काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चर्कदै जाँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग परामर्श थालेका छन् । आइतबार दिउसो माधव नेपाल लगायतका नेताहरुसँगको परामर्शपछि प्रचण्डले आफू निकटका नेताहरुसँग भेटघाट गरेका हुन् । छलफलमा सचिवालय र स्थायी कमिटीका धेरै सदस्य उपस्थित भएको स्रोतले जनाएको छ।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले आफू निकट नेताहरुसँग परामर्श थालेका स्रोतले जनाएको छ । प्रचण्डको परामर्शमा पूर्वमाओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा र स्थायी कमिटी सदस्य जनार्दन शर्मा भने अनुपस्थित रहेका छन् । आन्तरिक विवादमा नेकपा वरिष्ठ नेता नेपालको बलियो साथ पाएका दाहालले शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई साथ दिएपछि नेपाल समूह आशंकित बन्दै गएको छ ।
मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्ने थाहा हुँदा पनि दाहालले ओलीको प्रस्तावलाई साथ दिएपछि दाहालले आफूहरुलाई धोका दिएको महसुस नेपाल पक्षले गरेको थियो। तर आइतबारको छलफलमा भने दाहालले साथीहरुको सहमति विना ओलीसँग कुनैपनि सहमति नगर्ने बताएका थिए । दाहाल निवास खुमलटारमै भएको भेटघाटपछि आइतबार साँझ ओलीलाई भेट्न वालाुवाटार गएका थिए ।




