नेपालगञ्ज । बाँकेमा कोरोना समुदायस्तरमै फैलिएको पुष्टि भएको छ । कोरानाले जनप्रतिनिधि र कर्मचारीसमेत संक्रमित भएका छन् । जिल्ला अदालत, नेपाली सेना र आन्तरिक राजश्व कार्यालयका अधिकृतमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका एक वडाध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृतलाई पनि कोरोना पुष्टि भएको हो । उनीहरुको साउन १६ गते नेपालगञ्ज उपमहानगरपालिकामा स्वाब लिइएको थियो ।
कोरोना देखिएका वडाध्यक्षलाई केही दिनदेखि ज्वरो आइरहेको थियो । अधिकृतलाई कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।
प्रहरी, जिल्ला कारागारका थुनुवा, प्रहरी कार्यालयका थुनुवा, आर्मी अस्पतालका नेपाली सेनालाई कोरोना देखिसकेको छ । योसँगै मिठाई पसलमा काम गर्ने, आन्तरिक राजश्व र अदालतका अरु कर्मचारी, कामको खोजी त्रिभुवनचोक आउने मजदुरलगायतलाई कोरोना देखिएपछि बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।




