म्याग्दी । लगातार झरी परेपछि आएको बाढी र पहिरोबाट म्याग्दीमा तीन जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ७ ताकममा दुई तथा रघुगंगा गाउँपालिकामा एक जनाको ज्यान गएको छ । प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरका अनुसार रघुगंगामा ३४ वर्षीय ललितमान छन्त्यालको मृत्यु भएको छ । उनी लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए ।
छन्त्यालको केहीबेर अघि शव भेटिएको छ । पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । ‘रघुगंगामा पुल बगाएको छ । जताततै पहिरो गएको छ । उद्धार टोली पुर्याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको छ ।
बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा समस्या भएकोे छ । रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाको यातायात अवरुद्ध भएको छ ।




