काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डलले २०७६ सालको एसइइको नतिजा सार्वजनिक गरेको हो । सोमबार बोर्ड बैठक सकिए लगत्तै परिक्षाफल सार्वजनिक गरिएको हो ।शिक्षा मन्त्री गिरिराजमाणी पोखरेलको सहमतिमा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फाराम भरे पनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।
परीक्षाका लागि फाराम भरेकामध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उनले जानकारी दिए । नतिजा सार्वजनिक गरिएपनि बोर्डले कति विद्यार्थीले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । उक्त विवरण विद्यार्थीले विभिन्न वेबसाइट र एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।
यस वर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनःयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको सदस्य सचिव अर्यालले जानकारी दिए । परीक्षाफल प्रकाशन भए पनि यही भदौ १५ गतेसम्म विद्यार्थी भर्ना गर्न भने नपाइने भएको छ । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय एकाइले कारबाही गरिने बताएको छ । बोर्डका अनुसार नेपाल टेलिकम र एनसेलका नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने व्यवस्था गरेको छ ।
मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेसंगै लामो समयदेखि अलमलमा परेको एसइइ परिक्षाले निकास पाएको थियो । कोभिड १९ को महामारीका कारण निर्धारित समयमा परिक्षा लिन नसकेपछि बोर्डले ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको थियो । गत वर्षको एसइइ परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो ।
विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधि बनाइएको थियो । यसरी मूल्याङ्कन गर्दा २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गरिएको छ ।
गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए ।




