ताजा समाचार

काेराेना जितेका शाही भन्छन आत्मबल बलियाे बनाए, रोग आफै चट भयो

कर्णाली। कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका छन । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उनी आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए  । नेता शाहीको आरटी पिसिआर परीक्षण गर्दा मङ्गलबार रिपोर्ट नेगेटिभ आएको हो । “उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,” निर्देशक डा खड्काले भने, “अब उहाँ सामान्य जीवनमा जान सक्नुहुन्छ ।”
नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा शुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफूले सामान्य बनाएको बताए । मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमजा लागेको अनुभूति प्रकट गरे । यस्ता विषयमा मिडिया संवेदनशील हुनुपर्ने उनको सुझाव थियो । “मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,” नेता शाहीले भने, “ मायाममताको बढी खाँचो पनि त्यत्तिकै हुँदो रहेछ ।” कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उनले भने, “आत्मबल कमजोर नै बनाइएन । घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो । रोग त आफै च्वाट भयो ।”

नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गरे । सो अवधिमा आफ्नो स्वास्थ्यका बारेमा चिन्ता गर्ने तथा विभिन्न माध्यमबाट शुभलाभ प्रकट गर्ने सबै शुभेच्छुकप्रति उनले कृतज्ञता व्यक्त गरे ।

रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *