काठमाडौं । पहिरोमा परी पोखरा र लम्जुङमा गरी सात जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर म्याग्दीमा सात जना बेपत्ता छन् । अविरल वर्षाका कारण गएको पहिरोमा परी बिहीबार पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति करिब पौने तीन बजे पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति भएको छैन । घरमा बाख्रा पुरिएका छन् ।
पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको छ ।
यस्तै लम्जुङको बेँसिशहर नगरपालिका ७ सात मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । बिहीबार राति ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् । लम्जुङको क्व्होलासोथार गाउँपालिका ३ का तुलबहादुर गुरुङको घर पहिरोले पुरिँदा तुलबहादुरकी बुहारी र एक बच्चा घाइते भएका छन् ।
म्याग्दीमा पहिरोले घर बगाउँदा सात जना बेपत्ता
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । घण्टीवाङ मुनीको रिखामा छ घरमा बसोबास थियो । चार परिवार विस्थापित भएका छन् । बाटो पहिरोले बगाएको छ । पहिरो खसिरहेकाले स्थानीयवासीको भागाभाग छ ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको हो । रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङको यातायात अवरुद्ध छ । प्रहरी टोली घटनास्थलमा गएको छ ।




