ताजा समाचार

पचास प्रतिशत बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौं । सरकारले तोकिएको भाडा दरको पचास प्रतिशत बढी लिन पाउने गरी शुक्रबारदेखि सम्बन्धित जिल्लाभित्र चलाउन पाउने गरी छोटो दूरीका सार्वजनिक यातायात सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले मापदण्ड पूरा गरेर मात्र जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको जानकारी दिए ।

एउटा जिल्लाबाट अर्को जिल्लामा भने सार्वजनिक सवारीसाधन चलाउन पाइने छैन। काठमाडौं उपत्यकाको हकमा तीनवटै जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइनेछ । निजी सवारीसाधन भने जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ । काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालनमा आउने भएको छ ।

सार्वजनिक यातायातका साधन प्रयोग गर्ने यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने तथा चालकले पञ्जासहित मास्क लगाउनुपर्नेछ। यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइनेछ। सिटको एउटा लहरमा एक जना मात्रै यात्रु राख्न पाइनेछ । यातायातका साधनभित्र स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमणसमेत गर्नुपर्नेछ । लामो दुरीका सार्वजनिक यातायातका साधन भने सञ्चालन गर्न पाइनेछैन ।

यस्तै सरकारले ट्याक्सी पनि चलाउन दिने निर्णय गरेको छ । चालकबाहेक दुई जनासम्म मात्र यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिएको छ । ट्याक्सी चालकले भने बढी भाडा लिन पाउने छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *