देश

पूर्वमन्त्री बस्नेतसँग पूर्वाग्रह राखिएको हो ?

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधन काठमाडौंको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भएकोमा अस्पतालले निजको सदगद्का लागि पार्थिव शरीर लिएर जान अनुमति दिई दाहसंस्कार गरिएको हो । उक्त कार्य सिन्धुपाल्चोकको सुनकोसी देभानमा सयौं व्यक्तिहरुको उपस्थिति थियो ।
दाहसंस्कार पश्चात निजको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कोरोना पोजेटिभ देखिएको भनियो । उपचारकै क्रममा कोरोनाको समेत परीक्षण गर्नुपर्नेमा सो नगरी मृत्यु भएपश्चात अन्तिम संस्कारका लागि पार्थिव शरीर हस्तान्तरण गर्नु अस्पताल प्रशासनको ठूलो कमजोरी थियो ।
सार्वजनिक जीवनका व्यक्ति पूर्वमन्त्री बस्नेतका पिताको अन्तिम संस्कारमा मानिसहरुको उल्लेखनीय उपस्थिति हुनसक्छ भन्ने अनुमान गरी आवश्यक सावधानी अपनाउन नसक्नुले स्वास्थ्य संस्थाहरु कति जिम्मेवार छन् भन्ने प्रश्न उब्जिएको छ ।
कोरोना तथा बाढीपीडितको उद्दार र राहतका लागि अहोरात्र खटिरहेका पूर्वमन्त्री बस्नेतले पिताजीको कामकाज सिन्धुपाल्चोकमा नै गर्ने र स्थानीय नदी किनारमा दाहसंस्कार गर्ने निर्णय गरी अझ भिडभाड कम गराउन मानिसहरुलाई उक्त संस्कारमा उपस्थित नहुन आग्रह गरेका थिए ।
साथसाथै आफूलाई समवेदना प्रकट गर्न समेत नआउन आग्रह गरेका छन् । विद्युतीय माध्यमबाट जे जस्तो माध्यम छ, सोही माध्यमको प्रयोग गर्न अनुरोध गरेका छन् । राज्य व्यवस्थाको कमजोरीका कारण परिवारका मानिसहरु मात्र होइन, दाहसंस्कारमा उपस्थित व्यक्तिहरुसमेत त्रासमा बस्नुपर्ने अवस्था सिर्जना गराइएको छ । सामान्य अनुमान गर्नुपर्ने विषयमा पनि गम्भीर हेलच्याक्राइ तथा लापरवाही गर्ने कार्यले जोखिम भयावह हुने देखिन्छ । राजधानीको सुविधा सम्पन्न भनिएको स्वास्थ्य संस्थामासमेत यस प्रकारको असावधानी हुन्छ भने अन्यत्रको अवस्था कस्तो होला ?
नेपाली राजनीतिमा स्थापित भएका कांग्रेस नेता मोहन बस्नेतको लोकप्रियता बढ्दै गएको देखेर उनलाई कमजोर र बद्नाम बनाउने उद्देश्यले राज्य सञ्चालकहरुको हो कि भन्ने आशंका समेत उब्जिएको छ । यस्तो संकीर्ण सोच राखी न्यूनतम मापदण्ड पूरा नगरी विरामीको उपचार, डिस्चार्ज तथा मृत्युको घोषणा गर्नु खेदजनक छ । महामारीले त्रसित र ग्रसित भएको यस्तो अवस्थामा देखिएको राजनीतिक आग्रह र पूर्वाग्रहले राजनीतिक संस्कार र संस्कृति क्षयिकरण उन्मुख भएको अनुमान लगाउन सकिन्छ ।
कुनै एउटा निकृष्ट कार्यले कसैको तेजोबोध गर्न त सकिएला तर यसले समग्र जनजीवनमा पार्ने प्रभाव, असर र परिणामबाट कोही पनि अछुतो रहन सक्दैन । कम्तीमा न्यूनतम सावधानी, मर्यादा, मापदण्डको पालना गर्दा त्यसलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिन्छ भने राज्य संयन्त्र, स्वास्थ्य संस्थालगायत कसैको पनि मर्यादा कायम रहन सक्दैन । मृत्युसँग पनि राजनीति, हेलचेक्राइ र मजाक गर्नु अरु निन्दनीय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *