ताजा समाचार

प्रधानमन्त्री ओलीको अभिव्यक्ति निरन्तर विवादित, पार्टीभित्र र बाहिर तिब्र आलोचना

 काठमाडौं । प्रधानमन्त्री केपी ओली पटक पटक आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा उनले दिने अभिब्यक्तीले प्रधानमन्त्री ओली विवादमा तानिएका हुन् । पछिल्ला दिनमा एकपछि अर्काे गरी विवादमा तानिन थालेको छन् । पार्टी बैठक देखि सार्वजनिक कार्यक्रममा पनि बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री ओलीले केही रणनीतिक महत्वका कार्यक्रम बालुवाटारमै आयोजना गराउदै विवादास्पद अभिव्यक्ति दिन थालेका हुन । असार १४ गते मदन भण्डारीको जन्मदिनको दिन दिएको अभिव्यक्तिपछि पार्टीभित्र ठूलो विवाद आएका बेला उनले २९ असारमा पुःन अर्को विवादास्पद अभिव्यक्ति दिए । जसले गर्दा उनको भनाईलाई लिएर नेपाल र भारत दुवै स्थानमा आलोचना समालोचना हुन थालेको छ ।

सरकारमा निक्कै आलोचित भएका र पार्टीभित्रै पनि उनले सरकार र पार्टी दुवै सञ्चालन गर्न नसकेको आरोप लागिरहेका बेला आफु माथीको संकट टार्नका लागि ओलीले अहिले आफुलाई राष्ट्रवादीको पगरी आफैले लगाउन निक्कै प्रयास गरिररहेको उनका अभिब्यक्तिबाट चित्रित हुन्छ । उनले प्रधानमन्त्रीको पदमा आसिन भएर कुन खालका अभिब्यक्ति दिने नदिने सम्मको हेक्का पाउन छोडेको छ । गत असार १४ गते मदन जयन्तीका दिन भारतले आफुलाई नक्सा सार्वजनिक गरेपछि हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु पनि लागि परेको भन्दै अभिब्यक्ती दिएपछि पार्टीको स्थायी कमिटी बैठकमै हंगामा मच्चिएको थियो । उनको अभिव्यक्तिले बैठक भाडिएपछि १८ असारबाट अहिलेसम्म बैठक स्थगित भैरहेको छ । झण्डै दुई तिहाई जनमत सहित सरकारको नेतृत्वमा रहेका र सार्वभौम स्वतन्त्र देशका प्रधानमन्त्रीलाई भारतले त्यसरी हटाउनै खोजेको भएपनि सार्वजनिक कार्यक्रममा बोल्ने अभिब्यक्ती दिएन । सरकारको वागडोर हातमा रहेका ओलीले प्रशासनिक र कुटनीतिक एक्सन लिन सक्नु पर्दथ्यो । तर त्यसमा ओलीले केही गर्ने हिम्मत देखाएनन् । त्यही विवादास्पद अभिब्यक्तीका कारण ओलीको पार्टीभित्रै राजीनामा माग भयो । अहिलेसम्म उनको त्यही राजीनामाको विषय पार्टीको स्थायी समितिमा जहाँको त्यही छ । न विवाद साम्य भएको छ, न त चर्केकै छ । तर फेरि प्रधानमन्त्रीले हिजो बालुवाटारमै आयोजित कार्यक्रममा अर्काे विवादास्पद अभिब्यक्ती दिएका छन् । भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले त्रेतायुगका रामको जन्म नेपालमै भएको, उनी नेपाली भएको र अयोध्या विरगन्जको पश्चिमपट्टी ठोरीमा रहेको र भारतले नक्कली अयोध्या जन्माएको भनी अभिब्यक्ती दिए । उनको यो अभिब्यक्तीले पनि उनलाई आलोचित बनाएको छैन भारतीय सञ्चार माध्यमले पूरै आलोचना गर्यो भने परराष्ट्र मन्त्रालयले भारतको मन दुखाउने प्रधानमन्त्रीको आशय नभएको भन्दै विज्ञप्ति नै जारी गर्नुपर्यो ।

कलियुगमा नेपालको भूमि भारतले मिच्दा वास्तविक अर्थमा भूमि फिर्ताको कुनै कुटनीतिक पहल गर्न नसक्ने तर त्रेतायुगका राम नेपाली भएको र अयोध्या समेत नेपालमै रहेको जस्ता अभिब्यक्ती दिएर प्रधानमन्त्री आफुलाई अब्बल राष्ट्रवादी देखाउने कसरतमा लागेको भन्दै आलोचना शुरु भएको छ । झण्डै ५० मिनेट लामो भाषण गरेका ओलीले जम्माजम्मी ४ मिनेटमा बोलेका भनाई विवादमा आएका हुन् । ओलीले सहभागीका बीचमा हाँसोको फोहोरा नै छुटाउने गरी दोहो¥याई तेस्याई अयोध्या नेपालको विरगन्ज पश्चिमको ठोरीमा रहेको बताएका थिए । यसैले ओलीलाई फेरि विवादमा ल्याएको हो । ‘हामी अलिकति सांस्कृतिक हिसाबमा मिचिएका छौं, थिचिएका छौं । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौं, हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं । भारतका हैन, अयोध्याकालाई दिएका हौं । अयोध्या भनेको वीरगन्ज भन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । हाम्रोमा विवाद नै गर्न पर्दैन । जनकपुर त्यहाँ, अयोध्या विरगञ्जको पश्चिमपटटी ठोरीमा, बाल्मिकी आश्रम त्यहा (नेपाल) र दशरथबाट सन्तान नभएपछि पुत्रष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण दशरथका सन्तान पनि भारतीयका हुँदै होइनन्, ठाउँ पनि भारतीयको होइन । नेपालकै हो । समय समयमा आएर शिक्षादिक्षा दिने वाल्मिकी आश्रम पनि त्यही छ । जनकपुर त्यही छ । यहाँको जनकपुर उहाँको अयोध्या (भारत) हुन्थ्यो भने कँहाको छोरीको बिहे गर्न खोजेको छ, कहिले के गरेको छ, त्यसबेलाको जमानामा न टेलिफोन न मोबाइल । कताबाट थाहा होस् । थाहा हुन पनि सम्भव थिएन । नकिजकै अयोध्या (नेपालको) थियो र सजिलैसँग कुरा भयो । र सम्भव भयो । तर त्यो इतिहास बहस गरी साध्य छैन । यति भनिसकेपछि फेरी के खतराको घण्टी विद्धानहरुले बजाउने हुन् ? रामले सीतालाई अयोध्या (भारतको) बाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन् । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पु¥याइदिए, फर्किए । दुई दिन चार दिन हुन सक्ला तर महिनौ लाग्छ, महिनौं हराएका होइनन ,’ प्रधानमन्त्री ओलीले भनेका थिए । सो विषयमा पार्टीभित्रबाटै आलोचना शुरु भयो ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले त प्रधानमन्त्रीको भनाई फिर्ता लिनुपर्नेसम्म बताएका छन् । ‘नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क. केपी शर्मा ओलीले असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईंले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण बिना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नुपर्दथ्यो’, गौतमले भनेका छन् । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ भन्दै समाजिक सन्जालमै प्रधानमन्त्री ओलीलाई ब्यङग्य गरेका छन् । ‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फकाइ फकाइ पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ’, उनले भनेका छन् । भारतीय सत्तारूढ पार्टी भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले प्रधानमन्त्री ओलीको भनाईप्रति निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई पनि छुट दिएको छैन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भन्दै अभिब्यक्ती दिएका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त नभएको भन्दै भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लागेको बताएका छन् । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन भन्दै थापाले ओलीको अभिब्यक्ती दुई देशको सम्बन्ध बिगार्ने खालको भएको बताएका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीको नयाँ रामायण श्रवण गरौं भनेर सामाजिक सन्जालमा ब्यङग्य गरेका छन् । पूर्व परराष्टमन्त्री तथा कुटनीतिज्ञ रमेशनाथ पाण्डेले अंग्रेजीमा ट्विट गर्दै भने, धर्म राजनीति र कूटनीतिभन्दा माथि छ । यो निकै भावनात्मक विषय हो । बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ । अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ? यति सम्मकी ओलीकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले समेत ओलीलाई के बोलेको भन्दै के यो भारतीय टेलिभिजन सँग प्रतिस्पर्धा गरेको ? भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीको यस्तो विवादास्पद अभिब्यक्ती उनले आफनो सत्ता माथी पार्टीभित्रैबाट परेको दबाब हटाउन र आफुलाई राष्ट्रवादी देखाएर सत्ता संकट टार्न खेलेको खेलमात्र भएको भन्दै सबैतिरबाट आलोचना हुन थालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *