । नेपाली काँग्रेसका तत्कालीन केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालासँग सल्लाह गरेर मलाई जिल्ला सभापति बनाइएको थियो । गोपाल दाइले प्रस्तावक र वंशी रेग्मीले समर्थक भएर मलाई निर्विरोध सभापति बनाउनु भएको थियो । जसरी पनि तारामान नै पार्टी सभापति हुनुपर्छ भनेपछि म मान्न बाध्य भएँ ।
२०६२-६३को जनआन्दोलनमा हामीलाई गोपाल दाइले नै नेतृत्व गरिरहनुभएको थियो । पार्टीको निर्देशन बमोजिम नै हामीले तत्कालीन ज्ञानेन्द्र सरकारले गराएको खाँदबारी नगरपालिकाको नगर निर्वाचन बहिष्कार पनि गरेका थियौँ । आन्दोलनमा दुवै मुख्य दल काँग्रेस र एमाले सहभागी थिए । गोपाल दाइ, मलगायत काँग्रेस नेताहरू बिना पौडेल, उषा कार्की, महेश थपलिया, कुमारबाबु अधिकारी, शेरबहादुर वन, दीपन कुमार श्रेष्ठ, एमालेका सचिव डेडराज खड्का, तुलसी न्यौपानेलगायतलाई प्रहरीले हिरासतमा लिएको थियो । प्रमुख जिल्ला अधिकारीले ९० दिनको थुनुवा पुर्जी आदेश दिएको थियो । प्रहरी हिरासतमा मात्र नअटेर प्रहरीले हिरासतमा लिएकाहरूलाई पशु कार्यालयमा समेत राखेको थियो । जेलभित्रैबाट विभिन्न खालका रणनीति बनाएर बाहिर खबर पठाउँथ्यौँ । हिरासतमा उहाँ हामी सबैलाई अनुशासित भएर बस्न निर्देशन दिनुहुन्थ्यो । हामीले हिरासतमै कालोपट्टी बाँधेर आन्दोलनसमेत गरेका थियौँ । हामी अनुशासित भएर उहाँका आदेश पालना गथ्र्यौँ । पार्टी निकटका वकिलहरूले धनकुटास्थित पुनरावेदन अदालतमा बिनाकारण संखुवासभाका नेताहरूलाई सरकारले जेल हालेको भन्दै फिराद दर्ता गराए । पुनरावेदन अदालतले सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्यो । अन्ततः हामी छुट्यौँ । हजारौँ जनताले हामीलाई बाजागाजा र नारासहित अबिरजात्रा गरेर बाहिर ल्याए । खाँदबारी बजार परिक्रमापछि भएको कोणसभालाई गोपाल दाइले प्रभावशाली भाषण गर्दै सम्बोधन गर्नुभएको अझै पनि झल्झली छ । गोपाल दाइ काठमाडौँमा पनि जेल पर्नुभयो । कहिले थापाथली त कहिले स्वयम्भु हलचोकस्थित सशस्त्र प्रहरीको कार्यालय अनि कहिले महाराजगन्जमा प्रहरी हिरासतमा राख्ने गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्ने बेला नेताहरूलाई समातेर जेल हाल्न थालेको थियो । गोपाल दाइले मलाई जिल्लाको पार्टी सभापति भएकाले खाँदबारी बाहिर बसेर पार्टी सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मलाई त्यसरी निर्देशन दिनुभएको भोलिपल्ट बिहानै उहाँलाई मैतीदेवीस्थित निवासबाटै प्रहरीले समातेर लगेछन् । केही दिन हलचोकमा राखेपछि नुवाकोटको ककनी लगेछ । कहाँ लग्यो भन्ने हामीले पत्तै पाउन सकेका थिएनौँ । निकै दिनपछि उहाँलाई एयरपोर्ट छेउमा ल्याएर राखिएछ । उहाँले एक जना प्रहरी भाइलाई नै तारामानलाई ‘म यहाँ छु’ भनेर खबर पु¥याइदिन भन्नुभएछ । खबर पाएपछि सुरक्षाका कारण सीमित मान्छेलाई खबर गरेर म भेट्न गएँ । भेटमा उहाँले आफ्नो व्यक्तिगत कुरा केही पनि गर्नुभएन । उहाँमा एउटै मात्र चिन्ता थियो, पार्टी । निकै लामो समयपछि उहाँ जेलमुक्त हुनुभयो । आन्दोलन चर्किंदै गयो । राजदरबार घेराऊ गर्ने पार्टीको निर्देशन थियो । रिंगरोडबाट घेराउ गर्ने कार्यक्रम थियो । त्योभन्दा दुई दिन अगाडि नै चक्रपथ गोंगबु पुगेर बसेँ । रिंगरोड घेराउ बालाजुबाट सुरु गर्ने कार्यक्रम थियो । हामी उहाँकै नेतृत्वमा आन्दोलनमा उत्रिएका थियौँ ।
राजाको शासन ढलेपछि बनेको मन्त्रिपरिषद्मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गोपाल दाइलाई मन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो । तर उहाँले स्वीकार्नु भएन ।
०६४ सालमा गोपाल दाइले मलाई चुनाव लड्ने कि नलड्ने भनेर सोध्नु भयो । सुरुमा मैले क्षेत्र नं. १ बाट र उहाँले २ नम्बरबाट उम्मेदवारी दिने सल्लाह भएको थियो । तर परिणाम हाम्रो पक्षमा आउने सम्भावना कम भएकाले मैले चुनाव नलड्ने बताएँ । उहाँले मेरो नाम समानुपातिकमा दिनुभएछ । एकदिन गिरिजाबाबुले मलाई डाकेर समानुपातिकमा बस्ने हो भनेर सोध्नुभयो । मैले ‘हजुरको जो इच्छा’ भनेँ । त्यसपछि उहाँले भन्नुभयो, ‘त्यसो भए अर्को चुनावमा उम्मेदवार बन्नू, अहिले संगठन विस्तार गर्नू’ भन्नुभयो । गोपाल दाइ पनि सँगै हुनुहुन्थ्यो । लगत्तै गिरिजाबाबुले गोपाल दाइलाई समानुपातिकमा बस्न आग्रह गर्नुभयो तर उहाँले मान्नुभएन । एउटा सोच बोकेर हिँडेपछि जस्तोसुकै परिस्थितिमा पनि आफ्नो विचार र अडानबाट पछाडि नहट्ने स्वभाव उहाँमा थियो ।
गोपाल दाइ धेरै नै बिरामी हुनुभएको थियो । सिनामंगलस्थित केएमसी अस्पतालमा राखिएको थियो । म जिल्लामै थिएँ । म काठमाडौँ आएँ र भेट्न अस्पताल पुगेँ । मलाई देख्ने बित्तिकै उहाँले आँखाभरि आँशु पारेर ‘सभापति आइपुग्यो अब म बाँचेँ’ भन्नुभयो । म पनि पार्टीको संगठनमा लागेको मान्छे पैसाको अभाव नै थियो । म सिधै सानेपास्थीत पार्टी कार्यालय गएँ । पार्टी कार्यालयमा तत्कालिन उपसभापति रामचन्द्र पौडेललाई भेटेँ । गोपाल दाइको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी गराएँ । तत्काल ५० हजार रुपैयाँ व्यवस्था गरिदिन आग्रह गरेँ । उहाँले पार्टीका तत्कालिन मुख्य सचिव चिनकाजी श्रेष्ठलाई ५० हजार रुपैयाँ व्यवस्था मिलाइदिनु भन्नुभयो । चिनकाजी श्रेष्ठले मलाई ५० हजार रुपैयाँ दिन खोज्नुभयो । तर मलाई हैन तपाईं आफैँ गएर दिनुभए राम्रो हुन्छ भन्ने सल्लाह दिएँ । चीनकाजी श्रेष्ठले अस्पतालमै पुगेर पैसा दिनुभयो । त्यसपछि थप उपचारका लागि दिल्ली लैजाने कुरा भयो । हामी सबै दिल्ली गयौँ । एपोलो अस्पतालमा राखेर उपचार सुरु गरियो तर त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपाल नै फिर्ता गर्ने भन्नेमा पुग्यौँ । मैले दिल्लीबाट सुशील दाहाल र बिना पौडेललाई फोन गरेँ । हामी प्लेनबाट आउँदा एयरपोर्टमै एम्बुलेन्स तयारी अवस्थामा थियो । वीर अस्पतालमा राख्ने कुरा भइसकेको रहेछ । भोलिपल्ट बिहानै सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडललगायत शीर्ष नेताहरू अस्पतालमै भेट्न पुग्नुभयो । उहाँले बेडबाटै मतर्फ इंगित गर्दै भन्नुभयो, ‘यो तारामानले धेरै दुःख पायो । अब तपाईंहरूले माया गरिदिनु पर्यो ।’
जिल्ला छाडेको धेरै दिन भएको थियो । त्यसैले त्यसको भोलिपल्टै म खाँदबारी आएँ । म जिल्ला आएको केही दिनपछि २०६९ भदौं ३ गते उहाँको अस्पतालमै स्वर्गबास भयो । म संखुवासभाबाट काठमाडौं आएर पार्टी कार्यालय सानेपा नपुग्दासम्मै गोपाल दाइको शव चलाउन दिइएको रहेनछ । त्यसमा मलाई गौरव पनि लाग्यो । म पुगेको करिब १० मिनेटपछि शवयात्रा सुरु भयो । सानेपादेखि सातदोबाटो, कोटेश्वरहुँदै पशुपति पु¥याइयो । अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सभापति सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका शीर्ष नेताहरू पशुपतिमै आउनुभएको थियो । पार्टीमा र खासगरी संखुवासभाको नेपाली काँग्रेस र समग्र बहुदलीय राजनीतिमा उहाँको योगदानको जति नै चर्चा गरे पनि कम नै हुन्छ । यद्यपि यो छोटो लेखमार्फत उहाँलाई स्मरण गर्ने जमर्को गरेँ । अलबिदा गोपाल दाइ ।
(गोपालराज पहाडीको स्मृतिमा प्रकाशित पहाडभित्रका पहाडी स्मृति ग्रन्थबाट)




