काठमाडौं । मंगलबार सरकारले शैलेश थापा क्षेत्रीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गरेपछि विहिबारबाट कार्यभार सम्हालेका छन् । गृहमन्त्रालयमा विहिबार विहान दर्ज्यानी चिन्ह लगाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । उनले कार्यभार सम्हालेसँगै २१ महिनाको कार्यकालबारे चुनौति समस्या र संभावनाबारे चर्चा हुन थालेको छ । लामो समय प्रहरी प्रधानकार्यालयको आइजपी सचिवालयमा बसेर काम गरेका उनले अघिल्ला आइजीपीहरुले भोगेका समस्या र चुनौतिबारे जानकार रहेका छन् ।
अघिल्ला दुई आइजीपीले पत्ता लगाउन नसकेका फरार अपराधी र कानुनी दायरामा नआएका अपराधिक व्यक्तिहरुको नियन्त्रण नै उनका लागि पहिलो चुनौति रहेको छ । जसमध्ये उनको पहिलो चुनौतिका रुपमा रुपमा निर्मला पन्तको हत्या प्रकरण सुल्झाउनु नै । निर्वतमान आईजीपी ठाकुर ज्ञवालीले आईजीपी हुँदा निर्मला हत्या प्रकरणको टुङ्गो लगाउने वाचा गरेपनि उनले फाइलसम्म हेर्न भ्याएनन । कञ्चनपुरमा गएर अनुसन्धान गरेका ज्ञवालीले हत्या प्रकरण सुल्झाउने अपेक्षा थियो तर उनले सुल्झाउने त परै जाओस् फाइलसम्म नहेरेपछि उनको पाँच महिनाको कार्यकाल त्यतिकै सकिएको थियो । २०७५ साल असार ११ गते १३ वर्षीय निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि हत्या भएको थियो । त्यसबेला उनी प्रहरी प्रधानकार्यालयको प्रवक्ताको रुपमा कार्यरत थिए । निर्मला हत्या प्रकरणमा प्रहरी कसरी रुमलियो भन्ने बारेमा वर्तमान आइजीपी थापा जानकार रहेका छन् ।
पूर्वआईजीपी सर्वेन्द्र खनाललेसमेत निर्मला हत्याका हत्यारा पत्ता लगाउने वचन दिएका थिए तर उनी पनि यस प्रकरणमा असफल भए । अर्को कुमार पौडेललेको इन्काउन्टर प्रकरण पनि चुनौतीका रूपमा देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालिन नेतृत्व र इन्काउण्टरमा संलग्न भनिएका प्रहरीलाई कारवाही गर्न निर्दैशन दिएको भएपनि अहिलेसम्म कारवाहीको प्रकृया अघि बढेको छैन । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर फेक भएको भन्दै प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ । मानव अधिकार आयोगले पौडेललाई नियन्त्रणमा लिएर हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । पौडेल २०७६ असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।
यस्तै प्रहरीमा राजनीतिक शक्तिको आँडमा सरुवा बढुवा हुने गरेको छ। विषेश गरेर राजनीतिक पहुँच भएका प्रहरीहरु अगाडि जाने र राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति बढेको प्रहरी वृत्तबाटै आवाज उठ्ने गरेको भएपनि यो समस्या निरुपण हुन सकेको छैन । उनका लागि रिक्त रहेको दुई एआइजी पदको बढुवा नै परीक्षणकाल हुनेछ । उनकै व्याची प्रधुम्न कार्की र निरजकुमार शाहीलाई एआइजीमा बढुवा गर्न चुनौति रहेको छ । एआइजी बढुवाका लागि अर्का डिआइजी विश्वराज पोखरेलले उनलाई चुनौति दिइरहेका छन् । साथै प्रतिस्पर्धी एआइजीपीलाई उनले कस्तो जिम्मेवारी र भूमिका दिएर साथ लिन्छन वा प्रतिशोध साँध्छन भन्ने पनि उनका लागि एउटा चूनौतिको विषय बनेको छ । विगतमा आइजीपी हुनेहरुले प्रतिस्पर्धीहरुलाई साथा लिन नसक्दा निकै विवादित भएका थिए ।
शक्तिको आडमा हुने बढुवा र सरुवालाई रोकेर संगठन प्रमुखको हैसियतले नियमसम्मत बढुवा र सरुवा गर्ने परिपाटी बसाल्ने जिम्मा पनि अबका थापाको काँधमा आएको छ । संगठनमा काम गर्ने प्रहरी अधिकृतहरुलाई व्यक्तिगत रीस र कुण्ठाको आधारमा कारवाही गर्ने परिपाटीको अत्य गर्न संगठन प्रमुखले भूमिका खेल्नुपर्ने देखिन्छ । नयाँ आईजीपीको काँधमा प्रहरी संगठनमा हुने गरेका भ्रष्टाचारलाई शून्यमा झार्ने जिम्मेवारी पनि छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका प्रहरीलाई जोखिमबाट मुक्त गर्नुपर्ने काम पनि चुनौतिपूर्ण छ । त्यसैगरी खरिद प्रकृयामा देखिएको अनियमितताको जालोलाई तोड्ने अर्को प्रमुख चुनौति रहेको छ ।




