ताजा समाचार

डनबाद, धनबादको फ्युजन बन्दैछ बहुदलीय जनबाद

बोलीमा मिठास, निर्णयमा स्पष्टता, चरित्रमा शुद्धता र कार्यमा निरन्तरता जस्ता कुराहरुलाई माक्सबादका आदर्श मानिन्छन । जनताको घरदैलो पुग्ने, उनीहरुका समस्याको बारेमा जानकारी राख्ने तिनै समस्यामा केन्द्रित रहेर छलफल गर्ने र जनताकै पक्षमा निर्णय गरेमात्र कम्युनिष्ट सिद्धान्त फष्टाउने र माक्सबादी सिद्धान्तलाई दीर्घजीवी राख्ने मान्यतालाई विश्वका कम्युनिष्टहरुले दर्शन मान्दै आएका छन् । राज्यको चंगुलबाट मुक्त रहनुपर्ने, सम्पत्तीमाथिको निजी स्वामित्वबाट मुक्त रहनुपर्ने,सामुहिकताको धारणाबाट दिक्षित हुने परिश्रमको माध्यमबाट उत्पादन माथिको स्वामित्व सृजना गर्नुपर्ने जस्ता कुराहरुमा सजग रहन सक्नेले मात्र माक्सबादको भरपुर उपयोग गर्न सक्दथे । कम्युनिष्टहरु अध्ययनशील हुनुपर्ने, समाजका हरेक विषयहरुलाई सर्वहारा वर्गको क्रान्तिकारी धारबाट विश्लेषण गरी समाज रुपान्तरणको प्रकृयालाई द्वन्द्वात्मक भौतिकबादी धारबाट बुझ्ने बुझाउन सक्नेलाई क्रान्तिको धुरन्धर विद्वान मानेर नेतृत्व प्रतिस्थापन गर्ने परिपाटी थियो । हत्या, हिंशा, बलत्कार भ्रष्टाचार, ब्यविचार गर्ने कुराहरुलाई अलग राख्नुपर्ने र जसले यस्ता गतिविधि गर्दछ उसलाई क्रुर दण्डको चौघेरामा हालेर कारवाही हुन्थ्यो । नेपालको सन्दर्भमा यि सबै विचार र सिद्धान्तहरु पुष्पलाल, तुलसीलाल, मदन भण्डारी र मनमोहन सँगै स्वर्गबासी भए । केवल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उनीहरुले छोडेर गए ।

मदन भण्डारीले अगाडि सारेको सुन्दर दृष्टिकोंण जनताको बहुदलीय जनबादलाई डनबाद र धनबादको फ्युजनको रुपमा गरीखाने र खुवाउने भाडो बनाएका छन् ।

त्यस भाडोलाई जसरी सहज हुन्छ त्यसरी उपयोग गर्नुपर्ने भन्दै लुट मच्चाउदै छन ।

बाद,प्रतिबाद र सम्बाद अर्थात थेशिस, एन्टीथेशिस र सेन्थेशिस माक्सबादी सिद्धान्तका आधार हुन । बाद,प्रतिबाद र सम्बाद कम्युनिष्टहरुका लागि नयाँ कुरा होइनन् । पुराना कम्युनिष्टले त बुझ्लान तर अहिलेका ठेकदार कम्युनिष्टहरुका लागि यी शब्दको अर्थ कानो गोरुलाई औशी न पुर्णिमा हुन सक्छ । ब्यक्ति ब्यक्तिबीच अलग अलग सोच र दृष्टिकोंण हुन्छ । विचार भनेको मानिसको मानसिकताबाट उद्भव हुने कुरा हो यस्तो विचार सापेक्ष हुन्छ । यस्ता विचारहरु उपर बहस, छलफल र अन्तरक्रिया हुन्छन त्यो बाद हो । त्यस्ता विचारहरु निरपेक्ष भए त्यहा निरंकुसताको जन्म हुन्छ त्यसर्थ त्यस्ता बाद उपर प्रतिकृया उत्पन्न हुनुपर्ने सापेक्षित मान्यता रहन्छ त्यस्ता प्रतिकृयालाई माक्सबादी दृष्टिकोंणले प्रतिबाद अर्थात एन्टीथेशिस मान्दछ । यस्ता विचारहरु उपर जति बढी प्रतिबाद हुन्छ त्यसले एउटा साश्वत मान्यता स्थापित गर्दछ र बादी, प्रतिबादी सबैलाई एक ठाउमा उभिने वातावरण स्थापित गर्दछ त्यसलाई सम्बाद अर्थात सिन्थेसिस भन्दछ । यो स्थायी प्रकृया नभएर दोहोरीरहने चक्रीय प्रकृया हो ।
यहा अहिले जोड्न खोजेको कुरा के हो भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड,माधव,झलनाथ, बामदेब नेकपाका अन्य मन्त्री भैसकेका, पार्टीका विभिन्न पद र ओहोदा सम्हालिसकेका नेतृत्व तहका ब्यक्तिहरुमा बाद,प्रतिबाद र सम्बादको बारेमा गहिरो ज्ञान हुनुपर्दछ । यदि उनीहरुले द्वन्द्वात्मक भौतिकबाद गहिरोसग अध्ययन गरका छन् भने बाद,प्रतिबाद र सम्बादको चिरफार गर्दछन तर अहिलेको नेकपा भित्रको खिचातानी र ठेलमठेलको अवस्था हेर्दा यिनीहरुले द्वन्द्वात्मक भौतिकबाद बुझेकै छैनन त्यसर्थ सही कार्यकर्ताहरुले बुझाउनु आवश्यक छ । प्रचण्डले बोलेको भाषा प्रधानमन्त्री ओलीले नबुझ्ने, ओलीले बोलेको भाषा प्रचण्ड,माधव,झलनाथ र बामदेबहरुले नदुझ्ने अनि सबै आ–आफ्ने डम्फु बादमा अल्झिरहने परिपाटीले नेकपा त धारासायी बन्ने नै भयो यसको प्रभाव जनता सडकमै मर्ने दिनको प्रादुर्भाव हुदै गएको छ । प्रचण्डको विचार ओलीलाई मन नपर्न सक्छ वा ओलीको विचार अरुलाई मन नपर्न पनि सक्छ त्यहा प्रतिबाद होस र हुनुपर्दछ तर सधै प्रतिबाद भैरहदा त्यसले उनीहरुवीचमा बैयक्तिक बैमनश्यता मात्र बढाइरहेको छैन दुईतीहाईको स्थायी सरकार नै निकम्मा र धारासाही बन्ने खतरा बढीरहेको छ ।

विगतका दिनमा प्रतिबादको नेतृत्व प्रतिपक्षी दलले लिन्थ्यो अहिले स्थायी सरकार हुदा सरकारको नेत्रित्व र प्रतिबादको नेत्रित्व पनि नेकपाले नै गर्दा देश र जनता निराशा छन् निराशा बढीरहेको छ ।

सबैले आ–आफ्नो विचार अघि सार्नु समयसापेक्ष कुरा हो तर त्यसलाई सम्वादमा लगिएन भने अहिले जसरी नै भैसेपाटी, बालुवाटार, कोटेश्वर,डल्लु र खुमलटार घुमिरहन्छ र वार कि पार को स्थितिको विजारोपण हुन्छ । अहिलेका लागि सम्वाद सहज छ । देशमा कोरोना भाइरसले भयावह स्थितिको निर्माण हुदैछ । देश पूर्ण लकडाउनबाट भर्खर खुलेको छ भने पुन लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थितिको सुरुवात हुदै गएको अवस्थालाई मध्यनजर गरी सम्बादको लागि सबै ढोका खुल्ला गर्नुपर्ने अवस्था छ । अहिले राजनीति भन्दा देश र सरकार भन्दा जनतालाई केन्द्रविन्दुमा राखेर निर्णय लिने बेला हो । यस्तो बेलामा सरकार प्रमुख वा पार्टी प्रमुखको विषय उठ्नु देश र जनताको दृष्टिकोंणले घातक छ । यो परिस्थितिमा माधव नेपालले दुई नम्बर प्रदेशको नेतिृत्व गरुन, प्रचण्डले तीन नम्बर प्रदेशको नेतिृत्व गरुन, बामदेबले पाँच नम्बर प्रदेशको नेतिृत्व गरुन, झलनाथ खनालले एक नम्बर प्रदेशको नेतिृत्व गरुन र कोरोनाको कहरलाई परास्त गरुन र सबैले ओलीलाई हरेक प्रदेशबाट दबाव दिउन् त यसको प्रभाव के हुदोरहेछ र भोलि जनताले कसरी मुल्यांकन गर्दारहेछन हेरुन । सम्बादको सुरुवात त्यहीबाट हुन्छ । कोरोनाबाट संक्रमितहरुको संख्या दिनानुदिन बढीरहेको छ । मृतकहरुको अनुपात समेत बढीरहेको यो अवस्थालाई नियन्त्रणमा लिन २४ घण्टा खटिनुपर्ने सरकार स्थायी समिति र सचिवालयको बैठकमा अल्झिरहनु परेको विषम परिस्थितिलाई पुनरावलोकन गरिएन भने त्यसले सरकारको दिन गन्तीको सुरुवात हुने अवस्थालाई कसैले टार्न सक्दैन । त्यसर्थ कोरोना एउटा मुद्धा बनेर आएको छ यसको प्रतिबाद गरौं सम्बाद त्यही निस्किन्छ ।

आज नेकपा पद, प्रतिष्ठा, पैसा,पारिवारिक मान्यताभित्र हराएको छ । जो सँग पैसा छ उसले सजिलै पद प्रतिष्ठा प्राप्त गर्ने अवस्था सृजना हुदै गएको छ ।

भ्रष्टाचार मौलाउदै गएको छ । विगतमा तिब्ररुपमा विरोध हुने चाकडी, चाप्लुसीलाइ अहिले आफ्नो दिनचर्या बनाइएको छ । जसले जसरी पैसा हात पारेतापनि त्यसको श्रोतको बारेमा नेतृत्व तह समेत अदृश्य रुपमा भागीदार हुने भएकोले खोजीगर्ने परिपाटी सकिदै गएको छ । जो सँग बढी धन छ उसको पासमा बढी डन जम्मा हुने र त्यसको बलमा संगठनमा समेत उसले कब्जा जमाउने परिपाटीको विकास हुदै जादा विगतमा संगठनमा योगदान दिएका, परिश्रम गरेका अध्ययनशील कार्यकर्ताहरु पाखा लाग्दै जाने र पार्टी ठेकेदार र डनहरुको कब्जामा पर्दै जान थालेपछि भोलिका दिनमा कतै नेकपाका कार्यकर्ताले कार्लमाक्स भनेर लेखनाथ पौडेलको तस्वीरमा माल्यार्पण गर्ने हुन कि भन्ने चिन्ता थपिन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *